प्रदेश १ संसद् अवरुद्ध : नामाकरणको विषय धकेलियो
विराटनगर : प्रदेश १ को हिउँदे अधिवेशन सुरु भएसँगै प्रदेशको नामाकरणसहितका महत्वपूर्ण विषयले प्रवेस नै नपाइ बैठक अवरुद्ध हुन थालेको छ। गत बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनको आइतबार बोलाइएको दोस्रो बैठक ललिता निवास जग्गा प्रकरणमा अख्तियारले चलाएको मुद्दाको विषयलाई लिएर कांग्रेसले संसद््मा विरोध जनाएपछि स्थगित भयो।
हिउँदे अधिवेशनमा विभिन्न विषयगत महत्वपूर्ण विधेयकमा छलफल र प्रदेश १ को नामकरण गर्ने तयारी छ। तर अधिवेशनको सुरुवातमै ललिता निवास जग्गा प्रकरणको मुद्दाले संसद्मा प्रवेश पाएपछि प्रदेश १ को नामकरण सहितका विधेयकका विषय पर धकेलिने संकेत देखिएको हो।
कांग्रेसले जग्गा प्रकरणमा नेकपाका नेताकोसमेत संलग्नता रहेकाले उनीहरूमाथि पनि मुद्दा दायर नगरेसम्म प्रदेश १ को संसद् बैठक चल्न नदिने जनाएको छ। सोही विषयलाई लिएर आइतबार बोलाएको संसद् बैठक कांग्रेस सांसदले अवरोध गरे। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले प्रतिनिधिसभासहित प्रदेशसभा बैठक पनि अवरोध गर्न सुरु गरेको हो।
‘नेकपाको सरकार छ भन्दैमा कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन, नेकपाका नेता पनि सो जग्गा प्रकरणमा मुछिएका छन्,’ कांग्रेस सचेतक सूयर्माराज राईले भने ‘जबसम्म माधव नेपाल, बाबुराम भट्टराईलगायत यो प्रकरणमा मुछिएकालाई पनि मुद्दा चलाइँदैन तबसम्म बैठक चल्न दिदैनौं।’
आइतबार बोलाइएको संसद् बैठकमा कांग्रेसले अवरोध गरेपछि सचेतक राईलाई सभामुख प्रदीप भण्डारीले बोल्ने समय दिएका थिए। संसद्मा बोल्दै राईले वर्तमान सरकारले जग्गा प्रकरणमा विभेद गरेकाले यसको सही फैसला नभएसम्म संसद् बैठकमा कांग्रेसको विरोध जारी रहने बताए। जग्गा प्रकरणमा एउटै प्रकृतिको मुद्दामा पक्षपात भएको कांग्रेसको ठहर छ।
‘सरकारले विभेदकारी नीति अपनाएर कसैलाई मुद्दा दायर गर्ने र कसैलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो गम्भिर असहमति हो,’ सचेतक राईले भने, ‘अख्तियारले चलाउने मुद्दामा सरकारको हस्तक्षेप भयो, वर्तमान सरकारले आफ्नाको संरक्षण गर्ने काम गरेको छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा पार्टी हेरेर मुद्दा चलाउने निर्णय गरेको विरोधमा नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले प्रदेशसभा बैठक अवरोध गर्ने निर्णय गरेको संसदीय दलका सचेतक सूयर्माराज राईले बताए। सोही निर्णय बमोजिम अब जग्गा प्रकरणमा संलग्नता देखिएका सबैमाथि मुद्दा नचलेसम्म संसद् चल्न नदिने राई बताउँछन्।
संसद् बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि कांग्रेसको बैठकका कारण संसद् एक घन्टा ढिला सुरु भएको थियो। कांग्रेस सांसदले उठेर विरोध जनाएपछि आइतबारको बैठक स्थगित भएको सभामुखले घोषणा गरे। अर्को बैठक माघ २७ गते सोमबार २ बजेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !