प्रदेश १ : ५४ को नमुना संकलन, ४२ जनाको नेगेटिभ
विराटनगर : प्रदेश १ बाट कोरोना (कोभिड–१९) भाइरस का शंकास्पद ५४ व्यक्तिको नमुना संकलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशका विभिन्न अस्पतालबाट बुधबारसम्म ५४ जनाको नमुना संकलन गरिएको थियो । १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।
मेहता अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमुना संकलन भएको छ ।
सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण सुरु भएपछि छिटो रिपोर्ट आउन थालेको हो । डा. मेहताका अनुसार प्रदेशभरी बुधबारसम्म कोरोना भाइरसका शंकास्पद १ सय १९ बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५÷५ जना रहेका छन् ।
बुधबारसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना बिरामी भर्ना भएका छन् । ओखलढुङ्गा, उदयपुर र पाँचथर २÷२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १÷१ जना पुरुष आइसोलेसनमा भर्ना भएका हुन ।
प्रदेश १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन बेड तयारी अवस्थामा राखेका छन् । प्रदेशभरमा ३ सय ६१ ज्वरोका क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना बिरामी पुगेका थिए ।
बुधबार प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई व्यक्तिगत सुरक्षा सााग्री ५ सय ७ थान वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !