सुरु भयो रमदानको रौनक (फोटोफिचर)
सुरु भयो रमदान महिना ! रमदानसँगै मुस्लिम सामुदायमा उल्लास छाएको छ। यो एक महिने अवधिमा धर्मलम्बीले आफ्नै परीक्षा लिन्छन्, सहिष्णुता र धैर्यताको। रोजा धर्मालम्बीहरुका लागि एउटा त्याग र समर्पण हो।
रमदान महिनाभर सात वर्षमाथिका सबै व्यक्ति रोजा बस्नुपर्छ। मुसलमानका पाँच महत्वपूर्ण काम मध्ये रोजा, नमाज, जकात र फित्तरामा यही महिना गर्नुपर्ने तथा तिर्नुपर्ने हुन्छ। त्यसैले पनि धर्मालम्बीले यस महिनालाई शुभ मान्छन्। घाम उदाउनु भन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर सकिन्छ।
रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ। रोजाका कारण जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भन्ने मान्यता सामुदायमा प्रचलित छ।
रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ। यसका साथै रोजाको अवधि पूरा गरिसकेपछि 'इद'को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ। यो यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नु धर्म मानिन्छ।
रमदान महिना सुरुभएसँगै राजधानीमा बसोबास गर्ने मुसलमानले रोजा सुरु गरेका छन्। काठमाडौंस्थित कश्मीरी मस्जिदमा मंगलबार दिउँसो रमदानको रौनक व्यापक देखिन्थ्यो। दिउँसोको नमाज पढ्न आएका मुसलमानहरूलाई अन्नपूर्णकर्मी उमा विष्टले आफ्नो क्यामरामा कैद गरेकी छन्। हेर्नुस्, तस्विरहरू :