मंसिरमा प्रदेशको नाम र राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री
रुकुम : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंसिर महिना भित्रमा प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। बुधबार रुकुम आइपुगेका मुख्यमन्त्री पोखरेलले नाम र राजधानीको टुंगो लगाउन बनेको उपसमितिले काम गरिरहेकाले चाँडै टुंगो लाग्ने बताएका हुन्।
‘उपसमितिले काम अन्तिम चरणमा पुर्याएको छ,’ उनले भने, ‘अहिले उपनिर्वाचनको आचारसंहिता लागेको छ। चुनाव सकिएपछि मंसिर महिनामा नाम र राजधानी टुंगो लगाउँछौं।’ सँगै मुख्यमन्त्री पोखरेलले सरकारले राम्रा काम गर्दा पनि विभिन्न बखेडा झिकेर घेराबन्दी गर्ने काम भइरहेको बताएका छन्।
पार्टी एकतापछि अतालिएर सरकारलाई असफल बनाउने दाउमा देशी तथा विदेशी शक्ति सक्रिय भएको उनको भनाइ छ। ‘ठूला दुई पार्टीको एकताले नै नेपाली कांग्रेसलगायतका अन्य दल आत्तिएका छन्,’ उनले भने, ‘सरकारले गरेका ऐतिहासिक कामलाई पनि नजरअन्दाज गरेर अनुपयुक्त विषयमा विरोध गर्ने काम भइरहेको छ।’
मुख्यमन्त्री पोखरेलले संघीयता नचाहने तत्व बढी सलबलाएको बताए। मुख्यमन्त्री पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि सबैभन्दा पहिले राज्य बलियो हुनुपर्नेमा जोड दिए।
राज्य नै बलियो नभएमा संविधानमा उल्लेख भएपनि जनताले व्यवहारमा अधिकार प्रयोग गर्न नपाउने उनको भनाइ थियो। प्रदेशलाई सम्पन्न बनाउन प्रदेश सरकारले गुरुयोजना निर्माण गरेर काम गर्दै आएको उनको भनाइ छ।
उत्तरगंगा नदी डाईभर्सनको बारेमा पनि मुख्यमन्त्री पोखरेलले पहिलो पटक आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले रुकुमाका जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने आश्वासन दिएका छन्।
प्रदेश सरकारले कृषिलाई नै पहिलो प्राथमिकता दिएर कार्यक्रम तथा योजनामा काम गर्दै आएको उनले बताए। रुकुमपूर्वमा उत्पादन हुने कृषि सामग्रीको लागि बजार अभाव भएमा बजारसम्म पुर्याउन अनुदानको लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ।