५ वर्ष बित्दा पनि भूकम्पपीडित अचेत
काठमाडौं : ‘श्वास छउञ्जेल छोड्न भएन, औषधि उपचार र हेरचाह गर्नैपर्यो’, ६१ वर्षीय लीलानाथ पुडासैनीले छोरालाई हेर्दै भने, ‘पाँच वर्षदेखि अवस्था उस्तै छ, न खान सक्छ न बोल्न।’ २०७२ वैशाख १२ को भूकम्पमा परी अचेत बनेका नुवाकोट बेलगढी नगरपालिका ३ डाँडागाउँका ३१ वर्षीय कृष्णहरि पुडासैनीको वास्तविकता हो यो।
भूकम्पले ढलेका अधिकांश भवन र सम्पदा ठडिइसके। हजारौं यस्तै घाइते उपचारपछि घर पुगेर परिवारसँग रमाइरहेका छन्। तर कृष्णहरिको त्यो दिन अझै आएन। ‘चार वर्ष बित्यो छोराको अवस्था उस्तै छ, केही सुधार छैन। गरिरहेकै छौं तर कुनै उपायले पनि छोएन’, बुबा लीलानाथले भने, ‘छोराले पाल्नुपर्ने उमेरमा छोराको स्याहारचाकरमा रातदिन नभनी लागेको छु, सास छउञ्जेल आश भन्छन्।’ भूकम्पले दिएको सास्तीसँगै यतिबेला कोरोना कहरले पनि उनलाई अर्को पीडा थपेको छ। छोरो पहिलेकै जीवनमा फर्किएला भन्ने झिनो आशमा दिन बिताइरहेका उनलाई लकडाउनकै कारण घरबाट आउने दुई चार हजार रुपैयाँ पनि नआउँदा दिन गुजार्न हम्मे परेको छ।
‘छोरो बोलेका दिन खुसीले नाँच्थें’ भन्ने लीला छोराको पीडामा छटपटाउँछन्, कोल्टो फर्किएर आँसु पुस्छन्। कृष्ण एकोहोरो सिलिङ र दायाबायाका भित्ता हेरेर दिन अनि रात बिताउँछन्। न बोल्छन् न सुन्छन्। हिँड्ने कल्पना धेरै परको छ उनको। हाँछ्यू वा हाइ गर्दा मात्र मुख आँ हुन्छ उनको। उनको अवस्था बुझ्न र भेट्न सयौं आए तर उनले कसैले चिन्दैनन्। ‘खानका लागि नाकमा पाइप लगाएको छ, दाल र अण्डाको झोल दैनिक १०/१२ पटक खुवाउँछु’, लीला भन्छन्, ‘पेटमा राखेको पाइपबाट पिशाब फेर्छ। भन्नैपर्दा जीवन मरणको दोसाँधमा पाँचौं वर्षमा छ।’ अविवाहित कृष्णकी आमा र दाजुभाउजू गाउँमा छन्।
कृष्णका भिनाजु शिवप्रसाद घिमिरेका अनुसार, कृष्ण भूकम्प आउँदा पनि विदेशीलाई घुमाउन लाङटाङ पुगेका थिए। उकालो चढिरहँदा धेरैको निधन भए पनि उनी भने बाँच्न सफल भए। तर कृष्णलाई बाँचे नबाँचेको कुनै महसुस नभएको उनको भनाइ छ। त्यतिबेला चार दिनसम्म रुखमा चढेर बाँचेका कृष्णलाई मनाङे टोलीले हेलिकप्टरबाट उद्धार गरी त्रिशुली अस्पताल पुर्याएको थियो। उपचारका लागि काठमाडौं ल्याइएका उनी थुप्रै अस्पताल पुगे, भ्यान्टिलेटरमा ५० दिन राख्दा पनि उनको होश आएन। सुत्दा सुत्दा शरीरमा घाउ भए, निको भए फेरि घाउ हुने क्रम जारी छ।
साढे तीन वर्षदेखि कृष्णलाई उनका बुबा लीलाले बालुवाटारस्थित नेशनल हेल्थकेयर इक्विपमेन्ट डेभलेपमेन्ट फाउन्डेसनमा राखेका छन्। अरू समस्या नआए महिनैपिच्छे नाकको पाइप फेर्नुपर्छ। बुबाछोरा दुवैलाई खान, बस्न र कृष्णलाई औषधि र फिजियोथेरापीको निशुल्क व्यवस्था फाउन्डेसनले गरिदिएको प्रबन्ध निर्देशक सम्राटसिंह बस्नेतले जानकारी दिए। तर लीलालाई भने विगत तीन वर्षमा भएको उपचार खर्च करिब ३२ लाख रुपैयाँ कसरी तिर्ने भन्ने पिरलो छ। लीला भन्छन्, ‘उपचारका लागि लिएको ऋण कसरी तिर्ने ? भएको पाखो पनि कसैले किन्ने खालको छैन। सरकारले भूकम्पपीडितलाई लागेको खर्च दियो रे हामीले अझै पाएनौं।’
शिवप्रसाद घिमिरेले सालो कृष्णको उपचारमा लागेको खर्चका लागि सयौंपटक स्वास्थ्य मन्त्रालय धाएको तर नपाएको दुःखेसो पोखे। उनले भने, ‘सरकारको राहत पनि पहुँच हुनेकै लागि रहेछ, जति धाए पनि हुँदैन भन्दैनन् तर पाएका छैनौं।’ मन्त्रालयबाट कृष्णलाई ५० हजार रुपैयाँ दिएको उनले बताए। हाल प्रवक्ता रहेका डा. विकास देवकोटाले गतवर्ष मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख हुँदा अन्नपूर्णसँग भनेका थिए, ‘प्रक्रियामा छौं, फाइल मन्त्रिपरिषद्मा पठाउने तयारीमा छौं’ भनेका थिए। फाउन्डेसनका बस्नेतले भने, ‘आजसम्मको फिजियोथेरापी र औषधिले सुधार पनि भएको छैन, जस्ताको तस्तै छ। उनका बुबालाई छोरो बाँच्छ भन्ने ठूलो आश छ, ऋण तिर्न नसकेकोमा निराशा छ।’