कोरोना र मनोसामाजिक समस्या
घटना १ : भात खान नपाएपछि गर्भवतीद्वारा आत्महत्या : बर्दियाको गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरिन्। खेतीपाती र मजदुरीमा निर्भर गोडिया परिवारले दैनिक काम गरेर छाक जुटाउने गरेको थियो। लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन। ५ महिनाकी गर्भवती नीलमलाई भात खान मन लागेको तर चामल नभएकाले भात खान नपाएपछि आत्महत्या गरेको प्रारम्भिक सूचना प्रहरीले दिएकोे छ।
घटना २ : कोठाभाडा र पानीका निहुँमा घरभेटीले ज्यान लिए : राजधानीको कीर्तिपुर प्रेमलाल महर्जनले आफ्नै घरमा डेरा गरी बस्ने ४० वर्षीय शम्भु चौधरीको हत्या गरे। आर्थिक अभावका कारण केही समयदेखि कोठा भाडा तिर्न नसकेका शम्भुलाई पटक पटक भाडा तिर्न दबाब दिँदै आएका महर्जनले आफ्नो घरको पानी भर्न नदिने भनी गरेको विवादमा भाडावालको कुटेर हत्या गरेको बताइएको छ।
घटना ३ : एकाघरका तीनजना मृत भेटिए : भक्तपुरको सल्लाघारी निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारीले आफ्नै श्रीमती र १५ वर्षीय छोरालाई हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट अनुमानगरिएको छ। बेरोजगार बनेका सुदीपले बैङ्कबाट ल्याएको ऋण तिर्न नसकेपछि परिवारका सदस्यको हत्यापछि आत्महत्या गरेको हुनसक्ने बताइएको छ।
यिनै घटना घटेको समयका आसपासमा प्रधानमन्त्री ओलीले महामारीका कारण मानसिक समस्या बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी तथा मनोचिकित्सकसँग परामर्श गरी ‘बलियो आत्मबल’ सिर्जना गर्न सुझाव दिएको समाचार पनि सार्वजनिक भयो। राष्ट्रको प्रधानमन्त्रीले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई काम गर्न निर्देशन दिनु सकारात्मक हो। प्रधानमन्त्रीले त्यति चासो दिएर छलफल गरेपछि त्यसै दिनबाट मानसिक स्वास्थ्य सचेतना कार्यक्रम र नागरिकलाई मनोसामाजिक समस्याबाट मुक्त राख्न व्यावहारिक–प्रयोगात्मक कार्यक्रम आउनुपथ्र्याे तर सो विषय एक दिनको समाचारको हेडलाइनबाहेक केही बन्न सकेन।
बन्दाबन्दीका सुरुका दिनमा देशका विभिन्न भूभागमा राहत वितरणका लागि विभिन्न समूहहरूको सक्रियता बढ्यो। स्थानीय निकायले पनि राहतलाई प्राथमिकता दिँदा भूकम्पले राम्रो पाठ पढाएको महसुससमेत गरियो। यद्यपि बन्दाबन्दी सुरु हुनासाथ भोकमरी सिर्जना भइहाल्ने अवस्था थिएन। बाढीपहिरो, आगलागी, भूकम्प वा अन्य प्राकृतिक विपत्तिका कारणले धनजनको क्षति नभएकाले घरबाहिर आउन निषेध गर्नासाथ राहतलाई नै प्राथमिकता दिनुपर्ने अवस्था भने सिर्जना भएसकेको थिएन तर समस्या लामो समयसम्म लम्बिन सक्दैन भन्ने सोचका कारण विभिन्न निकायले आफ्नो उपस्थिति देखाउन राहत कार्यक्रमसहित तत्परता देखाए। बन्दाबन्दी र निषेधाज्ञा लम्बिँदै पाँच महिना पार गर्दानगर्दै दैनिक श्रम गरेर गुजारा गर्ने ठूलो समूह भोकभोकै पर्ने अवस्था सिर्जना भयो। दैनिक हातमुख जोर्ने बाटोसमेत बन्द हुँदा मानिस भोकले तड्पेर सडकमा निस्कने अवस्थासमेत आयो।
राज्यले स्वयंसेवक परिचालन गरी नागरिक बाँच्न आवश्यक पर्ने आधारभूत आवश्यकता पूरा गराउन सहयोग पुर्याउनु पहिलो र आधारभूत काम हो।
मानिसलाई महामारीको त्रासभन्दा जीविकाको चिन्ताले सताउन थाल्दा न स्थानीय निकायले सहयोगका कार्यक्रम ल्याउन सके न त सुरु सुरुमा राहतका नाममा सक्रिय देखिएका समूहको नै उपस्थिति देखियो। व्यक्तिगत सक्रियतामा केही मानिसले टुंडिखेललगायतका ठाउँमा अलपत्र परेर भोकै भएका मानिसलाई नि:शुल्क खानाको व्यवस्था भने गरिरहेका छन् तर राज्य एवं स्थानीय निकायको सक्रियता देख्न पाइएको छैन। अहिले न्यून आय भएका र दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने निरीह नागरिक आर्थिक अभावका कारणले चरम संकटको सामना गरिरहेका छन्। स्वदेश फर्कनुपर्ने समयमा मर्नुभन्दा बहुलाउनु निको भनी मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रबाट ज्यालामजदुरी गर्न पुन: हुलका हुल भारततिर प्रवेश गरिरहेका छन्। उनीहरू रहरले देश छोडेर बाहिरिएका होइनन,् गाउँघरमा जीवन धान्ने कुनै पनि उपाय नभएकाले ज्यान बचाउने आशामा कोरोनाको हटस्पट बनिरहेको भारतका विभिन्न सहरमा ज्यालामजदुरी गर्न हेलिएका हुन्।
अहिलेको अवस्थामा सम्पन्न र मध्यम वर्गभन्दा निम्नवर्गका नागरिक जीवनमरणको दोसाँधमा छन्। प्रधानमन्त्रीले भनेझैं मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्ने सन्देश प्रसारण गर्दा आधारभूत आवश्यकता पूरा गर्न सकेको समुदाय अवश्य लाभान्वित हुनेछ तर जुन समूह आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने अवस्थामा छैन त्यस समूहलाई जतिसुकै सकारात्मक सन्देश सुनाए पनि छुने छैन। माथि उल्लेख गरिएका प्रतिनिधि घटनामा आर्थिक अवस्था कमजोर भएकार आर्थिक समस्यामा परेका नागरिकको वास्तविक पीडा झल्किन्छ। ठूलो संख्यामा रहेको यस समूहका लागि आधारभूत आवश्यकता जुटाउनु पहिलो प्राथमिकताको विषय हो। उनीहरूको वास्तविकता नबुझी गरिने अन्य उपचारले उनीहरूले भोक निवारण हुन सक्ने छैन।
के गर्ने त ?
विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोनाको उपचार पद्धति पत्ता नलागुन्जेल यसले समग्र मानव समुदायलाई चिन्तित र त्रसित पार्ने छ। केही समयपछि महामारी साम्य भए पनि यसले पार्ने मानसिक असर झनै लामो समयसम्म रहनेछ। जसका कारणले समाजमा मानसिक रोगीको संख्या बढ्नेछ भने आत्महत्याजन्य घटना वृद्धि हुनेछ। उपचार पद्धति पत्ता नलागेको रोगसँग त्रसित बनेर आफ्नै शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नु रोगलाई झनै निम्ता गर्नु हो। यसैले सुरक्षा सावधानी अपनाई मनोबल उच्च पार्नु महामारीसँग लड्ने एकमात्र उपाय हो। सबै नागरिकलाई मनोवैज्ञानिक प्राथमिक उपचारको व्यवस्था गर्नु अहिलेको आवश्यकता देखिन्छ तर प्रधानमन्त्रीले मनोचिकित्सकसँग परामर्श गर्दैमा नागरिकले मानसिक स्वास्थ्य सुविधा प्राप्त गर्ने भन्ने हुन सक्दैन।
जटिल अवस्थामा पुगेका व्यक्तिलाई मनोचिकित्सककहाँ लैजाने तथा उपचार सेवा सुनिश्चित गर्ने प्रबन्ध मिलाउने काममा राज्यले अग्रसरता लिनुपर्छ। तर मनोचिकित्सकले रोगीलाई र जटिल अवस्थामा पुगेका व्यक्तिलाई मात्र उपचार दिनसक्ने वास्तविकता आत्मसात गरी विस्तारित जनसंख्यालाई प्रारम्भिक सुरक्षात्मक उपचारका विधि सिकाई मानसिक समस्यामा जानबाट बचाउनु आजको आवश्यकता हो। यसका लगि सामाजिक कार्यकर्ता परिचालन गरेर समुदायको मानसिक स्वास्थ्य सबल राख्न सकिन्छ। नेपालको वर्तमान सन्दर्भमा गाउँगाउँ र टोलटोलमा छरिएर रहेका शिक्षकशिक्षिकालाई मनोवैज्ञानिक प्राथमिक उपचार विधिको तालिम दिई खटाउन सकिन्छ।
विश्वभर अहिले समुदायस्तरमा तालिमप्राप्त सामाजिक कार्यकर्ताद्वारा समस्या पहिचान, मनोविद्द्वारा मनोपरामर्श तथा मनोचिकित्सकद्वारा उपचारको प्रबन्ध गरी यी तीन निकायको समन्वयमा मानसिक स्वास्थ्यसँग सम्बन्धित गतिविधि सञ्चालन गरिन्छन्। यसैले समुदाय स्तरमा मनोचिकित्सकलाई खटाउनुभन्दा आधारभूत आवश्यकतापूर्ति गर्न तथा समस्या पहिचान गर्न सामाजिक कार्यकर्ताको परिचालन अति आवश्यक हुन्छ। यसका लागि स्थानीय पालिकाले सामाजिक कार्यकर्ता र मनोविदको सुझावअनुसार राहत एवं परामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्छ। नीतिनिर्माण तथा तालिम सञ्चालनमा मन्त्रालय तथा स्वास्थ्य विभागको सक्रियता भए पनि वास्तविक फिल्डमा गएर मानिसलाई सुरक्षित गर्ने दिशामा सामाजिक कार्यकर्ताको भूमिका अपरिहार्य ठहर्छ। राज्यले स्वयंसेवक परिचालन गरी नागरिक बाँच्न आवश्यक पर्ने आधारभूत आवश्यकता पूरा गराउन सहयोग पुर्याउनु मानसिक स्वास्थ्यका लागि पहिलो र आधारभूत काम हो।