राजु सिंहलाई दीर्घ साधना सम्मान

काठमाडौं : विमेन्स एरा एन्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’ शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान तथा पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रंग पत्रकारिता सम्मान प्रदान गरियो।
अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतीक, निर्देशक राजु गिरी, राष्ट्रसेवक कर्मचारी सुशीला ढकाल, नृत्य निर्देशक सुनिता बस्नेतलाई पनि सम्मान गरियो। त्यस्तै कीर्तिमानी सम्मानबाट निर्देशक माधवराज खरेल, कमलाकुमारी जोशी, पूर्णबहादुर राईलार्ई सम्मान गरियो।
अवार्ड समारोहमा विभिन्न विधामा सर्वोत्कृष्ट हुनेले अवार्ड पाए। जसमा आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी), सर्वोत्कृष्ट गायक शिव परियार (आँसुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डीआर उपाध्याय (छोरी बिदाइ आफ्नै छातीबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आएँ म त तिम्रो सहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकार जनक रावल (भुल्यौ कि मायाले गोठालोमा गएको मेलापात धाएको) ले अवार्ड पाए।
त्यस्तै, सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली), जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ) लाई अवार्ड प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
