पहिरोले पाल्पाका अधिकांश सडक बन्द, एक बेपत्ता
पाल्पा : ३ दिनेदेखि परेको अविरल वर्षाको कारण पाल्पाका अधिकांश सडक बन्द भई यातायात अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकको अधिकांश भागमा पहिरो खसेको छ ।
तानसेन बुटवल सडकखण्डको गौडे पुल, कालीमाटी चर्चरे, हिउदे खोला, झुम्सा र सिद्धवावा क्षेत्रका खसेको पहिरोकारण सडक अवरुद्ध हुँदै आएको छ । तानसेन बुटवल सडकको केही स्थानमा प्रहरी तथा सडक कार्यालयले डोजर प्रयोग गरी एकतर्फी सडक खुलाए पनि अधिकांश स्थानमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
यसैगरी कालीगण्डकी नदीमा दाउरा संकलन गर्न गएका बगनासकाली गाउँपालिका -६ दरपुकका ४० वर्षीय गुरुबहादुर बोटे बुधबार देखि वेपत्ता छन्। तानसेन हार्थाक पोखराथोक अर्घाखाँची जोड्ने सडक पनि विभिन्न स्थानमा गएको पहिरोको कारण अवरुद्ध छ । हार्थाक पोखराथोक अर्घाखाँची जोड्ने सडक रिव्दीकोट गाउँपालिका -७ बतासेमा पक्की सडक भाँसिएर तुल्सा थापाको टिनको गोठ पुरिएको छ । पहिरीमा पुरिएर तुल्साको १ वटा पाडो मरेको छ।
तानसेन रिडी तम्घास मोटरबाटो पनि पहिरोका कारण यातायात पूर्णरुपमा सुचारु हुन सकेको छैन। तानसेन रिडि सडकको रिव्दीकोट गाउँपालिका ३ हार्थाक क्षेत्रका पहिरो खस्दा सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।
यसैगरी तानसेन रामपुर सडक पूर्णरुपमा बन्द भएको छ । रामपुर नगरपालिका ४ गिजिङडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङ्ग क्षेत्रमा पहिरो गएको छ।
तानसेन बुटवल सडकखण्ड, तानसेन रिडि तम्घास सडकखण्डमा अवरुद्ध सडक खुलाउन ३ वटा लोडर र १ वटा जेसिवी परिचालन गरिएका छन्।अहिले पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर तथा सूचना अधिकारी सौजन्य नेपालले बताए ।पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्था राखिएको नेपालले बताए ।
यसैगरी माथागढी गाउँपालिकाको-१ चिदीपानी बुढीकोटमा पहिरो गएको छ। यसै गरी पूर्वखोला गाउँपालिका वासुका, सानो गल्धा, चापगैरा र बैछापमा पहिरोले सडक अवरुद्ध भएको छ ।
रम्भा गाउँपालिका १ असर्दीमा राम्दी रामपुर कालीगण्डकी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। तानसेन बुटवल सडक खण्ड, तानसेन रिडि सडकखण्ड, तानसेन रामपुर सडकखण्डमा डिभिजन सडक कार्यालयसँग समन्वय गरी डोजर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए ।
गाउँपालिका तथा नगरपालिकाअन्तर्गत रहेका ग्रामीण सडकमा मेयर तथा अध्यक्षसँग बाटो सफा गर्ने बारेमा समन्वय भई विभिन्न स्थानमा डोजर परिचालन भएको पाल्पा प्रहरीले जनाएको छ ।पहिरो गएका सडकमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !