विद्युत् खपत घट्यो

विद्युत् खपत घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिरकणले चालु आर्थिक वर्ष विद्युत् महसुलबाट करिब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। गएका ८ महिना प्राधिकरणको लक्षित अनुमान सरह नै आम्दानी भए पनि फागुनयता कोभिड १९ को प्रकोप र लकडाउनका कारण महसुल संकलनको काम प्रभावित हुँदा अनुमानित राजस्व उठ्न नसक्ने कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्।

उद्योग, कलकारखाना र व्यापार व्यवसाय ठप्प हुँदा विद्युत् खपत पनि करिब २० प्रतिशतले घटेको छ। प्राधिकरणमा घरायसी प्रयोजनबाट करिब ३२ अर्ब रुपैयाँ, उद्योगबाट करिब ३२ अर्ब रुपैयाँ र बाँकी अन्यबाट विद्युत् महसुल भुक्तानी हुँदै आएको प्राधिकरणको तथ्यांक छ।

विद्युत् महसुलबापत प्राधिकरणले हरेक महिना करिब ६अर्ब रुपैयाँ संकलन हुने गर्दछ। तर कोरोनाका कारण र लकडाउन लागू भएपछि विद्युत् खपत पनि घटेको र महसुल संकलन पनि हुन सकिरहेको छैन। सामान्य समयभन्दा करिब २० प्रतिशतले विद्युत् खपत घटेको छ।

सामान्य समयमा दैनिक २० हजार मेगावाट आवर विद्युत् खपत हुने गरेकोमा अहिले दैनिक करिब १४, ५०० मेगावाट आवर मात्रै विद्युत् खपत भइरहेको छ। दैनिक करिब ६० लाख युनिट विद्युत् खपत घटिरहेको छ। यसलाई आधार मान्ने हो भने मासिक करिब २ अर्ब रुपैयाँ राजस्व संकलनमा असर पुगिरहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। प्राधिकरणको औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ छ।

यता, फागुन महिनाको विद्युत् महसुल पनि २० देखि ३० प्रतिशत उठ्न बाँकी नै रहेको र चैत्रदेखि यताको विद्युत् महसुल अनलाइनबाट उठाउने भने पनि आशातित नभएको घिसिङले बताए। सरकारले घोषणा गरेको विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने व्यवस्थाले पनि प्राधिकरणको आयलाई असर गर्ने घिसिङको भनाइ छ। १५० युनिटसम्म विद्युत् खपतमा २५ प्रतिशतसम्म छुटको व्यवस्था सरकारले गरेको छ। यसबाट करिब १ अर्ब रुपैयाँ घट्नेछ। तर, छुटबापतको हुन आउने रकम प्राधिकरणलाई सरकारले भुक्तानी गर्ने भनिएको छ। यस्तै, लकडाउन अवधिमा सक्रिय रहेका कर्मचारीलाई ५० प्रतिशतसम्मको भत्ता दिने व्यवस्था प्राधिकरणले गरेको छ, यस कारण पनि आम्दानीमा असर पुग्ने घिसिङले बताए।

प्राधिकरणले अहिले अनलाइन विद्युत् महसुल भुक्तानीका लागि भनिरहेको छ। हुन त नगदरहित भुक्तानी सेवालाई प्रोत्साहन गर्दै २ वर्ष अघिदेखि अनलाइन भुक्तानी गर्ने व्यवस्था सुरु गरेको हो। तर कुल भुक्तानीको १५ देखि २० प्रतिशत मात्रै अनलाइनबाट हुने गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। ८० प्रतिशत महसुल भुक्तानी संकलन केन्द्रबाट नै हुने गरेको छ। स्थिति सामान्य भएर लकडाउन खुलेपछि खपत भएको विद्युत्वापतको रकम ढिला चाँडो प्रणालीमा आउने र पुरानो लयमा विद्युत् माग पनि बढ्ने घिसिङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.