जग्गा जोगाउन तात्यो अख्तियार

जग्गा जोगाउन तात्यो अख्तियार

काठमाडौं : तत्कालीन प्रमुख मालपोत अधिकृतद्वय दीर्घबहादुर पोखरेल र कृष्णप्रसाद ज्ञवालीसहित २८ जनाविरुद्ध २ करोड १६ लाख ७३ हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो।

अख्तियारका अनुसार साबिकको बाँके खासकारकाँदो-७ र तत्कालीन नेपालगन्ज नगरपञ्चायत-३ को एक-एक र बर्दिया नेउलापुर-७ को १ र ९ को ५ कित्ता सरकारी जग्गा किर्ते गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ। ती जग्गा कर्मचारीको मिलोमतोमा नक्कली जग्गाधनी कौशल भनिने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी र लाली मल्लका नाममा दर्ता गरिएको छ। यो प्रकरणमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेलसँगै अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायब सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खडका र मानबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको छ। यस्तै कम्प्युटर अपरेटर यज्ञेश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरू सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीविरुद्ध मुद्दा दायर भएको छ  ।

 मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुख ज्ञवालीसहित अधिकृत रामकुमार रोका, नायब सुब्बाहरू कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदारहरू भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसीरानी थारू, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्यायवरुद्ध पनि मुद्दा दायर भएको छ। यसैगरी नक्कली जग्गाधनीहरू कौशल भनिने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, लेखापढी व्यवसायी बिरु भनिने बृहस्पति खड्का र पप्पु धोबीविरुद्धसमेत सार्वजनिक जग्गा हिनामिनामा मुद्दा दायर गरिएको छ । अख्तियारले अभियोगपत्रमा आरोपित २८ जनालाई नै २ करोड १६ लाख ७३ हजार रुपैयाँ बिगो मानी जरिबाना र जेल सजाय मागदाबी गरेको छ ।

अख्तियारले ललितपुर लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसको जग्गा व्यक्तिका नाममा पारेको आरोपसहित नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख अधिकृत भरतसिंह ऐरसमेत ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र तत्कालीन क्याम्पस प्रमुख नारायणदास        श्रेष्ठको प्रत्यक्ष संलग्नता प्रमाणित भएको दाबी अख्तियारको छ। उनीहरूविरुद्ध जनही १७ लाख ८१ बिगो र २-४ वर्षसम्म कैद सजाय र बिगोबमोजिम रकम जफतको माग गरिएको छ।

‘गुठी, सार्वजनिक, ऐलानी र प्रति जग्गा अनुसन्धानलाई तीव्रता दिएका छौं।’ प्रदीपकुमार कोइराला, प्रवक्ता, अख्तियार

क्याम्पसको जग्गा गैरकानुनी रूपमा व्यक्तिविशेषको नामको घुसाएर मञ्जुतारा शाक्यका नाममा जग्गाधनी दर्ता स्रेस्ता कायम गरिएको आरोपपत्रमा उल्लेख छ। क्याम्पसको नाममा रहेको ४ आना ३ पैसा बढी क्षेत्रफल व्यक्तिको नाम कायम गरिएको छ। भूमाफियाको मिलोमतोमा नक्कली जग्गाधनी खडा गरी काठमाडौं चन्द्रागिरी नगरपालिकाअन्तर्गत बाडभन्ज्याङस्थित ९२ रोपनी जग्गा हाउजिङ कम्पनीको नाममा गरेको सम्बन्धमा अख्तियारले मुद्दा दायर गरेको छ।

सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा दर्ता गराउने कलंकी मालपोत कार्यालयका अधिकृतसहित ७ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ। गैरकानुनी रूपमा सरकारी जग्गा हाउजिङ कम्पनीका नाममा पास गरिदिएको अभियोगमा मालपोत अधिकृत शिवप्रसाद रिमाल, नायबसुब्बा हरिप्रसाद आचार्यविवरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरूविरुद्ध तीन वर्षसम्मको कैद र बिगोबमोजिमको जरिबाना माग दाबी गरिएको छ।

सुयल कम्पनीका सञ्चालक थापा, नक्कली जग्गाधनी मीनाकुमारी थापालाई दुई वर्ष कैद र बिगोबमोजिमको जरिबाना तथा बिगो जफतसमेतको मागदाबी गरिएको छ। नक्कली जग्गाधनी थापाका वारेस दीपेन्द्रविक्रम शाहलाई प्रतिवादी बनाइएको छ।

मतियारका रूपमा रहेका शाहविरुद्ध डेढ वर्षसम्म कैद र बिगोको आधा जरिबाना हुनेछ। अख्तियारले निजी कम्पनीको नाममा जग्गाधनी स्रेस्ता गराउन भूमिका खेल्ने कानुन व्यवसायीविरुद्ध पनि मुद्दा हालेको छ। अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ। अधिवक्ताद्वयलाई मतियारका रूपमा प्रस्तुत गर्दै अख्तियारले डेढ वर्षसम्मको कैद र बिगोको आधा जरिबाना मागदाबी गरेको छ।

अनुसन्धान तीव्र

गुठी, सार्वजनिक तथा सरकारी जग्गासम्बन्धी ठूला मुद्दाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। जुम्लाको गुठी चौरको जग्गा, काठमाडौं बालुवाटारको जग्गा, पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको सम्पत्तिमा भएको हिनामिनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए। जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पाँच सय ९० रोपनी सरकारी जग्गा पत्नीसहित आफन्तका नाममा पास गरेका छन्। 

न्यौपानेले २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको तीन लाख वर्गमिटर अर्थात् पाँच सय ९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वतीसहित १३ जना आफन्तका नाममा दर्ता गराएका हुन्। साबिक गुठीचौर गाविस-६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मक नाममा ६ लाख २१ हजार ५ सय २५ वर्गमिटर जग्गा कायम छ । त्यसैमध्येको तीन लाख वर्गमिटर (५९० रोपनी) जग्गा तत्कालीन मालपोत अधिकृत न्यौपानेले आफ्नो बनाएका छन्।

बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमण सम्बन्धमा अख्तियारले सूक्ष्म अनुसन्धान गरिरहेको छ। २०२१ सालमा नै राष्ट्रियकरण गरिएको ललिता निवासको ११३ रोपनी जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर व्यक्तिको नाममा दर्ता गरिएको छ। नेपाल ट्रस्टका नाममा रहेको पूर्व राज वीरेन्द्रको जग्गा अपचलनका सम्बन्धमा पनि अध्ययन भइरहेको अख्तियारले जनाएको छ। काठमाडौं चन्द्रागिरी नगरपालिकाअन्तर्गतको थानकोट, सतुंगल र मातातीर्थमा रहेको पूर्वराजाका नामको १७३ रोपनी जग्गा व्यक्तिको दर्ता गरिसकिएको छ।

उनले गुठी, सार्वजनिक, सरकारी जग्गा व्यक्तिका नाममा गरेको सम्बन्धमा विशेष प्राथमिकताका साथ अनुसन्धान भइरहेको बताए।

‘गुठी, सार्वजनिक, ऐलानी र प्रति जग्गा अनुसन्धानलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘कानुनबमोजिम हदम्याद पनि नलाग्ने भएका यस्ता जग्गामा जहिले पनि कारबाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.