बर्बरिक बनेर आए मदन

बर्बरिक बनेर आए मदन

बिर्तामोड :

एउटा योद्धा मर्दा

राष्ट्र विधवा हुन्छ

र इतिहासले बरखी बार्छ...

बर्बरिक नाटकलाई बिट मार्दै नाटकका सूत्रधारले यो पंक्ति वाचन गरिरहँदा झापाको बिर्तामोडस्थित अतिथि सदनको हलमा सन्नाटा छायो। ऐतिहासिक राजनीतिक घटनाक्रमतिर नाटकले सबैलाई तानिरहँदा बिट मारिएको आवाज एकनासले हराइरहेको थियो भने दर्शकका मनमा कैयौं प्रश्न जन्मिए।

राजनीतिक घटनाक्रममा प्रमुखताका साथ जोडिने नाम हो, मदन भण्डारी। नाटकले उही नाम एकपटक झापावासीलाई सम्झन बाध्य गरायो। नाटकमा मदन भण्डारीले आफ्नो नाम बर्बरिक राखेका छन्। नाटक मदनकै सेरोफेरोमा घुमेको छ। नाटक हेरिसकेपछि महाभारतका पात्र ‘बर्बरिक’ चिन्ने भन्छन्, ‘मदन पनि साँच्चै विचारका बर्बरिक थिए।’

बर्बरिक महाभारतमा वर्णित पात्र हुन्। बर्बरिकको शिर काटियो। टाउको रूखमा झुन्ड्याइयो। त्यही रूखमा झुन्डिएर उनले महाभारतको युद्ध हेरेका थिए। बर्बरिक भीमका नाति हुन्। कृष्णको कुटिल चालका कारण उनले महाभारतको युद्ध लड्न पाएनन्। जो कमजोर छ, त्यतैतिरबाट युद्ध लड्ने उनको प्रतिज्ञा थियो। तर, कृष्णले उनलाई युद्ध लड्नबाट रोके। कृष्णले नै उनको शिर छेदन गर्ने अवस्था सिर्जना गरे।

बर्बरिकले युद्ध लड्न पाएको भए सबैलाई सखाप पारिदिन्थे भन्ने विश्वास छ। यता नाटकमा स्व. मदन भण्डारीले बर्बरिक नामको पात्र बन्ने अवसर पाए। पञ्चायतकालमा मदनले आफ्नो नाम बर्बरिक राखेका थिए भनिन्छ। पार्टीलाई सत्तामा नपुर्‍याई अस्ताएका मदन कालान्तरमा महाभारतका बर्बरिकजस्तै भए। आफ्नो सपना पूरा गर्न पनि पाएनन् उनले। त्यसैले नाटकको नाम पनि बर्बरिक नै बन्यो।

२०४६ सालदेखि २०५० सम्मको राजनीतिक घटनाक्रमलाई नाटकमा गज्जबले उतारिएको छ। नाटकको केन्द्रबिन्दुमा उनै मदन भण्डारी छन्। तत्कालीन नेकपा मालेका अधिकांश नेता भूमिगत हुँदा चौथो महाधिवेशनमा ‘बर्बरिक’ भनेर चिनिने नेता महासचिवमा चयन हुन्छन्। उनलाई आ श्रय दिनेहरूको घरको दृश्य पनि नाटकमा समेटिएको छ।

२०४६ सालमा वाममोर्चा र नेपाली कांग्रेस मिलेर आन्दोलन गरे। नाटक हेर्न पुगेका विद्यार्थीलाई यो विषय नयाँ लाग्न सक्छ। जनआन्दोलनका बेला कांग्रेस नेता गणेशमान सिंह वीर अस्पतालको शय्यामा हुन्छन्। बर्बरिक उनलाई भेट्न अस्पताल पुग्छन्। अहिलेको राजनीतिमा यस्तो कमै हुन्छ भन्ने कुरा पनि नाटकले देखाएको छ।

आन्दोलन समाप्त भइसकेपछि सक्रिय राजतन्त्र संवैधानिक हैसियतमा झर्छ। त्यति बेला राजा वीरेन्द्रले बर्बरिक अर्थात् मदन भण्डारीलाई भेट्न बोलाउँछन्। बर्बरिक नारायणहिटी पुग्छन्। उनीहरूबीच राजनीतिक संवाद हुन्छ।

त्यसपछि दृश्यमा आउँछ— दासढुंगाको जिप दुर्घटना। तत्कालीन एमालेका महासचिव मदन भण्डारीसँगै संगठन विभाग प्रमुख जीवराज आ िश्रतको निधन हुन्छ। नाटकको यो दृश्य कारुणिक छ। यो दृश्यमा रसाएका दर्शकका आँखा बाहिर उज्यालोमा निस्कँदा लुकाउन हम्मेहम्मे पर्छ।

रहस्यमय दासढुंगा काण्डका एक नायकको विषयमा लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका हुन्। सोही उपन्यासको नाट्य रूपान्तरण गरी झापाको बिर्तामोडमा पहिलोपटक वैशाख ७ देखि १३ सम्म देखाइएको थियो। झोराहाट नाट्य समूह मोरङ र क्षितिज नाट्य समूह झापाले संयुक्त रूपमा बिर्तामोडमा नाटक मञ्चन गरेका थिए। दर्शकबाट संकलित रकमले झापामा बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गर्ने र राजनीतिक इतिहासका लुकेका कुरालाई प्रश्न गर्न सक्षम नागरिकको विकास गर्ने मुख्य लक्ष्य रहेको नाटकका परिकल्पनाकार माधव कल्पित बताउँछन्।

रंगकर्मी भरत गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन्। लेखक नेपालसँग अनुमति लिएर मञ्चन भएको नाटक यसअघि काठमाडौं र विराटनगरमा पनि देखाइएको थियो। मदन भण्डारीको मृत्युसँगै जोडिएका दर्जनौं प्रश्नको उत्तर आउनुपर्छ भन्ने आशयले देशका विभिन्न स्थानमा नाटक मञ्चन गरिएको नाटकका निर्देशक तथा रंगकर्मी जीवन बरालले बताए। नाटक भावी पुस्ताका लागि प्रेरणास्रोत बन्ने उनको भनाइ छ।

नाटकमा सुदीपजंग कार्की, अनु श्रेष्ठ, निराशा ढुंगेल, दीक्षा चौधरी, दीपा पोखरेल, दिव्या रेग्मी, प्रदीप सरदार, विजय थारू, सुरज माझी, लकेश राई, शुभम् पाण्डे, दिवाकर थारू, सुरज कट्टेल, प्रयास न्यौपाने, मुना प्रसाई, जीवन बराल र भरत गुरागाईं (बर्बरिक)को अभिनय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.