प्रदेश १ मा सार्वजनिक बिदा, मुख्यमन्त्रीले दिए शुभकामना
विराटनगर : प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । किराँत समुदायको बाहुल्यता रहेको प्रदेश १मा उधौलीको अवसरमा प्रदेश १ सरकारले यस क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदासम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको थियो । किरात समुदायले पूर्वी नेपालमा उधौली पर्व धुमधामका साथ मनाउने गरेका छन् । आज उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि पर्व रहेको छ ।
मुख्यमन्त्रीले दिए शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किराँत समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
'यहाँ मनाउने उद्यौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्,' 'मुख्यमन्त्री राईद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ।
मौलिक सांस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा उल्लेख छ ।
यो पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !