पदस्थापनले हैरान कर्मचारी

पदस्थापनले हैरान कर्मचारी

जनकपुरधाम : सिरहा जिल्लाको डिभिजन वन अधिकृत सन्तोष झा पदस्थापन भएको १४ दिनभित्रै मन्त्रालयमा तानिएका छन् ।जेठ ३ गते मुख्यमन्त्री कार्यालयबाट सिरहा पदस्थापन भएका झा ५ गते कार्यालयमा हाजिर भएका थिए। कार्यालयको कामकाज सम्हाल्न नपाउँदै उनी जेठ १७ गते प्रदेश- २ को वन निर्देशनालय जनकपुर तानिए। 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको निर्देशनमा निमित्त सचिव जगदिशप्रसाद गुप्ताले झालाई सिरहाबाट जनकपुर तीन महिने काज सरुवामा खटाएका हुन्। यसअघि जुम्लामा डिभिजन वन अधिकृत भई कामकाज सम्हालेका झा संघीय सरकारको कर्मचारी समायोजनको क्रममा प्रदेश २ मा पठाइएका हुन्।

उनको कामकाज अन्य जिल्लामा निकै सराहनीय भएपनि प्रदेश- २ मा पदस्थापना भएको १५ दिन पनि नबित्दै उनको कामप्रति असन्तुष्टी देखाएर मन्त्री रायले काजमा निर्देशनालय तानेका हुन्। 'उनको कामकाज सन्तोषजनक देखिएन्,' मन्त्री रायले भने, 'झालाई सिरहाबाट हटाउन मलाई विभिन्न संघसंगठन र राजनीतिक दलको दवाव थियो।'

जेठ ११ गते आधिकारिक ट्रेड युनियन, नेपाल रेन्जर संघ, नेपाल मधेसी निजामती कर्मचारी मंच, जुनियर वन प्राविधिक संघ सिरहा, नेपाल रेन्जर संघ सिरहा, समाजवादी पार्टी संघ, जिल्ला समन्वय समिति सिरहा, राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला तदर्थ समिति सिरहाले संयुक्त रुपमा अल्टिमेटम दिइ झालाई डिभिजन वन कार्यालयबाट हटाउन दवाव दिएको मन्त्री रायको दाबी छ। उनी भन्छन्, 'मेरो राज्यमन्त्री पनि सोही जिल्लाका हुन् उनले पनि झालाई हटाउन भनेपछि सबैको कुरा मानेर काजमा निर्देशनालय खटाएको हुँ।'
 
वनराज्यमन्त्री सुरेश मण्डल भने झाको आवश्यकता निर्देशनालयमा बढी देखिएकाले उनलाई सिरहाबाट काजमा तानिएको बताउँछन्। उनी भन्छन्, 'यहाँ भएका कर्मचारीले काम गर्न नसकेपछि झालाई यहाँ तानिएको हो।'

झाको स्थानमा वन निर्देशनालयमा कार्यरत शुभाषचन्द्र दासलाई सिरहा डिभिजन वन कार्यालय पठाएको छ। विना कुनै कारण पदस्थापन हुँदा काम गर्न निकै गाहे भएको झा बताउँछन्।उनी भन्छन्, 'मेरो कामबाट कहाँ के असन्तुष्टी भयो त्यो कम्तिमा थाहा पाए सन्तुष्टि हुन्थ्यो।' अनावश्यक दवाव र पदस्थापनाले गर्दा प्रदेश २ मा कर्मचारीको काम गर्ने जागर नै हराएको उनी बताउँछन्।  

जातिवाद, आर्थिक प्रभाव र आफू अनुकुल काम नगर्दा वन मन्त्रालयमा पटकपटकमन्त्री रायले कर्मचारीलाई पदस्थापना भएको कार्यालयबाट काजमा तानेर हैरान पार्दै आएको कर्मचारीकै गुनासो छ। यसअघि मुख्यमन्त्री कार्यालयबाट डिभिजन वन कार्यालय बारामा पदस्थापना भएका वन अधिकृत ज्ञानेन्द्र मिश्रलाई मन्त्री रायले दुई महिनाभित्रै मन्त्रालयमा काजमा तानेका थिए। 

कात्तिकमा पदस्थापना भएका मिश्र पुसमा मन्त्रालय तानिएपछि उनको स्थानमा शिवशंकर ठाकुरलाई पठाएको थियो। ठाकुर दुई महिनापछि अवकास प्राप्त गर्ने कर्मचारी थिए। तर, उनी मन्त्रीसँग नजिक भएकै कारण बारा सरुवा भए। सरुवा भएको दुई महिना नबित्दै चैतमा ठाकुरलाई कबाड लिलामी विषयमा ९० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेका थिए। हाल उनको मुद्दा विशेष अदालतमा चलिरहेको छ। 

जलाधार व्यवस्थापन कार्यालय सिरहामा मुख्यमन्त्री कार्यालयमा पदस्थापना भएका उपसचिव प्रविण सिंहलाई तीन दिनभित्रै काजमा वन मन्त्रालयमा तानियो। तर, १५ दिन भित्रै उनी फेरी सबै कुरा मिलाएर पुनः सिरहा कार्यालयमा फिर्ता गरिए। 

राजनीतिक दल र मन्त्रीसँग सेटिङ मिल्न नसक्दा अनाहकमा काजमा तान्ने र दु:ख दिने परिपाटीका कारण प्रदेश २ मा कर्मचारीलाई काम गर्न निकै गाह्रो भएको एक कर्मचारीले नाम नखोल्ने सर्तमा बताए। उनले भने, 'यहाँ काम गर्ने वातावरण नै छैन्।'

कर्मचारी अभावका कारण जनभावनाअनुरुप प्रदेश सरकारले काम गर्न नसकेको मुख्यमन्त्री तथा मन्त्रीले विभिन्न सार्वजनिक कार्यक्रममा गुनासो पोख्दै आएका छन्। तर, प्रदेश सरकारले समायोजन भई आएका कर्मचारीलाई उपयुक्त ठाउँमा पदस्थापना गरी काम गर्ने वातावरण मिलाउन नसकेको कर्मचारीको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.