हराएका मोबाइल खोज्दै प्रहरी
बेंसीसहर : बेसीसहर नगरपालिकाका परामर्शदाता दुधप्रसाद घलेको एक महिनाअघि मोबाइल चोरी भयो । उनले प्रहरीमा जानकारी गराए तर, पाउने आशा भने मारे । बेसीसहरकै सुरज तामाङको डेढ वर्षअघि मोबाइल चोरी भयो । उनी पनि पाउछु कि भन्नेमा ढुक्क थिएनन् । तर, डेढ वर्षपछि प्रहरीको फोन आयो, 'तपाईको मोबाइल फेला पर्यो लि आउनुहोस् ।' विदेशमा श्रम बगाएर कमाएको पैसाले किनेको मोबाइल पाउँदा उनी खुसी भए।
बेसीशहरकै देउमाया गुरुङको पनि घरबाटै मोबाइल चोरी भयो । महिनौ पछि मोबाइल पाउँदा उनी पनि खुसी भइन् । ग्राहक आफैंले हराएका वा चोरी भएका ६६ थान मोबाइल खोजेर लमजुङ प्रहरीले ग्राहकलाई बुझाएको छ । पछिल्लो समय प्रहरीले खोजी गरेर फेला परेका मोबाइलमा ९० हजार मुल्यका आइफोन समेत रहेका छन् ।
हराएका मोबाइललाई प्रहरीले प्रविधिको प्रयोग गर्दै खोजी गरेको हो । करीब २ वर्षअघि हराएको मोबाइल समेत फेला पार्न सफल भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले साउनदेखि असोजसम्म प्रहरीले ६६ वटा मोबाइल फेला परेर मोबाइल धनीलाई बुझाएको बताए ।
३ महिनाको अवधिमा विभिन्न ब्राण्डका १२ लाख ५७ हजार ५ सय मुल्य बराबरको ६६ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको उनले बताए । मोबाइल हराएमा प्रहरीले खोजी गर्छ भन्ने सर्वसाधरणमा जानकारी नहुँदा निवेदन कम आउने गरेको डिएसपी थापाले बताए । हराएका मोबाइल खोजी अभियान नै चलाएर यति धेरै पत्ता लगाएको यो नै पहिलो भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !