घर किन्दै सोनाक्षी

मुम्बई : आफ्नै घर जो कोहीको पनि सपना हुन्छ। राम्रो कमाइ हुँदै गएपछि बलिउडका कलाकारहरू आफ्नै घरमा धमाधम ‘सेटल’ भइरहेका छन्।
गत वर्ष बलिउडका कलाकार रणवीर कपुर, आलिया भट्ट, जाह्न्वी कपुरलगायतले मुम्बईमा घर किनेका थिए। अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि थपिएकी छिन्। घर किनेपछि उनले आफूले सानैदेखि देखेको सपना पूरा गरेको प्रतिक्रिया दिएकी छिन्।
सोनाक्षीले मुम्बईको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी हुन्। सोनाक्षीले भनिन्, ‘जब म बलिउडमा काम गर्न सुरु गरेँ, मेरो एक सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ। ३० वर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो। सोचेअनुसार त गर्न सकिएन तर आज आएर आफ्नो सपना भने पूरा गरेकी छु।’ सोनाक्षीले नयाँ घर किने पनि आफूले तत्काल अभिभावकको साथ भने नछाड्ने बताएकी छिन्। उनले भनिन्– ‘तत्काल नयाँ घरमा सर्ने कुनै योजना छैन।’ उनले घरको डिजाइनसमेत गरिसकेकी छन्।
प्रतिक्रिया दिनुहोस !
