श्रीमती लिएर बेलायत भासिए वडाध्यक्ष

श्रीमती लिएर बेलायत भासिए वडाध्यक्ष

बेनी : दुई वर्षअघि बेलायत गएका म्याग्दीका एकजना वडा अध्यक्ष श्रीमती लिएर उतै भाँसिएका छन्। बेनी नगरपालिका १० पात्लेखेतका वडा अध्यक्ष रिम रोका परिवार लिएर बेलायत गएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था पालना नगरी वडा अध्यक्ष रोका करिब दुई वर्षदेखि बेलायतमा बस्दै आएका हुन्। लामो समयदेखि वडा अध्यक्ष नहुँदा विकास योजना तर्जुमा, कार्यान्वयन, सिफारिस र अन्य सेवा प्रवाहमा असर परेको स्थानीयबासीले गुनासो गरेका छन् ।  

रोकाको अनुपस्थितिमा वडा सदस्य लोकबहादुर पुनले कार्यवाहकको रुपमा जिम्मेवारी सम्हालेका छन् । 'उहाँ (रोका)ले चुनाव जितेको ८ महिना मात्रै काम गरेर युके जानुभएको थियो,' पुनले भने, 'अस्ति मंसिरमा १०/१२ दिन गाउँ आउनुभएको थियो । परिवार पनि लगेर उतै जानुभयो।' 

गत वर्ष मंसिरमा आएका रोका हिउँदे नगरसभामा सहभागी भएका थिए । यसपाली भने वडा र नगरपालिकाको कुनै पनि कार्यक्रममा सहभागी नभई फर्किएका हुन्। वडा अध्यक्ष नभएपनि जनताको काम नरोकेको कार्यवाहक वडा अध्यक्ष पुनले बताए । 'महत्वपूर्ण निर्णय लिन अलि अप्ठ्यारो हुन्छ,' उनले भने, 'वडा अध्यक्ष र कार्यवाहकको अधिकारमा फरक भएकाले समस्या पर्छ ।'

स्थानीय तह चुनावमा निर्वाचित वडा सदस्यमध्ये धेरै मत पाएको आधारमा वडा समितिले पुनलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको थियो । उनले २०७४ पुष देखि कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । रोकाका परिवारका सदस्य बेलायतमा बसोबास गर्छन् । उनी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ४५० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

स्थानीय सरकार सञ्चालन ऐनमा सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिले कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिनुपर्ने उल्लेख छ । 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले रोका विदेशमा रहेको बारेमा आधिकारिक कुनै जानकारी नभएको बताए । 'रिम जि युके जानुभएको भन्ने लिखित र आधिकारिक जानकारी छैन,' उनले भने, 'उहाँ मात्र नभएर अन्य वडा अध्यक्ष र कार्यपालिका सदस्यले एक हप्ता भन्दा बढी वडा छोड्नुपर्दा जानकारी गराउनुहुन्न।'

रोका एक वर्षयताको कार्यपालिका र नगरसभा बैठकमा उपस्थिति नभएको उनले पुष्टि गरे । 'अरु जनप्रतिनिधि पनि महिनौं सम्म विदेश घुम्छन्, काठमाडौं डुल्छन्, जानकारी दिँदैनन्,' उनले भने । 

यसैबीच रघुगंगा गाउँपालिका ४ दग्नामका वडा सदस्य कृष्ण गर्बुजा पनि विदेसिएका छन्। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गर्बुजा एक वर्षअघि बेलायत गएका थिए। 

भिजिट भिसामा एक वर्षअघि बेलायत गएका गर्बुजा नफर्किएको वडा अध्यक्ष रुकबहादुर गर्बुजाले बताए । सर्वोच्च अदालतको आदेशपछि जनप्रतिनिधिको सेवा सुविधा रोकिएपछि वडा सदस्य निष्क्रिय बनेको उनले बताए। 

'सेवा सुबिधा सबै रोकिएपछि हामीलाई गाह्रो परेको छ,' उनले भने, 'वडाका सदस्यलाई काम लगाउन पनि समस्या भयो ।' रोजगारीका लागि खाडी मुलुक गएका रघुगंगा-८ का वडा सदस्य रेबहादुर छन्त्याल भने हालै गाउँमा फर्किएका छन् । स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा मृत्यु भएमा र राजीनामा दिएमा मात्र जनप्रतिनिधिको पद रिक्त हुने उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.