नारायणी अस्पतालको हालत : डाक्टर-कर्मचारीलाई शितल, बिरामी कुरुवालाई छैन पंखा !
वीरगन्ज : अत्याधिक गर्मीसँगै नारायणी अस्पतालमा बिरामीको चाप बढ्दो छ । अस्पतालका अनुसार ५० प्रतिशतले यहाँ बिरामीको संख्या बढेको छ ।
खासगरी चर्म तथा यौन रोग विभाग र बाल रोग विभागमा बिरामीको संख्या बढी आउने गरेको अस्पताल प्रशासन बताउँछ । हरेक दिन दर्जनौँ बिरामी आउने गरेको अस्पतालमा पंखा भने अपर्याप्त छ । बिरामी कुरुवा र आफन्त नै पंखा नहुँदा हपहप तातोमा बस्न बाध्य छन् ।
त्यसो त, अस्पतालमा जडान गरिएका पंखाको संख्या नै न्युन छ । जडान भएका पंखाहरुमध्ये अधिकांश त बिग्रएर सिलिङमा झुन्डिएका मात्रै छन् । डाक्टरलाई पर्खेर बस्ने बिरामीका लागि नै पंखाको व्यवस्था छैन । बिहीबार मात्रै उपचारका लागि बालबालिका लिएर केही अभिभावक बालरोग विभागको ओपिडी अगाडि असिनपसिन भएर बसिरहेका थिए ।
तर यही ठाउँमा पनि जडान गरिएको पंखा बिग्रिएर नचलेपछि गर्मीले आत्तिँदै थिए । बालरोग विभागको ओपिडी अगाडि बिरामी बच्चासँगै बसेका इनर्वाका अली हसनु मियाले भने, ‘हामी आफैँ समस्यामा परेर आएका हुन्छौँ, तर अस्पतालको लथालिंग अवस्था हेर्दा थप सास्ती खेप्नु परेको छ ।’
डाक्टरलाई पर्खनुपर्ने समस्यासँगै उखरमाउलो गर्मी सहनुपर्दा झनै बिरामी हुने हो कि भन्ने डर अलीले व्यक्त गरे । अली जस्तै थुप्रै बिरामीका कुरुवा कुरुवाको लागि पंखा नभएकोमा रुष्ट थिए । भित्र प्रशासनमा र चिकित्सकका लागि पंखा जडान भए पनि बिरामीका कुरुवालाई भने गर्मीमै बस्नुपर्ने बाध्यता छ ।