वर्षौंदेखि सास्ती दिने बोक्से

वर्षौंदेखि सास्ती दिने बोक्से

बागलुङ : जिल्लाको मुख्य सडक पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध बनेको छ। बागलुङ नगरपालिका-३ स्थित बोक्सेगैरामा मंगलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो। भौगोलिक हिसावले निकै जटिल तथा कमजोर भूबनोटका कारण समस्याग्रस्त बोक्से बुधबार विहानैदेखि पुनः अवरुद्ध भएको छ। 

लोकमार्ग अन्तर्गतको यस बोक्सेगैरामा वर्षौदेखि पहिरो खस्ने, सडक हिलाम्य हुने र गाडी फसिने समस्या छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा १ सय ४२ किलोमिटर दुरी पर्छ। जसमध्ये बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमी सडक बाहेक अरु ग्रामिण क्षेत्रमा पर्ने करिब सबै खण्डमा कालोपत्रे भइसकेको छ। यसका बारेमा दैनिकजसो यात्रुले सुधार र स्तोरन्नतिका लागि पहल र दबाब दिइरहे पनि केहि सुधार हुन सकेका छैन्। फलस्वरुप जिल्ला सदरमुकाम आसपासका नागरिकले मात्र होइन, दुर मानिएका ढोरपाटन, निसीखोला, तमानखोलाका साथै रुकुम पुग्ने नागरिकले पनि ठुलो सास्ती र सकस पाइरहेका छन्। 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लोकमार्गको बजार आसपासकै खण्ड अहिले सम्म अलपत्र रहनु दुर्भाग्यपूर्ण भएको तमानखोला गाउँपालिकाका जसमान बुढा बताउँछन्। ‘गाउँबाट बरु कालोपत्रे सडकमा आराम पूर्वक आउछौ, सदरमुकाम नजिकै आउने बेलामा हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य सडकको सास्ती बेहोनुर्पछ,’ उनले प्रश्‍न गरे ‘बोक्से गैराको पहिरो र हिलोमा गाडी फसेर हरेक मौसममा सास्ती खेप्नुपर्ने हाम्रो नियति भएको छ, सरकारको यस तर्फ किन ध्यान जाँदैन?'

बोक्सेमा सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा पनि घर नै पुरिने जोखिम छ। त्यसैले पहिरोको माटो अन्यत्र लगेर फाल्नुपर्ने स्थानीय गीता रेग्मीले बताउँछन्। ‘लोकमार्ग सञ्चालन नहोस् भन्ने हाम्रो चाहना हैन, तर पहिरोको दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक छ’ रेग्मीले भनिन् ‘लोकमार्ग पन्छाउने निहुँमा घर माथी माटो फाल्दा झनै समस्या भएको हो।’पहिरो पन्छाउदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामिण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको स्थानीयको आरोप छ। 

पहिरो खुलाउनका लागि दिनभर पहल र प्रयास जारी राखिए पनि लगातारको वर्षाले पहिरो नरोकिएको र स्थानीयको पहिरोको माटो फाल्ने कार्यमा अवरोधपछि समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। ‘हामीले आवश्यक औजार र प्राविधिक खटाएका छौं’, पहिरो पन्छाउदा सडक मुनिका बस्ती जोखिममा पर्ने गुनासो आएको छ’ थापाले भने ‘तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न त दुई तीन दिन लाग्ला।’ बोक्से सहित लोकमार्गको बाँकी खण्डको काम सम्पन्न गर्नका लागि निर्माण जिम्मा लिएको कम्पनीलाई अन्तिम अवसर दिएको उनले बताए। ‘यही असार मसान्त सम्म कालोपत्रे गर्छु भन्ने कबुल पछि हामीले म्याद थप गरेर काममा लगाएका थियौ,’ आयोजना प्रमुख थापाले भने, ‘दुर्भाग्य भन्नुपर्छ, यही बेलामा कोरोनाको ठुलो संकट आयो र सबै काम ठप्प भयो। अब लकडाउन अन्त्य भएकाले पुनः काममा फर्काएर यो समस्या जतिसक्दो छिटो हल गर्ने प्रयास गर्छौ।’

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.