आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा: खमारेमा आँप कटहर छन् कि छैनन् ?

आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा: खमारेमा आँप कटहर छन् कि छैनन् ?

काठमाडौं : प्रधानमन्त्रीलाई भेट्न दैनिक थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक पुग्छन्। बिहानैदेखि  रातिसम्म दैनिक सयौं मानिससँग प्रधानमन्त्रीको भेटघाट र छलफल हुन्छ। तर,  बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट फरक रह्यो। 

सधैं राष्ट्रिय राजनीति र विकासका ठूलाठूला नीति र योजनाका विषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे। चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो। त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेका र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्ने थिए। आठराईमा विमानस्थलका लागि पैसा माग्न आएको समूहका बारेमा 

पूर्वजानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिव विष्णु पौडेलसहित बैठक कक्षमा प्रवेश गरे। ‘के छ आठराईको खबर ?’ प्रधानमन्त्रीको जिज्ञासा थियो। आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे। ‘नीति कार्यक्रममा आइसकेको छ। बजेटका लागि चिन्ता नगर्नु’, प्रधानमन्त्री ओलीले भने। 

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर  आठराईको एउटा सडकको योजना सुनाए। सुकेपोखरी-छातेढुंगा-प्रणामी मावि इवा-भदौरे-बिजौरे आधारभुत विद्यालय हुवाकु-निगुरादिन-चोपुर हुँदै हाङपाङ स्कूल-शान्ति आधारभूत विद्यालय मिचिरिङ हुँदै दोभान-ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ।
 जन्मस्थान आठराई इवा छोडेको ५८ वर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा सम्झिए।  चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए। 

तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले  महासचिव पौडेललाई चिनाउदै भने, ‘ऊ मेरो गाउँले भाइ हो। अहिले प्रदेशसभाको सांसद।’ प्रधानमन्त्रीले फेरि सम्झाए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । उहाँ चाहिँ विर्तामोडमा हुनहुन्छ। तेजप्रसाद कङदङ्वा चाहिँ मेरै सामु हुनुहुन्छ।”

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि  सम्झना गर्नुभयो। ‘मेरो बाल्यकालको साथी चन्द्र। म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथीसाथी थियोैं। हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका। अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो।’

‘हामीलाई पानीको समस्या छ’, एक सदस्यले यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिए। ‘ऊ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,’ प्रधानमन्त्रीले भने, ‘अहिले सुकेर तिर्र....मात्र पानी आउँदो रहेछ। ५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिँदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ। त्यसपछि आफैं हिस्स परियो।’ 

पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे। “गढी के भएछ त। त्यहाँबाट ओरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला’, उनले भने। 

प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भीर कारणहरु एकपछि अर्को गर्दै  प्रधानमन्त्री समक्ष राखे। पूर्वप्रधानअध्यापक आरसी थपलियाले सुरु गरे, ‘जतासुकै मोटरबाटो खनियो। यसले पानीको मुललाई धक्का दियो। मुलहरु अन्तै सरे।’ भीष्म थपलियाले थपे, ‘भैंसी पाल्ने चलन हरायो। जसले गर्दा आहाल मासिए। आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन। पानीका मुल सुके।’

 टिका उप्रेतीले भने, ‘पहिला जस्तो साउने झरी पर्न छाड्यो। त्यत्तिबेला साउने झरी हप्ता दिनसम्म बिस्तारै बर्सिरहन्थ्यो। त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो। अहिले दर्र...पानी पर्छ। जमिनको सहतमै बगेर सकिन्छ।’

भीम घिमिरेले अर्को कारण थपे, ‘सानो मुलकतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पुर्‍याउँछन्। जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो। अनि हामी काकाकुल भयौं।’

 प्रधानमन्त्री ओलीले आठराईमा एउटा फुटबल मैदानको प्रस्ताव गरे। ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस्। हैन भने म जग्गा दिन्छु,’ प्रधानमन्त्रीले सम्झिए, ‘छन् त चुहानडाँडाँमा  उप्रेतीटार, थपलीयाटार।’

त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुगे। उनले भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा गरे। ‘हरेक वर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,” प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु। खाएको छु। अहिले छन् कि छैनन्  भित्रिया र खमारेमा आँप कटहर ?’


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.