‘नेकपा नातावादी पार्टी होइन’

‘नेकपा नातावादी पार्टी होइन’

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा छोरीबुहारी र भाइभतिजाको पार्टी नभएको बताएका छन्। आफू अध्यक्ष रहेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो पार्टी जनताको भएको बताएका हुन्।

नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसलाई छोरीहरूको मतलब छ, जसलाई बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरूको पार्टी हो ? यो पार्टी सम्धीवाला पार्टी होइन। यो पार्टी छोरीबुहारीवाला पार्टी होइन। यो पार्टी भाइभतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरूको पार्टी हो। देश बनाउने पार्टी हो। जनताको पार्टी हो। त्यसकारण उहाँहरूले गफ नदिए हुन्छ।’

ओलीले दाहाल र माधवकुमार नेपालको मन परिवर्तन हुनुपर्ने बताए। ‘उहाँहरूको मन परिवर्तन हुनुप¥यो। उहाँहरूले आँखा आफन्ततिर होइन, देशतिर लाउनुस्’, उनले भने, ‘उहाँहरूका आँखा कमाउनेतिर होइन, देश विकासतिर लाउनुस्। अनि पो उहाँहरू गिन्तीमा पर्नुहुन्छ।’

उनले आफूले कुनै पनि आफन्तलाई आफन्त भएकै कारण टपक्क टिपेको उदाहरण देखाउन चुनौती दिए। ‘मेरा पनि आफन्त छन्। भाइ, भतिजा, छोरी, बुहारी होलान् तर एक जना देखाइदिनुस्’, उनले भने, ‘त्यसैले म भन्छु मेरोजस्तै जनताका सामुन्ने उभिएर यस्तो चुनौती सक्ने हुनुस्।’

उनले दाहाल–नेपाल समूह चोइटिएर गएको बताए। ‘पिलो निचोरिएर गए शरीरको वजन घट्दैन। उहाँहरू जानु भनेको पिलो निचोरिएको हो’, उनले भने, ‘नुहाउँदा पनि त दुई–चार कपाल झर्छन्। त्यसले शरीरलाई कुनै फरक पार्दैन।’

दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेको दाबी गरिरहेका बेला ओलीले भने, ‘३ करोडमा कति जना गए रे ? २६४ जना, तीन करोडबाट २६४ जना जाँदैमा के फरक पर्छ ?’, उनले भने, ‘सक्नुहुन्छ भने अबको चुनावमा दुई अंकको सिट सितेर देखाउनुस्। मैले चुनौती दिँदै आएको छु, ताजा जनादेशमा तपाईंको हैसियत के छ ? अनि थाहा हुन्छ।’
उनले काम लाग्छ कि भनेर दाहाललाई पार्टीमा ल्याएको तर डल्लाका डल्ला साबुन सकिँदा र ड्रमका ड्रम पानी सकिँदा पनि काम नलागेको बताए। ‘मैले प्रचण्ड काम लाग्लान् भनेर पार्टीमा ल्याएँ तर के काम लाग्नु !’, उनले भने, ‘अरू कसैको इसारामा लाग्नेहरूले देशका लागि काम गर्न सक्दैनन्।’

उनले भावुक हुँदै भने, ‘जब म उपचारका लागि थाइल्यान्ड गएको थिएँ, त्यतिबेला धेरैले भने अब बाकसमा आउँछ तर म बाँचेर आएँ। दोस्रो पटक मैले काठमाडौंमै उपचार गराएँ। त्यतिबेला पनि हप्ता–१० दिनमा मरिहाल्छ भन्नेहरू धेरै थिए। तर, मलाई यो जीवन प्राप्त भएको छ, यो नाफाको जीवन हो। मेरो यो बाँकी जीवन पुरै देश र जनताका लागि हो।’
उनले दाहाल–नेपाल समूहका नेता भीम रावललाई आफूले राजनीति सिकाएको बताए। ‘म जलेमा थिएँ, प्रहरीले एउटा अछामको केटो सडकबाट टिपेर जेलमा ल्यायो’, उनले भने, ‘र, अनि मैले राजनीति सिकाएँ। अहिले उनकै ठूलो चुरीफुरी छ। भन्छन् नि, नानाभन्दा नानी ठूलो !’


उनले रावल सुदूरपश्चिमको विकासका लागि जहिले पनि बाधक रहेको आरोप लगाए। ‘आफू मन्त्री नहँुदा यत्रो हंगामा गर्ने व्यक्तिले नेपालको इतिहासमा सुदूरपश्चिमबाट चार–चार जना मन्त्री भएका छन् अनि अहिले बधाई दिनु पर्दैन, खुसी हुनु पर्दैन ?’, उनले प्रश्न गरे। उनले वैज्ञानिक वन व्यवस्थापनका नाममा तराईको सालको वन बेचेर सपना पूरा गर्न नपाएपछि रावल विरोधमा उत्रिएको दाबी गरे। ‘कसैको तराईको वन मासेर रातारात धनी हुने सपना मैले पूरा हुन दिइनँ’, उनले भने, ‘मैले वन जोगाउनका लागि कडा कदम चालेँ। त्यसकै विरोध, 
यस्तो नि हुन्छ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्ने बेला इतिहासमै नभएको एकताबद्ध गर्न आफू सफल भएको उनको भनाइ थियो। ‘१४६ वर्षसम हामीले भोगचलन गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेर संविधान परिवर्तन गर्न देश नै एकताबद्ध भयो। तर, अहिले त्यो नक्सा परिवर्तनले सुदूरपश्चिमका कसैको टाउको दुखेको छ’, उनले भने। नेता रावलले केही दिनअघि उक्त नक्सा ओलीले स्थायी कमिटीको निर्देशनमा मात्रै जारी गरेको बताएका थिए।

प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्नेहरूलाई ओलीले संविधान पढ्न आग्रह गरे। उनले भने, ‘जसले प्रतिनिधिसभा ब्युँतिने सपना देखेका छन्, उनीहरूलाई के भन्न चाहन्छु भने प्रतिनिधिसभा पक्कै पनि ब्युँतिन्छ तर वैशाख १७ र २७ गतेको निर्वाचनपछि मात्रै !’ उनले सुदूरपश्चिमको सपनाका रूपमा रहेका पश्चिम सेती र पञ्चेश्वरका लागि पनि प्रक्रिया अगाडि बढाइने बताए। ‘परराष्ट्रमन्त्री जनवरी १४ मा भारतमा जाँदै हुनुहुन्छ। उहाँको भ्रमणमा पञ्चेश्वरको कुरा हुन्छ, कालापानी, लिम्पियाधुरा र लिपुलेकको कुरा हुन्छ’, ओलीले भने।

कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री नरेन्द्रसिंह ठगुन्ना, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीलगायतले सम्बोधन गरेका थिए। प्रधानमन्त्री शुक्रबार नै संघीय राजधानी काठमाडौं फर्किएका थिए।

स्वागतमा गएनन् प्रदेशका मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता देखिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि धनगढी विमानस्थल नगएका हुन्। यी पाँचै जना दाहाल–नेपाल पक्षमा खुलेका छन्। प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरू विमानस्थल गएनन्।

संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी धनगढी विमानस्थल पुगेका थिए। प्रदेश सरकारमा ओली पक्षका मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ। आर्थिक मामिलामन्त्रीले राजीनामा दिएका छन्।

वनमन्त्री मगरले मुख्यमन्त्रीसहितका मन्त्रीमा नेपाली संस्कार नभएको बताए। ‘देशको प्रधानमन्त्री आएका बेला प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू स्वागतका लागि जाँदैनन् भने के को संस्कार भन्ने ?’, उनले भने, ‘अहिले पक्ष–विपक्ष जे भए पनि पार्टी विभाजन नभएको र देशका प्रधानमन्त्रीका लागि प्रदेश सरकारले गरेको यो अपमान हो।’

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी नआएकाले स्वागतमा नगएको बताए। ‘यो आफ्नो गुटको भेला हो, अर्को गुटकालाई किन भन्ने भनेर प्रधानमन्त्रीको सचिवालयले खबर नगरेको होला’, उनले भने, त्यसैले गएनौं।’ प्रदेश सरकारका मुख्यसचिव, सचिवहरूलाई लिखितै जानकारी भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भने केही जानकारी नआएको प्रतिक्रिया उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.