गाईजात्रामा सुनसान बन्यो तानसेन
![गाईजात्रामा सुनसान बन्यो तानसेन](https://annapurnapost.prixacdn.net/media/albums/Palpa-Gaijatra-photo_20200804105118_SRHeqkFMJe.jpg)
तानसेन : गाईजात्राको रौनक पाल्पामा हराएको छ । सांस्कृतिक पर्वको रुपमा मनाइने गाईजात्रा कोभिड १९ संक्रमण जोखिमको कारण देखाउँदै स्थानीय प्रशासनले रोकिदिएपछि जात्रा प्रभावित भएको छ ।
केही व्यक्तिले जोखिम कायम हुँदाहुँदै पनि परम्परा संस्कृति जगेर्ना गर्ने उद्देश्यले तानसेनमा गाईजात्रा निकालेका छन् । निगुर्ण रामायण गाउँदै आफन्त इष्टमित्रसहित दिवंगत घरबाट गाईजात्रा निकाल्ने परम्परालाई परिवर्तन गर्दै घरपरिवारको सहभागितामा मात्र तानसेनमा केही परिवारले गाईजात्रा निकालेका छन् । नेवारी परम्परा संस्कृति जर्गेना गर्न सानो समूहमा गाईजात्रा निकालिएको स्थानीय भुगोल बैजुले बताए ।
सार्वजनिक सूचनामा तानसेनमा मनाइने जात्रा स्थगित गरिएको सूचनाले गाईजात्राको दिन भीडभाड हुने तानसेन सुनसान बनेको छ । नत तानसेनमा गाईजात्रा निकालिएको छ नत गाईजात्रा हेर्ने दर्शक नै तानसेन आएका छन् । सयौं वर्षदेखिको परम्परा यो वर्ष तानसेनमा तोडिएको छ ।
पाल्पामा नेवारी समुदायको सिको गरी अन्य जातजातीले गाईजात्रा निकाल्ने प्रचलन बढ्दै गएको थियो । अन्य समुदायबाट पनि केही व्यक्तिले मात्र जात्रा निकालेका छन्।
तानसेनमा नेवारी समुदायसँगै अन्य जाता/जातीहरुले समेत मृतक घरपरिवारबाट गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । नेवारी समुदायबाट निकालिने गाईजात्रा कोभिड १९ को सक्रमण जोखिमको कारण प्रभावित बनेका छन् तानसेनमा बिहानै देखी राती १० बजेसम्म विभिन्न किसिमका गाईजात्राका दृश्यहरु देखिँदै आएका थिए ।
पाल्पाको हार्थाक, ताहँ, आर्यभञ्ज्याङ्ग नेवारी बस्तीमा यस वर्ष गाईजात्रा निकालिएन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)