विश्वास पूर्वाग्रहको मनोविज्ञान

विश्वास पूर्वाग्रहको मनोविज्ञान

विश्वास प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा गरिएको एउटा मनोविज्ञानिक प्रयोगको चर्चित कथा छ। धेरै वर्ष पहिलाको कुरा हो, संज्ञानात्मक मनोवैज्ञानिकको एक समूहले अनौठो एउटा प्रयोग गरे। प्रयोगको दौरान उनीहरूले पाँचवटा बाँदरलाई ठूलो पिँजडाभित्र राखे र पिँजडाका बीचमा एउटा सिँढी ठडाएर माथि केराको घारी झुन्ड्याइदिए।

मनोवैज्ञानिकले अनुमान गरेअनुसार नै एउटा बाँदरको नजर केरामा पर्‍यो। अनि ऊ बुरुक्क उफ्रिँदै सिँढी चढ्न थाल्यो। त्यसैबेला उक्त बाँदरलाई माथिबाट चिसो पानीको फोहोराले हानियो। शरीरमा चिसो पानी जोडले बज्रिएपछि बाँदर अत्तालिँदै तल झर्‍यो।

यो प्रयोग अगाडि बढ्यो। मनोवैज्ञानिकले केरा छोप्न गएको बाँदरको गल्तीको सजाय अरू बाँदरलाई पनि चिसो पानीको फोहोराले हानेर दिइयो। चिसो पानीले निथ्रुक्क रुझेका बाँदर थर्थरी काम्दै कुनामा कुक्रुक्क परेर बसे।

सिँढीमाथि केराको घारी छ।

निकै भोक लागेको छ।

बाँदर कतिबेरसम्म थुक निल्दै बस्न सक्थे र ?

केही समयपछि अर्को बाँदरले यताउता हेर्‍यो र केरा छोप्न सिँढीतिर दौडियो। माथिबाट चिसो पानीको फोहोराले हानियो। शरीरमा चिसो पानी जोडले बज्रिएपछि त्यो बाँदर पनि अत्तालिँदै तल झर्‍यो।

केरा छोप्न गएको बाँदरको यस गल्तीको सजाय पहिला झैं अरू बाँदरलाई पनि चिसो पानीको फोहोराले हानेर दिइयो। फेरि पनि बाँदर थर्थर काम्दै कुनामा कुक्रुक्क परेर बसे।

केही समयपछि तेस्रो बाँदर केरा छोप्न सिँढी के चढ्न थालेको थियो, पिँजडाभित्र आश्चर्यचकित घटना भयो, बाँकी बाँदर आत्तिँदै (यो माथि चढ्यो भने फेरि चिसो पानी रुझ्नुपर्छ भन्ने डरले) दौडिए र सिँढी चढ्न थालेको बाँदरका हातखुट्टा समातेर तल्तिर पछारे।

प्रयोगले नयाँ मोड लियो, मनोवैज्ञानिकले पिँजडाभित्र भएका बाँदरमध्ये एकलाई बाहिर निकाले र एक नयाँ बाँदरलाई भित्र हुले। नयाँ बाँदरलाई भित्रको नियम थाहा थिएन। अनि ऊ केरा छोप्न उफ्रिँदै सिढी चढ्न के लागेको थियो, अन्य बाँदर एकैसाथ ऊमाथि झम्टिए र उसलाई भुइँमा थेचारे।

नयाँ बाँदर आश्चर्यचकित थियो। उसलाई केही समझ आइरहेको थिएन। माथि केराको सिंगै घारी छ, तर यिनीहरूले न आफूले खाएका छन् न त उसलाई खाना दिएका छन्। पछि उसलाई लाग्यो, त्यो केरा सिर्फ देखाउनका लागि हो, खानाका लागि होइन। अनि त्यो बाँदर पनि अन्य बाँदरसँगै केरा हेरेर बस्न थाल्यो।

यसपछि मनोवैज्ञानिकले एक अर्को बाँदरलाई बाहिर निकाले र एक अर्को नयाँ बाँदरलाई पिँजडाभित्र हुले। उक्त नयाँ बाँदर पनि केरा छोप्न के दौडिएको थियो, बाँकी बाँदरले उसको रामधुलाइ गरे। अचम्मको कुरा के भने यस धुलाइमा यसअघि भित्र गएको नयाँ बाँदर पनि सामेल थियो जबकि उसको शरीरमा एक थोपा पनि चिसो पानी परेको थिएन।

प्रयोगको अन्त्यमा। सबै पुराना बाँदर पालैपालो बाहिर निकालियो र अब पिँजडाभित्र पाँच नयाँ बाँदर थिए, जसको जीउमाथि एक थोपा पनि चिसो पानी परेको थिएन। तर साह्रै अचम्मलाग्दो कुरा के भने ती नयाँ बाँदरको आचार–व्यवहार ठीक पुराना बाँदरको जस्तै थियो। एकअर्काले कसैलाई पनि केरा छोप्न दिँदैनथे। कुनै बाँदर झुक्किएर केरा छोप्न गयो भने सबै मिलेर भकुर्थे। बाँदरका मनमा यस्तो विश्वास पूर्वाग्रह गढेको थियो कि केरा छोप्नु भनेको खतरा निम्तत्याउनु हो। डरैडरले उनीहरू डरको उपदेशक बनेका थिए। नयाँले त्यही सिकिरहेका थिए।

विश्वास पूर्वाग्रहका कारण संसार बदल्छु भन्दै मुठी कसेर राजनीतिमा होमिएको इमानदार युवक कालान्तरमा भ्रष्टाचारको दलदलमा रमाउन पुग्छ।

हरेक मानिसका मनमा पनि यसरी नै विश्वासको सफ्टवेयर निर्माण हुन्छ, जसलाई विश्वास प्रणाली भनिन्छ। यस विश्वास प्रणाली निजको सोचविचार, शिक्षादीक्षा, व्यवहार तथा वातावरणले निर्माण गर्छ। मनोविज्ञान भन्छ– यस विश्वास प्रणालीले नै करिब–करिब मानिसको जीवन निर्धारण गर्छ। त्यो किनभने मानिसको हरेक निर्णय प्रक्रियामा विश्वास प्रणालीको ठूलो हात रहन्छ।

विश्वास प्रणालीका कारण नै मानिसले प्रायजसो गलत निर्णय गर्छन्, त्यो किनभने यस्ता निर्णय तर्क, तथ्य तथा प्रमाणमा भन्दा पनि विश्वास र परम्परामा आधारित हुन्छन्। यसलाई सज्ञानात्मक मनोविज्ञानमा विश्वास पूर्वाग्रह भनिन्छ। यो विश्वास पूर्वाग्रह हाम्रो पारिवारिक, सामाजिक तथा राजनीतिक व्यवस्थामा नियम भएर बसेको छ।

राजनीतिक पार्टीका आम कार्यकर्ताले आफ्नो पार्टीले गरेका हरेक निर्णय सही ठान्ने र अन्य पार्टीहरूले गरेका हरेक निर्णय, आफ्नो पार्टीले गरेको निर्णय भन्दा फरक छन् भने गलत ठान्ने प्रवृत्तिमा यही विश्वास पूर्वाग्रहले काम गरेको हुन्छ। नेपाली राजनीतिमा विश्वास पूर्वाग्रह यति चरम छ कि आफ्नो नेताले २ प्लस २ बराबर ५ हुन्छ भने भने पनि त्यसमाथि विश्वास गरी जबर्जस्ती प्रमाणित गर्ने प्रयास गरिन्छ।

समाजमा विभेदको जन्मदाता पनि यही विश्वास पूर्वाग्रह हो। भोलिपर्सि सुधार हुँदै जाला (केही सुधार पनि भएको छ।) तर अहिलेको अवस्थामा कसैले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि सामाजिक यथार्थ भिन्न छ। के कुनै बाहुनले खुसीका साथ दलितको छोरालाई छोरी दिन्छ ? के छोरालाई दलितको छोरी माग्न जान्छ ? छोराले दलितको छोरी भगाएर ल्यायो भने खुसी हुन्छ ? के छोराले ल्याएको दलितकी छोरीलाई घरभित्र पस्न दिन्छ ?

यो विश्वास पूर्वाग्रह बाहिर मात्र होइन, दलितभित्र पनि देखिन्छ। कामी पनि आफ्नो छोराका लागि दमाई वा सार्कीकी छोरी माग्न जाँदैन। सुनको पेसा गर्नेले आरन चलाउनेलाई त्यो कामी हो, म सुनार हँु, त्योभन्दा म ठूलो हुँ भन्ने सज्ञानात्मक पूर्वाग्रह अहिले पनि मनग्य छ।

मानिसमा विश्वासमा पूर्वाग्रह रातरात विकास हुने होइन, अधिकांश मानिसलाई आफूमा विश्वासको पूर्वाग्रह बढ्दै गएको छ भन्ने पत्तोसमेत हुँदैन। जस्तो कि मानिस पनि एकैपटक होइन, बाँदर झैं पालैपालो पिँजडाभित्र पस्छन्, पुरानाले जे सिकाउँछन्, त्यही सिक्छन् र जे सिकेका छन्, नयाँलाई त्यही सिकाउँछन्। यसरी नै हाम्रो घरपरिवार, समाज तथा राजनीति चलिरहेको छ।

नेपालको दलीय राजनीति त झन् काटीकुटी ठ्याक्कै यस्तै छ। त्यसैले संसार बदल्छु भन्दै मुठी कसेर राजनीतिमा होमिएको एक इमानदार युवक कालान्तरमा भ्रष्टाचारको दलदलमा रमाउनुको कारण पनि यही हो। त्यो किनभने पार्टीको उच्च पद र सत्तामा पुगेपछि उसले सिक्ने भनेको नै शासन गर्न पद र पावर चाहिन्छ, पुनः सत्तामा आउन पैसा चाहिन्छ भन्ने हो। पैसाका लागि भ्रष्टाचार गर्नु सत्ता राजनीतिको सामान्य नियम नै हो।

हिजोका युवा प्रचण्डलाई आज हेर्नुहोस्। हिजोका युवा शेरबहादुर, केपी शर्मा ओलि र माधव नेपाललाई मात्र होइन, अहिलेका युवा योगेश भट्टराई तथा घनश्याम भुसालहरूलाई आज हेर्नुहोस्। तस्बिर छर्लंगै छ।

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टीको पदाधिकारी भएपछि केके सिक्दै र केके गर्दैछन् भन्ने कुरा भनिरहनु नपर्ला। त्यसो त उनी एक्लैले गर्न सक्ने पनि होइन। त्यो किनभने पारिवारिक, सामाजिक तथा राजनीतिका यस्ता कुसंस्कार भत्काउन त्यति सजिलो छैन, जति सजिलो पहिला लाग्ने गर्छ। त्यसैले बेलाबेलामा राजनीतिका यस्ता कुसंस्कारको पर्खाल भत्काउँछु भन्दै गर्जिने कांग्रेसका अर्का युवा नेता गगन थापाले ठीक समयमा भावनात्मक समर्थता देखाउन सकेनन् भने आफैं भत्किएर देउवाहरूकै साइजमा नआउलान् भन्न सकिन्न।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.