पृथ्वी सवाइ
(पानी, माटो, बादललाई सलाम छ
आकाशलाई नमस्ते
वनवृक्षलाई सोध्या’छ भन्दिनू)
उत्तेजनात्मक खरिद–बिक्रीका
लटरम्म गीतहरूभन्दा माथि थिएँ म
कोटी–कोटी माताहरूकी पनि माता
सर्वमान्य पृथ्वीमाता थिएँ म।
कलिला ओठले व्याकरण बिगार्दै
तोते बोलीमा सभ्यता ब्युँझदै गर्दा
कुनै राष्ट्रियताको
झालेमाले टीको नलगाएकी
सार्वभौम भू–महतारी थिएँ म।
कुनै चकमन्न साँझ
रतिरागमा व्यस्त आकाशका देउता
र उखुबारी गोडिरहेका
मत्र्यमण्डलका निरक्षर खेताला
ऐठन भएको बालकजस्तै झस्किए
जब क्रय–विक्रयको पापिष्ट प्रचलनभित्र
लालपुर्जाको कारागारमा कैद हुन थाले
मेरा नितान्त आफ्ना
खोलीबगर
बिसर्जित जिन्दगीका चिहानघारी
र ऐलानी झोडा।
(नवरङ्गी डाँफेलाई सलाम छ
इन्द्रेणीलाई नमस्ते
जूनतारालाई सोध्या’छ भन्दिनू)
कर्कलाको पातमा टिल्पिलाउने
शीतको क्षणभङ्गुर थोपाजस्तो मान्छेले
हरियाली चौबन्दीको तुना चुँडाएर
ऐश्वर्य गर्भाधारण गरिएको
मेरो विराट वक्षस्थलमा
दल्नुसम्म दल्यो
अलकत्रको दमनकारी मलम
र मभित्रका सुषुप्त अङ्कुरणहरूले
पाताल राज्यमा भूमिगत आत्महत्या गरे।
यो खरब–वर्षीय जिन्दगीमा
मेरो सौन्दर्यको श्रीपेच
हिसाब नगरौं
भू–बनियाँले हजारौं पटक कोतर्यो
र मेरा उर्वर डिम्बहरू
उसले चटपटे बनाएर खायो
अनि अहिले
सभ्यताको छानाजस्ता
रजत रङ्गका हिमाल मधुरिँदैछन्
रक्तवाहिनी नलीजस्ता सागर मधुरिँदैछन्
संसारको परान धान्ने
अदृश्य हावा मधुरिँदैछन्।
(हिमनदी, सागरलाई सलाम छ
हिमाललाई नमस्ते
वायुदेवलाई सोध्या’छ भन्दिनू)
मत्र्यमण्डलको प्राङ्गारिक माटो
क्रंक्रिटको बन्ध्याकरणले कक्रिन थालेपछि
त्राहिमाम् देउता–पितृले
नभमण्डलको बार्दलीबाट
विस्मयी आँखाले
भू–अपहरणको अश्लील अध्याय हेरे
मानौँ,
छलपूर्वक पाठेघर फालिएकी
प्रजनन् क्षमताविहीन
विरूप स्त्रीलिङ्गी भविता भएँ म,
मानसम्मानको शिखर देउरालीमा आसिन थिएँ
महाजनको कामतकी रखौटीजस्ती भएँ म।
(जडिबुटी, खनिजलाई सलाम छ
चट्टानलाई नमस्ते
जलकुण्डलाई सोध्या’छ भन्दिनू)
हजारौँ वर्ष पहिले
मिथकको कुनै सुदूर देशमा
चोखोनितो पर्यावरणमाथि
बेन राजाको अधर्मी चर्तिकला तह लगाउन
मैले भएभरका बिउबिजन
आफ्नो खोकिलाभित्र लुकाएर
बेन राजालाई पतन गराएकी थिएँ।
सिकारू कलाकारको ‘ड्रइङपेपर’सरह म
जसमाथि सत्ता–कोरियोग्राफरले
अर्बौं सीमारेखाहरू कोरेको छ
म पूज्याबाट भोग्या भएँ।
(वनको राजा सिंहलाई सलाम छ
झरनालाई नमस्ते
भूइँकुहिरोलाई सोध्या’छ भन्दिनू)
परै मग्मगाउने मलायागिरि वनले
शिरोपर गरेको ओजोन तह
र हजारौँ हात्तीको वनैया हुँदा
मेरो जिन्दगीले पहिरेका
प्यारा प्यारा आभूषण थिए कुनै बेला।
अभिभाँत लुटिएकी हिन्दू महिलाजस्तो
विरूप पारिएकी म पृथ्वीलाई
मेरो सौभाग्यको इतिहास फिर्ता देऊ।
(ओजोन तह, टापुलाई सलाम छ
सिमसारलाई नमस्ते
नागराजालाई सोध्या’छ भन्दिनू)