सृष्टिको अन्तर्दृष्टि
१२ वर्षमा धेरै कुरा फेरिए। यसैगरी फेरियो सृष्टि हिँडेको बाटो पनि। उनीभित्रको आत्मविश्वास, साहस, सकारात्मक विचार र आशावादी चरित्रले जोकोहीलाई प्रभावित गर्छ।
‘ह्वाटइभर साइट लस्ट इज लस्ट फरइभर नट क्युरेवल’ जब सृष्टि केसीलाई चेन्नाइका एक चर्चित आँखा डाक्टरले आँखाको दृष्टि गुमिसकेको यथार्थ बताए, उनी अवाक् बनिन्। बोल्नै सकिनन्। अन्य डाक्टरले बेलाबेला बोलीदिने ‘तिमी देख्न सक्छ्यौ’ भन्ने झुटले उनमा एक किसिमको आशा जगाँउथ्यो। तर अब त त्यो आशा पनि सकियो। दृष्टि गुमिसकेको आँखाबाटै बगाइन यो पीडालाई। चुपचाप अस्पतालबाट बाहिरिइन्। दृष्टिबिनाको जिन्दगीलाई स्विर्कानुको विकल्प पनि त थिएन उनीसँग।
हाल उनी ब्लाइन्ड रक्स नामक संस्थाकी अध्यक्षको भूमिकामा रहेर सामाजिक काममा सक्रिय छिन्। पाँच वर्षअघि स्थापना भएको यो संस्थाले दृष्टिविहीन अपांगता भएकाहरूका लागि विभिन्न काम गर्दै आएको छ। संस्थाको नारा छ, यू एन्ड मी : अ वन्डरफुल वी अर्थात् तिमी र म : सुन्दर हामी।
ब्लाइन्ड रक्सले पर्फमिङ आर्ट, डान्स, एडभेन्चर टुर, मोटिभेसनल स्पिच, हाउभाउ, हेयर स्टा«इल, फेसन सोलगायत काम गर्दै आएको छ। यस संस्थाले भर्खरै मात्रै दृष्टिविहीन साथीहरूको फेसन सो सम्पन्न गर्यो। जसमा १२ जना ब्लाइन्ड मोडेलहरूले ह्वाइट केन लिएरै र्याम्पमा उत्रिएका थिए। यस्तो प्रकारको फेसन सो नेपालमै पहिलो पटक सम्पन्न भएको सृष्टिले जानकारी दिइन्। उनी भन्छिन्, ‘हामीले काम गर्न नसक्ने होइन कि यसै जिम्मेवारी दिन डराउने हो। अवसर पाएकाहरू आँखा देख्नेले भन्दा राम्रो नतिजा ल्याएका छन्। जे काम गर्न सक्दैनन् भनेर पछि पारिन्छ, ब्लाइन्ड रक्सले त्यही कामको तालिम दिने गर्छ।’ विभिन्न कार्यक्रम, च्यारिटी सो, दाताको सहयोग, संस्थाका सदस्यहरूले महिनावारी केही रकम जम्मा गर्ने जस्ता कार्यक्रमबाट ब्लाइन्ड रक्स चलिरहेको छ।
यही संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र यही क्षेत्रमा अनगिन्ती काम गर्ने उनको सपना छ। जिन्दगीमा गुमेका रङहरूलाई फिर्ता ल्याउन उनले ब्लाइन्ड रक्स संस्थालाई जन्माएकी हुन्। ‘दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई हाम्रो समाजले कि त बढी दया देखाउँछ, कि हेलाँ गर्छ। हरेक मानिससँग गर्ने सामान्य व्यवहार कसैले गर्दैन। हामीलाई यो समाजका सामान्य नागरिकसरह व्यवहार गरियोस् भन्ने उनको चाहना हो।’ उनी समाजको असमान व्यवहारप्रति चित्त दुखाउँछिन्।
विगत १२ वर्षमा धेरै कुरा फेरिए। यसैगरी फेरियो सृष्टि हिँडेको बाटो पनि। उनीभित्रको आत्मविश्वास, साहस, सकारात्मक विचार र आशावादी चरित्रले जोकोहीलाई नतमस्तक बनाउँछ। उनी पावरफुल मोटिभेसनल स्पिच दिने गर्छिन्। अनुभव, आशा, साहस र सकारात्मक सोचले भरिएको उनका स्पिच कुनै विज्ञ व्यक्तिको भन्दा कम छैनन्। जीवनलाई नौलो आयाम र उत्साहले हेर्ने सृष्टि, चाहनुपर्छ हरेक कुरा सम्भव हुन्छ भन्नेमा ढुक्क छिन्। उनी सम्भावनाको सपनाभित्र जीवन खोजिरहेकी छन्। जसका लागि उनीसँग प्रशस्त आत्मविश्वास पनि छ।
भर्खरै मात्रै जर्मनी पुगेर आइन्। त्यहाँका दृष्टिविहीन साथीहरूका लागि केही तालिम र वर्कसप सञ्चालन गरिन्। टे«नर भएर उनी २०÷२२ देशहरू घुमिसकेकी छन्। १६ वर्षको उमेरमा दृष्टि गुमाएकी यी साहसिक युवती ह्वाइट केनको सहारामा आफूलाई उत्कृष्ट बनाउने लडाइँमा छन्। नेपालमै पहिलो दृष्टिविहीन राजदूत बन्ने सपना सजाएकी सृष्टि आजको हरेक पलपलको सदुपयोग गरिरहेकी छन्।
०००
झिमझिम पानीले निथु्रक्क रुझेको काठमाडौं। बागबजारमा रहेको पीके कलेजको अपोजिटमा छु। सृष्टिले आफू यतै रहेको जानकारी गराएकी थिइन्। उनले दिएको निर्देशनअनुसार यती प्लाजाको बाटो पछ्याउँदै साँघुरो गल्ली छिरेँ म। दुईचार वटा साँघुरा र होचा गल्लीहरूमा टाउको निहुर्याउँदै उज्ज्वल नक्षत्र समाज नामक अफिसमा पुगेँ म। त्यहाँ केही कामको योजना बनाइरहेकी थिइन् सृष्टि। उनीसँगै केही अन्य साथीहरू पनि छलफलमा थिए। कुनै स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने योजना बनाइरहेका थिए उनीहरूले।
सृष्टिसँगै होटेल हार्दिकमा पुग्यौं हामी। उनी मुस्कुराउँदै कुरा गरिरहेकी थिइन्। आत्मविश्वासका साथ आफ्ना अनुभव बाँडिरहेकी थिइन्। पानीको थोपासँगै सिरसिर चलेको बतासले रमाइलो वातावरण बनाएको थियो। कालो पेन्ट, हल्का सेतो कलरको आउटर र वनपिस, कालो चस्मामा उनी निकै खुलेकी थिइन्। उनको त्यो स्वभाव हेर्दा यस्तो लाग्थ्यो, म कुनै चर्चित सफल अभिनेत्रीसँग अन्तर्वार्ताका लागि आएकी छु। हुन त उनमा भएको क्षमता, आत्मविश्वास र योजना कुनै सफल व्यवसायीको भन्दा कम थिएन। उनी घरि बतासले उडाएको कपाल मिलाउन खोज्थिन् त घरि गम्भीर मुद्रामा सोचिरहन्थिन्।
बानेश्वरको बुद्धनगरकी स्थायी बासिन्दा हुन्, सृष्टि केसी। दुई दाजुकी एक्ली बहिनी। परिवारमा सबैको माया पाएर हुर्किइन्। सानोबेला आँखामा त्यस्तो विशेष समस्या थिएन। कहिलेकाहीँ चिलाउने र रातो हुने गथ्र्यो। औषधिले सञ्चो भइहाल्थ्यो। जिन्दगी ठीकठाक चलिरहेकै थियो। स्कुलमा हुने अतिरिक्त कार्यक्रममा सधैं प्रथम हुन्थिन्। वादविवाद, वक्तृत्वकला, क्विज कम्पिटिसन, डान्सजस्ता प्रतियोगितामा विजेता हुन्थिन्। भन्छिन्, ‘पुरस्कार त कति हो कति।’ अत्यन्तै चकचके स्वभावकी थिइन उनी। केही न केही गरिरहनुपर्ने। ‘पढाइमा भने त्यति साह्रो रुचि थिएन’, उनले भनिन्, ‘दृष्टि गुमाएपछि मसँग पढ्नुको विकल्प थिएन। अहिले जति पनि सफलता पाएकी छु त्यसको श्रेय नै पढाइ हो।’
अहिले उनी परिवारसहित भक्तपुरमा बस्छिन्। आँखा रातो हुने समस्या सानैदेखि नै थियो उनको। कक्षा आठमा पढ्ने बेलाको कुरा हो। आँखामा एलर्जी भयो। उपचारका लागि आमासँग अस्पताल गइन्। डाक्टरले गलत औषधि सिफारिस गरिदिएछन्। आखाको एलर्जी औषधि राखुन्जेल ठीक हुन्थ्यो। केही समयपछि बल्झिन्थ्यो।
लामो समयसम्म जुन औषधि आँखामा प्रयोग गर्न नहुने थियो, डाक्टरले त्यसैलाई सिफारिस गरिदिए। र उनले आँखा गुमाउनुपर्यो। उनको आँखाको एलर्जी निको पार्न प्रयोग गरिएको औषधिले नै सदाका लागि दृष्टि गुमायो।
देखिरहेका साथी नचिनिने भए। हिजो हिँडिरहेकै बाटो हिँड्न सहारा आवश्यक पर्न थाल्यो। छरछिमेक, साथीहरूले बिरानो बनाउन थाले। आफ्नै साथीहरूको सधैंको व्यवहार पनि परिवर्तन हुँदै गयो। जिन्दगीले उल्टो दिशा तय गर्यो। १६ वर्षको उमेरमा उनलाई पनि मायाका कुरा गर्न मन लाग्थ्यो, साथीहरू मिलेर घुम्न जान मन लाग्थ्यो, जिस्किन, रमाउन मन लाग्थ्यो। तर सबैले जिन्दगीका कुरा गर्थे। आँखा नदेख्ने बन्नु भनेको जिन्दगी नै सकिनु हो भन्ने जसरी ट्रिट गर्थे। यसले उनलाई निरुत्साहित बनाएन, झन् केही विशेष गर्नुपर्छ भन्ने लाग्थ्यो।
आँखाको दृष्टि गुमेपछि सृष्टिले भोग्नुपरेका चुनौती र अप्ठ्यारा सँगालेको भए एउटा पहाड नै बन्थ्यो होला। आफन्त, छिमेकी र साथीहरूले देखाएको सहानुभूतिले उनलाई कोठाबाट निस्कनै मन लाग्दैनथ्यो। तर उनलाई जसरी पनि बाहिरी संसारमा उड्न मन थियो। संसारलाई खुला आकाशबाटै चियाउन थियो। ‘देख्न मात्रै त नसकेकी हुँ मेरो आशा त मरेको थिएन’, उनले भनिन्। अन्य सब कुराको लागी म सक्षम छु भन्ने आत्मविश्वासले उनलाई प्रेरणा दिन्थ्यो। एसएलसीमा ७० प्रतिशत ल्याएर पास गरकी थिइन्। कुनै कलेजले भर्ना लिन मानेको थिएन। जहाँ गयो कुनैले भौतिक संरचनाको कुरा सुनाएर सरी भन्थे त कुनै कलेजले पढाउने टेक्नोलोजी नभएको भन्दै भर्ना लिन नसक्ने बताउँथे।
यस्ता कुराले उनलाई अत्यन्तै दुखी बनाउँथे। यसै क्रममा डिल्लीबजारस्थित कन्या कलेजमा भर्ना भइन् उनी। उनलाई गरेर देखाउनु थियो। त्यसैले पढ्ने तरिका परिवर्तन गरिन्। कलेजमा पढाएको रेकर्ड गरेर सुन्थिन्। परि श्रम गरी पढेकैले प्लस टू तहमा आट्र्समा छात्रातर्फ नेपाल टप गरिन्। राष्ट्रपतिबाट नेपाल छात्रा विद्या पदक प्राप्त गरिन्। ब्याचलर्समा पनि सोही विषयमा नेपाल टप गरिन्। त्यसपछि उनले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन। सफलता र अवसरले उनलाई पछ्याइरहेका छन्।
अघिल्लो साल मात्र उनले डान्स एन्थ्रोपोलोजीमा उनले मास्टर्स सकाइन्। यो पढ्न उनी युरोपका चार देश पुगेकी थिइन्। नर्वे, फ्रान्स, हंगेरी र यूके गरी दुई वर्षको कोर्स ६÷६ महिना फरकफरक देशमा पढाइ हुन्थ्यो। यसका लागि नेपालबाट पहिलो पटक युरोपियन गभर्मेन्ट स्कलरसिपमा नाम निकाल्न सफल भइन्। उनका लागि डान्स भिजुअल सब्जेट सिक्नु आफैंमा चुनौतीपूर्ण थियो। तर कलेजले उनका लागि अवसर सिर्जना गरिदियो। पढ्ने बेला फोटो खिचेर ल्याएर व्याख्या गर्नुपथ्र्यो। उनले फोटो खिच्न सक्दिनथिन्। टकिङ पिक्चर बनाएर साउन्डसँग जोड्थिन्। अरूले मुभमेन्ट खिचेर ल्याउँथे, उनले मोमेन्टलाई चित्रमा उतार्थिन्। आफ्ना लागि सिक्ने सिद्धान्त आफैं बनाएर उनले युरोपमा मास्टर्स अध्ययन पूरा गरिन्। र नेपाल फर्केर विभिन्न सामाजिक काममा सक्रिय छन्।