प्रहरीको हत्या गरी तस्करी

प्रहरीको हत्या गरी तस्करी

धनगढी : केराउ तस्करी रोकेको भन्दै दुई प्रहरीको हत्या घटनाका मुख्य योजनाकार आरोपित शुकबहादुर भनिने अमर राना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडाका ३४ वर्षीय राना घटना भएकै दिनदेखि फरार थिए। कैलालीका प्रहरी उपरीक्षक अनुपशमशेर जबराले रानालाई धनगढी–१९ फूलबारी क्षेत्रबाट आइतबार बेलुका साढे ७ बजे नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीले सोमबार बिहान पत्रकार सम्मेलन गरी अभियुक्त रानालाई सार्वजनिक गरेको छ।

धनगढी–१० मा पर्ने नेपाल–भारत सीमानजिक कात्तिक १ गते राति १० बजेतिर गस्ती गएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको थियो। प्रहरीले तेस्रो मुलुकबाट ल्याइएका केराउ तस्करीमा कडाइ गर्दै आएको थियो। नेपालमा किलोको ६५ रुपैयाँ पर्ने केराउ भारतमा १ सयभन्दा पनि महँगोमा बेचिन थालेपछि तस्करी बढेको थियो। अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक विक र जवान साउदको तस्कर समूहसँग सीमानामै जम्काभेट भएको थियो। प्रहरीले बरामद केराउ नछाड्ने भन्दै चौकीतिर ल्याउन थालेपछि, रानाकै निर्देशनमा हत्या घटना भएको कैलाली प्रहरीले जनाएको छ।

यस्तो थियो हत्या योजना

रानाले १० क्विन्टल केराउ भारत तस्करीका लागि आफ्ना समूहका १०–१५ जनालाई कात्तिक १ गतेको बेलुकी भरियाका रूपमा बोलाए। त्यसअघि नै चौकी इन्चार्ज गोविन्द विकले तस्करीको सामान बरामद गर्न थालेका थिए। किनकि तेस्रो मुलुकबाट नेपालका लागि भनेर आयात गरिएको केराउ भारत निकासी गर्न पाइँदैन। केराउ तस्करीको समाचार आएका कारण पनि विकलाई तस्करी नियन्त्रण गर्न हाकिमहरूको निर्देशन थियो।

प्रहरीले तस्करीमा कडाइ गरेपछि रानाको समूह हैरान थियो। कात्तिक १ गते प्रहरीलाई ठोकेरै भए पनि सामान पास गराउने योजना रानाको घरमा बन्यो। राना केराउ किनेर भरिया लगाउँदै सीमापार पु¥याउने मुख्य अभियुक्त रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनी केराउ किन्न भारतीय व्यापारीको रकम ल्याउने र बीचको ‘मार्जिन’ बचाएर सामान पठाउने व्यक्ति हुन्। कात्तिक १ गते केराउ तस्करीमा उनकै गोरु र गोरुगाडा प्रयोग भएको पाइएको छ।

प्रहरीको हत्या प्रयोग गरिएको उनकै घरको फरुवा, कुटो बन्चरो, बगडी, दारु र लाठी बरामद भएको छ। त्यसदिन उनको समूह पहिला सीमा क्षेत्रमा गस्ती छ/छैन भनेर रेकी गर्न गएको थियो। त्यहाँ प्रहरी देखिएन। अनि रानाको घरबाट केराउ बोकेको गोरुगाडा सीमातिर लाग्यो।

सीमामा पुग्नेबित्तिकै लुकेर बसेका विक र साउदले केराउको गाडा नियन्त्रणमा लिइहाले। तस्करीमा संलग्नहरूले छाडिदिन आग्रह गरे तर प्रहरीले मानेन। केराउ बोकेको गाडा चौकीतिर ल्याउन सुरु गर्नेबित्तिकै प्रहरीमाथि घरेलु हतियारले आक्रमण भयो। घटनास्थलबाट भागेका विक र साउदलाई दुई समूहले लखेटी–लखेटी हत्या गरेका थिए। उनीहरू मारिएपछि केराउ भारत पुग्यो। राना फेरि नेपालतिरको सीमानामा आए। उनको समूहका अरू व्यक्तिले शवहरू मोहना नदीमा गाडिसकेका थिए। थप प्रमाण नष्ट गर्ने काम भयो।

त्यसपछि रानाकै घरमा फर्केका उनीहरूबीच यो कुरा कसैले कसैलाई नभन्ने र नभाग्ने निर्णय भयो। तर, राना एकाबिहानै भागेका थिए। यसअघि प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान सकेको छ। उनीहरू पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा छन्। रानासहित नौ जनालाई मुलुकी फौजदारी संहिताको दफा ४१ (क) बमोजिम आजीवन कारावासको सजाय माग गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.