सप्तरीमा सईसहित ३८ प्रहरी संक्रमित
राजविराज : सप्तरीमा मङ्गलबार प्रहरी नायव निरीक्षक (सई) लाई कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत ४५ वर्षीय सईलाई कोरोना देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। उनी सिरहाको धनगढी नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
योसहित सप्तरीमा ३८ जना प्रहरी संक्रमित भएका छन्। प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत २९ जना र जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत ९ जना प्रहरी कोरोनाबाट संक्रमित भएको सप्तरी प्रहरीले जनाएको छ।
यसैगरी स्वास्थ्यकर्मी १५, सञ्चारकर्मी ३, न्यायाधीश, चिकित्सक, नर्स, सशस्त्र प्रहरी र अधिकारकर्मी १/१ जना संक्रमित भएका छन्। सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ८ सय ७ पुगेको छ। मङ्गलबारसम्म ६०५ जना निको भई घर फर्किएका छन्। कोरोना संक्रमण भएर ६ जनाको मृत्यु भएको छ।
राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेहिकल कलेजमा ८६ जना, तिलाठी कोइलाडी गाउँपालिका-२ स्थित पविमावि लौनियामा १७ जना, प्रदेश प्रहरी तालिम केन्द्रमा २२ जना, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना र होम आइसोलेशनमा ६६ जना गरी १९६ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !