चप्लेवा
आफूभन्दा अघिअघि हिँडेका
पुगिन्छ कुनै महान् तपस्वीझैं
भीरबाट खसेका पानीका थोपासँग
अलिकति आफू पनि बग्दै
रूखका हाँगाहरूमा झुन्डिएका
लहराहरू जसरी
अलिकति अल्झाउँदै आफूलाई
बाटाभरि... भरि... छरिएका
काँडाहरूको माझमा लुकेको कटुसभित्र
हराएको आफूलाई अलिकति खोज्दै
पुगिन्छ आदिवासी अनुहारजस्तो
अनकन्टार गाउँ ।
बूढो झोलुंगे पुलका थरथरी कामिरहेका
कमजोर हातहरूले
बेस्कन पक्डेर बतासको काँध
समात्दै तुवाँलोको हत्केला
पुगिन्छ समयको लौरो टेकेर
कहीँकतै जान अलमल गरिरहेको
एउटा वृद्ध गाउँ !
आफूसँगसँगै हिँडिरहेको
आफ्नै छायाँलाई बनाएर
सबैभन्दा प्रिय साथी
अँगाल्दै उसैको मनलाई
पुगिन्छ असंख्य रूखहरूको माझमा
पलेंटी मारेर बसिरहेको
दन्त्यकथाजस्तो निर्जन गाउँ ।
छन् अझै अरू बाटाहरू पनि
सकेसम्म, तर नजानू
त्यहाँ कोही बिथोल्नलाई
युगौंदेखिको उसको अनवरत तपस्या
बिना कुनै सर्त कसैगरी
जानु नै छ यदि तिमीलाई भने
बताइदिन्छु सबैभन्दा कठिन
तर सुन्दर बाटो हावाको नदीमा
डुब्दै–उत्रँदै, डुब्दै–उत्रँदै गरिरहेका
मसिना धर्काहरूले बनेको बाटोलाई
टिपेर त्यहाँबाट
अक्षर र आवाजहरूको सियोधागोले
सिलाउँदै सिलाउँदै
पुगिन्छ अहिलेसम्म कसैको
आँखाका हातहरूले समेत नछोएको
पवित्र युवती गाउँ चप्लेवा !
(चप्लेवा– संखुवासभा जिल्लाको उत्तरी भेगमा पर्ने एउटा दुर्गम गाउँ) ।