विश्वकपमा वर्षाको पिरलो

विश्वकपमा वर्षाको पिरलो

नटिङ्घम : जारी विश्वकप क्रिकेटमा भारत र न्युजिल्यान्डबीच बिहीबार हुने भनिएको खेल पनि वर्षाका कारण रद्द भएको छ। लगातारको वर्षाका कारण खेल सुरु नै हुन सकेन। खेलमा टससमेत हुन पाएन। यो विश्वकपमा हालसम्म भारत र न्युजिल्यान्डमात्र अपराजित टोली हुन्। न्युजिल्यान्डको यो चौथो र भारतको तेस्रो खेल थियो।

न्युजिल्यान्ड यसअघि आफूले खेलेका तीनवटै खेल जितेको थियो। न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेट, दोस्रो खेलमा बंगलादेशलाई दुई विकेट र तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो। बिहीबारको खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्ड चार खेलबाट सात अंक बटुल्दै तालिकाको पहिलो स्थानमा यथावत् छ।

यसैगरी सन् १९८३ र सन् २०११ को उपाधि विजेता भारतले जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेट र दोस्रो खेलमा बलियो अस्ट्रेलियालाई ३६ रनले हराएको थियो। तेस्रो खेल वर्षाका कारण रद्द भएपछि भारत पाँच अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

जारी विश्वकपमा थुप्रै खेल वर्षाबाट प्रभावित भइसकेका छन्। खेल वर्षाबाट प्रभावित हुने क्रम बढेपछि क्रिकेटप्रेमी र खेलाडीहरूले समेत असन्तोष व्यक्त गर्दै आएका छन्। जारी विश्वकपको लिग चरणमा हरेक दिन कम्तीमा एउटा खेल पर्ने गरी तालिका निर्माण गरिएकाले रद्द भएको खेल अर्को दिन खेलाउने सम्भावना पनि छैन। त्यसैले खेल रद्द हुनासाथ दुवै टोलीले एक÷एक अंक बाँड्नुको विकल्प छैन।

सबैभन्दा पहिले जुन ४ तारिखमा कार्डिफमा खेलिएको श्रीलंका र अफगानिस्तानबीचको खेल वर्षाबाट प्रभावित भएको थियो। तर, केही समयपछि वर्षा रोकिएकाले उक्त खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले हराएको थियो। त्यसपछि जुन ७ तारिखमा श्रीलंका र पाकिस्तानबीच ब्रिस्टलमा हुने भनिएको खेल वर्षाबाट प्रभावित भएको थियो। वर्षा नरोकिएपछि खेल सुरु नै हुन सकेन र दुवै टोली एक÷एक अंक बाँड्न बाध्य भए।

यसैगरी जुन १० तारिखमा साउथह्याम्टनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुने भनिएको खेल पनि वर्षाबाट प्रभावित हुन पुग्यो। दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ७.३ ओभरमा दुई विकेट गुमाएर २९ रन बनाएपछि वर्षा सुरु भएको थियो। वर्षा नरोकिएपछि दुवै टोली एक÷एक अंक बाँडन बाध्य बने। जारी विश्वकपमा दक्षिण अफ्रिका कमजोर टोलीका रूपमा देखिएकाले पनि उक्त खेल वर्षाबाट प्रभावित हुँदा वेस्ट इन्डिजलाई प्रत्यक्ष घाटा लागेको थियो।

त्यसको भोलिपल्टै जुन ११ तारिखमा ब्रिस्टलमा हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल पनि लगातारको वर्षाका कारण सुरु नै नभई रद्द हुन पुग्यो। उक्त खेलमा पनि दुवै टोली अंक बाँड्न बाध्य भए। जारी विश्वकपमा श्रीलंकाको खेलमा वर्षा बाधक बनेको यो तेस्रो पटक हो। भारतविरुद्घको खेल वेस्ट इन्डिजका लागि वर्षा बाधक बनेको दोस्रो पटक हो।

यसरी वर्षाका कारण एकपछि अर्को खेल प्रभावित हुँदै गएपछि खेलाडी, पदाधिकारी र क्रिकेटप्रेमीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (र्आसीसी) माथि पनि रोष प्रकट गरेका छन्। लिग चरणमा एउटा पनि ‘रिजर्भ डे’ (खेल नभएको खाली दिन) नराख्दा वर्षाका कारण पूरै खेल नै रद्द गर्नु परेको उनीहरूको आरोप छ। यसरी खेल रद्द हुँदा राम्रा टोलीहरू पनि समस्यामा पर्न सक्ने सम्भावना रहन्छ।

आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसन भने लिग चरणमा खाली दिन नराख्नु उपयुक्त निर्णय भएको दाबी गर्छन्। ‘त्यसै पनि १० वटा टोली सहभागी विश्वकप ४५ दिन चल्नु भनेको निकै लामो समय हो। खाली दिन राख्दा प्रतियोगिता झनै लम्बिन पुग्थ्यो। त्यसैले लिग चरणमा खाली दिन नराख्नु राम्रो निर्णय हो’, उनले भनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.