जसको दुनियाँ रातो छ
नेपाली उखान छ– रातो राम्रो, गुलियो मीठो। उखानको एक हिस्सा ‘रातो राम्रो’लाई बोस्नियाकी नागरिक ६७ वर्षीया जोरिका रेबेर्निकले आफ्नो जीवनमा पूर्णतः लागू गरेकी छिन्। चार दशक भइसक्यो, उनको दुनियाँ राताम्य भएको।
उनी शिरदेखि पाउसम्म रातो लुगा लगाउँछिन्। उनको घर रातो छ। घरका भित्तादेखि खाटका तन्नासम्म राता छन्। उनले बिहेको दिन पनि रातै पहिरन लगाएकी थिइन्।
उनका श्रीमान् जोरान र उनी रातो घरमा मात्र बस्दैनन्। उनीहरू रातो कपमा चिया पिउँछन्, रातो प्लेटमा खाना खान्छन्, रातो खाटमा सुत्छन्। जोरिकाको कपाल पनि रातै छ। डाई गरेर रातो बनाएकी हुन्।
हुँदाहुँदा उनको रातो रङको प्रेमले सीमा नाघिसकेको छ। मृत्युपछि आफ्नो चिहानको ढुंगो पनि रातै हुने उनले बताएकी छिन्। उनले त्यसको तारतम्य मिलाइसकेकी छिन्।
अवकाशप्राप्त शिक्षक जोरिका रातो रङप्रतिको आसक्तिबारे विश्वप्रसिद्ध समाचार संस्था ‘रोयटर्स’सँग भन्छिन्, ‘अठार वर्ष लागेपछि अकस्मात् ममा रातो पहिरनप्रति अनौठो मोह पैदा भयो। त्यसपछि मेरो दुनियाँ नै रातो हुन थाल्यो। घर सजाउन रातो रङबाहेक अर्काे रङ प्रयोग गरिनँ। मेरा जम्मै लुगा राता छन्। तिनमा एउटा बुट्टा पनि अर्काे रङको छैन। रातो रङले मलाई बल र शक्ति प्रदान गर्छ।’
रातो रङले उनलाई गृहनगर ब्रेजमा प्रसिद्ध बनाएको छ। ‘मलाई सबैले चिन्छन्,’ उनी भन्छिन्, ‘मलाई थुप्रैले रातो रङको उपहार दिएका छन्। रातोबाहेक अन्य रङका उपहार म स्वीकार गर्दिनँ, ती जतिसुकै महँगा किन नहून् !’
बोस्नियाको समाजमा मलामी जाँदा प्रायः कालो लुगा लगाइने गरिन्छ। तर, जोरिका रातो रङको पहिरनमा शोकसभामा पुगिरहेकी हुन्छिन्।