अभिमुखीकरण प्रभावकारी नहुँदा कामदार समस्यामा
काठमाडौं : वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व अभिमुखीकरण गर्ने प्रावधान भए पनि प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगारीमा कार्यरत कामदार समस्यामा पर्दै आएका छन् ।
कामदार विदेश जाँदा सम्बन्धित देशको रहन, सहन, संस्कृति, मौसम, लगायत विविध विषयमा अभिमुखीकरण दिइन्छ तर कामदारले सामान्य कुरा पनि जानकारी नराख्दा समस्यामा पर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा मृत्यु हुने क्रम बढेको छ । सामान्य विषयमा पनि ध्यान दिन नसक्दा दुर्घटनामा पर्ने, तापक्रममा तालमेल नहुँदा सुतेको सुत्यै मृत्यु हुने गरेको छ ।
बोर्डले अभिमुखीकरणलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन तयारी गरेको छ । परिमार्जित पाठ्यक्रममा कार्यस्थल दुर्घटना, शारिरिक तथा मानसिक तनाव व्यवस्थापन देखि देशगत म्यानुअल तयार गरेर शारीरिक क्षति कम र अधिकतम आर्थिक लाभको निति लिइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
गन्तव्य मुलुकको आवश्यकता र नेपालमा प्रदान गरिने तालिमबीच तालमेल हुन नसक्दा कामदारले क्षति बोहोरिरहेका छन् । अभिमुखीकरण प्रभावकारी बनाउन सके दुर्घटना न्यूनिकरण गर्न सकिने, परिश्रम अनुसारको तलव पाउन पनि सहज हुने लगायतका फाइदा हुन्छ ।
हाम्रो सम्मान परियोजनाको संयोजनमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता’ भर्चुअल कार्यक्रममा बोल्ने वक्ताहरुले अभियमुखीकरणलाई प्रभावकारी बनाउन आवश्यक भइसकेको बताए ।
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले प्रस्थानपूर्वको तालिमलाई प्रभावकारी बनाउन नियमन निकायहरुका तर्फबाट काम हुननसकेको बताए ।
तालिममा कामदारको अनिवार्य उपस्थिती गराउने प्रावधान ल्याएपनि त्यसको सही रुपमा कार्यान्वयन नभएको उनले स्वीकार गरे ।
अध्यक्ष गौतमले वैदेशिक रोजगार प्रवर्धन बोर्डले पाठ्यक्रम सुधार गरेर समय सापेक्ष गराउने बताए पनि महासंघ सहित सरोकारवालासंग प्रयाप्त छलफल नगरेको गुनासो गरे ।
वैदेशिक रोजगार ऐन, नियमावली, कार्यविधि र पाठ्यक्रममा धेरै समस्या भएपनि त्यसलाई संवोधन गर्न राज्यका निकायकाबाट चासो नदेखाएको उनले बताए ।
बोर्डले बनाएको कार्यविधिमा तालिमकेन्द्र सार्न नपाइने व्यवस्थाले समस्या ल्याउने महासंघले जनाएको छ । ‘अधिकांश अभिमुखीकरण तालिम प्रदायक सस्थाको आफ्नो घर छैन, घरधनीले हट्न भने पछि व्यवसायीलाई कार्यालय सार्नुको विकल्प छैन तर बोर्डले त्यस्ता अव्यवहारिक प्रावधान हटाउन चहँदैन । जसका कारण व्यवसायहिरुले समस्या झेलिरहनु परिरहेको छ’, उनले भने ।
कार्यविधिमा एउटा कक्षमा २५ जना राखेर प्रशिक्षण दिनुपर्ने व्यवस्था रहेपनि सात सयमात्र शुल्कले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा अंगभंग, औषधोउपचारको क्षतिपूर्ति र सहयोगका लागि आउने निवदेनकमा उल्लेखित कारणले प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको वैदेशिक रोजगार ऐनले अपेक्षा गरेका प्रभावकारी नदेखिएको बताए ।
बोर्डले सबै पक्षसँग छलफल गरेर कार्यविधि सुधार गरेको र बोर्ड बैठकले पनि त्यसलाई अनुमोदन गरिसकेको उनले जानकारी गराए । उक्त कार्याविधि आउने महिनाबाट कार्यान्वयनमा ल्याई प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता ल्याउने उनले प्रतिवद्धता जनाए ।