भवन उद्घाटन गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद् विघटनको सूचना
दोलखा : काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस गरिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ नवनिर्मित भवन उद्घाटनमा व्यस्त छन्। विद्यालय भवन उद्घाटन समारोहमा सरिक भइरहेका बेला मन्त्री गुरुङलाई संसद विघटनको सूचना टेलिफोनमा प्राप्त भएको नेकपाका एक स्थानीय नेताले जानकारी दिए।
प्रधानमन्त्री ओलीले काठमाडौंमा संसद विघटन गर्न सिफारिस गरिरहेकै बेला सरकारका प्रवक्ता गुरुङ भने जन्मगाउँ काप्तीस्थित दिव्यश्वरी प्राथमिक विद्यालयको कार्यक्रममा सहभागी थिए।
शुक्रबार राती सदरमुकाम चरिकोट आइपुगेका सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङ मंगलबारमात्र राजधानी फिर्ता हुने कार्यतालिका रहेको छ । आइतबार नै सरकारका प्रवक्ता गुरुङद्वारा बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन गर्ने कार्यतालिका रहेको छ ।
तीन दिनदेखि दोलखामा रहेका सरकारका प्रवक्ता गुरुङ गृह स्थानीय तह गौरीशंकर गाउँपालिका, वडा कार्यालय लगायत स्थानीयले आयोजना गरेको भोजमा सहभागी बनिरहेका थिए।