केन्द्राध्यक्ष परिवर्तन गर्न पत्राचार
बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका–६ स्थित लक्ष्मी माविमा जारी कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष परिवर्तन गर्न नगरपालिकाले शिक्षा विकास तथा समन्वय एकाई झापालाई पत्राचार गरेको छ। केन्द्राध्यक्ष वीरेन्द्रप्रसाद गुप्तालाई हटाउन पत्राचार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए। गुप्ता सोही विद्यालयका प्रधानाध्यापक हुन्।
आफ्नै सहायक प्रधानाध्यापक घनश्याम डाँगीलाई त्यही विद्यालयको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाउनुको साथै यस अघिका परीक्षामा समेत लापरवाही गरेकाले केन्द्राध्यक्ष परिवर्तन गर्न पत्राचार गरिएको र वोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति झापामा दिएको अधिकृत भुर्तेलले बताए। सहायक प्रधानाध्यापक डाँगीले यस वर्षको कक्षा १२ को परीक्षा आफूले अध्यापन गर्दै आएको लक्ष्मी मावि परीक्षा केन्द्रबाट दिने गरी अर्जुनधारास्थित शनिश्चरे माविमा परीक्षा फारम भरेका थिए। सो जानकारी परीक्षाको पहिलो दिन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले थाहा पाएपछि केन्द्राध्यक्ष गुप्ताले डाँगीको परीक्षामा अनुपस्थित देखाएको भेटिएको थियो।
अघिल्लो वषको कक्षा ११ को परीक्षामा डाँगी लक्ष्मी माविको परीक्षा केन्द्रमा सहायक केन्द्रध्यक्ष थिए तर परीक्षामा सामेल नभई उत्तीर्ण भएको तथ्य खुलेपछि यसमा केन्द्राध्यक्षको भूमिका हुने भएकाले यो पटक समयमै केन्द्राध्यक्ष परिवर्तन गर्न पत्रचार गरिएको नगरपालिकाले जनाएको छ। कक्षा ११ को परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएको परीक्षाफल आएपछि विद्याथी चकित भएका थिए। उनले परीक्षा हलमा परीक्षा दिएको तत्कालिन निरीक्षक र परीक्षार्थीलाई समेत थाहा छैन। गत वर्षको परीक्षामा सामेल नै नभई उत्तीर्ण भएपछि कक्षा १२ को परीक्षामा प्रशासनले निगरानी गरेको थियो।
बुधबार अन्नपूर्ण पोस्ट्मा सहायक प्रधानाध्यापकको बारेमा समाचार प्रकाशित भएपछि नगरपालिका, वडा, र अभिभावकले चासो दिएकाले केन्द्राध्यक्ष परिवर्तन गर्ने निर्णयमा नगरपालिका पुगेको हो।
प्रतिक्रिया दिनुहोस !