बाजुरामा हिमपात : जनजीवन कष्टकर (तस्बिर)
बाजुरा : बिहीबारदेखि भएको हिमपातले बाजुरामा जनजीवन कष्टकर बनेको छ । लगातार एक हप्तादेखिको हिमपातका कारण ग्रामीण सडक अवरूद्ध भएका छन् ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रको मुख्य सडकका रुपमा रहेको मार्तडी कोल्टी सडक, सदरमुकाम मार्तडीदेखि जिल्लाका विभिन्न स्थानीय तहमा जोड्ने सडकहरु अवरूद्ध भएका जिल्ला प्रहरी कार्यलयका इनिस्पेक्टर दानबहादुर रोकायाले बताए ।
बडिमालिका र बुढिनन्दा नगरपाकिालको सिमाना पोरखे लेकको हिमपातका कारण सदरमुकामसँगको सम्बन्ध टुटेको छ । उत्तरी क्षेत्रका चार स्थानीय तहका स्थानीयहरु सदरमुकाम मार्तडीमा अलपत्र भएका छन् । पोरखे लेकमा चार-पाँच फिट हिउँ जमेको छ, आवतजावतमा समस्या भएको बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । सडक अवरूद्ध हुँदा स्थानीय तहबाट सदरमुकाम आउने र जाने यात्रुलाई असहज भएको प्रहरी वडा अध्यक्ष पाध्यायले जानकारी दिए ।

मार्तडी कोल्टी सडक बन्द हुँदा हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्ला सदरमुकाम मार्तडीबाट विभिन्न ग्रामीण क्षेत्रमा संचालन हुँदै आएको जीप सेवा पनि रोकिएका छन् ।
हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको स्वामीकार्तिक मानासरोवर यातायात प्रालीका काउन्टर इन्चार्ज निसान्त रोकायाले बताए ।
लगातारको हिमपातका कारण वृद्ध, बालबालिका र बिरामीहरुलाई समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकमर्माले बताए । चिसोले अस्पतालमा रुगाखोकी ,निमोनिया, ग्यास्ट्रिक, दमका बिरामीको संख्या बढेको विश्वकर्माले उल्लेख गरे ।

हवाईसेवा बन्द
हिमपातकै कारण बाजुराको पूर्वी उत्तरी क्षेत्र कोल्टी विमानस्थल अवरुद्ध भएको छ । नियमित संचालन हुँदै आएको हवाई सेवा बिहीबारबाट अवरुद्ध भएको हो ।
मौसममा एक्कासी बदली भएसँगै कोल्टी तथा आसपासका उच्च हिमाली क्षेत्रमा हिमपात र आकासमा बादल लागेपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ ।
कोल्टी क्षेत्रमा मौषममा खराबी कारण दैनिक नेपालगन्ज र सुर्खेतबाट कोल्टी आउने र जाने यात्रुहरू अलपत्र परेका छन् । विमानस्थल बाजुराका बुढिनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका त्यसै गरी हुम्ला, मुगु कालिकोटका स्थानीयहरुले सेवा लिँदै आएका छन् ।

बाजुरा सञ्चारविहीन
लगातारको हिमपात र पानीका कारण बाजुरा जिल्ला सञ्चारविहीन बनेको छ । हिमपातले टेलिफोन सेवा पूर्णरुपमा बन्द भएको स्थानीय गोरख सार्कीले बताए ।
‘टावर भएको क्षेत्रमा बिजुली छैन, सोलारमा चार्ज सकिएको छ, घाम लागेको छैन । फोन सेवा अवरुद्ध भएको छ ।', स्थानीय गोरख सार्कीले भने ।




प्रतिक्रिया दिनुहोस !