बागलुङमा ६ जनामा डेंगको संक्रमण
बागलुङ : धौलागिरि अञ्चल अस्पताल बागलुङमा डेंगु जाँच गराउने बिरामीको संख्या बढेको छ।डेंगुले मानिसको ज्यान लिन थालेपछि अस्पतालमा चेकजाँच गराउन आउनेको संख्या बढेको अस्पतालले जनाएको छ।
देशैभर डेंगू संक्रमण फैलिएपछि सामान्य ज्वरो आउँदा पनि स्वास्थ्य जाँच गराउन अस्पतालमा दैनिक १० बढी बिरामी आउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि.पोखरेलले जानकारी दिए।
अस्पतालले त्यस्ता बिरामीको रगत, पिसाब जाँच गर्ने र सेतो रगतको कमी देखिएमा मात्र डेंगुको परीक्षण गर्ने गरेको छ । अहिलेसम्म डेंगू परीक्षण गरेकामध्ये ३ जनामा संक्रमण पत्ता लागेको बताइएको छ । पोखरामा पनि १ जनामा डेंगुको संक्रमण देखिएको छ।
यसअघि बागलुङ घरका पोखरामा बस्ने २ जनामा पनि डेंगुको संक्रमण भटिएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । उनीहरुको पोखरा फेवासिटी हस्पिटल र गण्डकी अस्पताल बागलुङमा डेंगुको संक्रमण भएको पत्ता लागेको हो । जिल्लामै डेंगुको संक्रमण भेटिएपछि बागलुङ नगरपालिकाको कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानिय तहलाई यसप्रति सचेत हुन पत्रचार समेत गरेको छ। अहिलेलाई शंकास्पद बिरामीको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले बताए।
उनले छिट्टै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि चेकजाँच र उपचारको प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।घिमिरेले गत मंगलबारदेखि धौलागिरि अञ्चल अस्पताल बागलुङमै डेंगु किट मेसिन राखिएको र अब कुनै पनि समयमा शंकास्पद व्यक्तिको जाँच गर्न सकिने बताए।
डेंगुको सर्तकता अपनाउनका लागि जिल्लाका सञ्चार माध्यमबाट सूचना सन्देश प्रसारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले सर्तकताको सन्देशलाई व्यापकता दिन भाद्र २० गते बजार सरसफाइसहित बृहत सचेतनामूलक र्याली निकालेको थियो भने २१ गते बागलुङ सदरमुकाम भित्रिने सीमा क्षेत्र मालढुंगामा निःशुल्क स्वास्थ्य जाँच समेत गरेको थियो।