‘मुई कइका मुख हेरिबरे भितर झाउँ’

‘मुई कइका मुख हेरिबरे भितर झाउँ’

चडेपानी (बैतडी) : घरको ढोका बन्द थियो। आँगनमा भने चहलपहल थियो। आँगनको एक छेउमा सेतो पहिरनमा थिइन्, द्रोपती भट्ट। त्यहाँ भेला भएका मानिसबीच द्रोपती भक्कानिँदै भनिरहेकी थिइन्, ‘तई झट्ट घर आ भण्या, मुई कईका मुख हेरिबरे भीतर झाउँ ?’ अर्थात् ‘तँ छिटो घर आइज, म कसको अनुहार हेरेर भित्र जाऊँ ?’ द्रोपतीलाई छोरी भागरथी आउने आशा अझै थियो कि !

घरभित्र रहेका भागरथीका सामान आफन्तको माथिल्लो घरमा सारिएका छन्। ‘भित्र जाने, उसको लुगा समातेर रुने, उसको पर्समा फोटो हेरेर कराउने, उसको काइँयो र प्रयोग गर्ने सामान भेट्यो कि रोइहाल्ने भएकाले सामान सारिएको छ’, भागरथीका काका शिवराज भट्टले भने।

माघ २१ गते बिहान द्रोपतीलाई घरधन्दामा सघाएकी भागरथी अब कहिल्यै नफर्किने भएकी छन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा भागरथी मृत भेटिएकी थिइन्। उनको शव माघ २३ गतेदेखि जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ।

मधुमेहबाट पीडित उनका बुवा ५० वर्षीय कृष्णानन्द भट्टको पुस ७ गते धनगढीको सारथि अस्पतालमा निधन भएको थियो। स्थानीय संस्कारअनुसार द्रोपतीले १३ दिन पतिको किरिया गरिन्। उनले सेतो लुगा पहिरिएकी छन्। त्यो दिन बिहान गोठपात (वस्तुभाउको गोठको काम) गर्दा गर्दै ढिलो भयो।

‘विद्यालय जानुअघि खाना बनाउँथेँ। तर, त्यो दिन ढिलो भयो भनेर बासी रोटी खाएर स्कुल गई। एक चुल्ठी बाटिरहेकी थिई। मलाई मम्मी अर्को तँ बाँटी दे भनी, हतार भएकाले होला, सधैँ दुई चुल्ठी बाटेर मात्र हो स्कुल जाने’ भक्कानिँदै द्रोपतीले भनिन्, ‘मेरी छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ।’

भागरथी शारीरिक रूपमा सुन्दर थिइन्। पढाइमा उस्तै अब्बल। माघ २१ गते ८ बजेतिर घरबाट हिँडेकी भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित लवलेक सामुदायिक वनमा हत्या भएको थियो। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।
‘बहिनी मभन्दा पढ्नमा पनि अब्बल थिई। उसले पढ्छु भनेपछि म भारत हिँडेँ’, केशवले भने, ‘अझ आमाको पनि उत्तिकै ख्याल राख्थ्यो। त्यसैले किरियामा रहेकी आमालाई भागरथीको जिम्मा छाडेर भारत हिँडेको हुँ।’ उनी बहिनीको घटना थाहा पाएर माघ २४ गते घर फर्किएका हुन्।

उनले, घरमा बुवाको मृत्यु भइसकेको र आफू पनि भारतमा रहेकाले कुनै पापीले यसको कोही छैन भनेर यस्तो कुकृत्य गरेको हुन सक्ने अनुमान गरे। ‘चिनेजानेका मानिसका लागि मायालु थियो। कसैसँग बिराएर नबोल्ने’, उनले भने, ‘म घरपरिवारको केयर गर्छ भनेर ढुक्क थिएँ। तर, अकल्पनीय घटना भयो।’

 बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित भागरथी भट्टको दैलो बन्द भएको घर।

भागरथीको हत्यापछि परिवारलाई सान्त्वना दिन मावलतिरकी बज्यै नारुदेवी चडेपानी आएकी छन्। ‘तेरो अनुहार पटक–पटक सम्झना आइरहेको छ, एकै पटक आइजा’, उनले बिलौना गरिन्। भागरथी ती बज्यैलाई असाध्यै माया गर्थिन्।

चडेपानी गाउँमा अहिले सन्नाटा छ। गाउँभरिका मानिस द्रोपतीलाई भेट्न आइरहन्छन्। अधिकारकर्मी, जनप्रतिनिधि र प्रशासनिक व्यक्तिहरूको त चडेपानीमा बाक्लो आवतजावत छ। ‘हत्यारा कुनै पनि दल वा गाउँ वा समुदायको भए पनि उम्कनुहुन्न। हामीले यसमा खबरदारी गरिरहेका छौं’, सोही क्षेत्रका प्रदेश सभा सदस्य लीलाधर भट्टले भने, ‘अकल्पनीय र निन्दनीय घटना भएको छ। अहिले चडेपानी चुप्प छ। त्यो भनेको अनुसन्धानमा सहज होस् भनेर मात्रै हो, १० दिनसम्म पनि हत्यारा पत्ता लागेको छैन, स्थानीयको धैर्यलाई कसैले कमजोरी नठानोस्।’

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले अपराधीको कुनै जात नहुने भएकाले ढुक्क भएर अनुसन्धान गर्न आग्रह गरेको बताए। गाउँपालिकाले घटनामा दुःख व्यक्त गरेको र प्रदेश तथा संघीय सरकारलाई पीडित परिवारलाई राहतका लागि आग्रह गरिएको अध्यक्ष कार्कीले बताए।

अलमलमै प्रहरी
घटना १० दिन पुगे पनि प्रहरीले अनुसन्धान गरेको ८ दिन भएको छ। प्रहरीले माघ २२ गते रातिदेखि मात्रै अनुसन्धान गरेको हो। तर, अहिलेसम्म प्रहरी अलमलमै देखिन्छ। जघन्य अपराध भएकाले देशको चासो हत्यारा पत्ता लाग्यो वा लागेन भन्नेमा छ तर प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी ६ दिनदेखि खोचलेक प्रहरी चौकीमा बसेका छन्। ‘भागरथीका हत्यारा पत्ता नलगाउँदासम्म म फर्किन्नँ’, डीआईजी सुवेदीले भने।

सुवेदीले अनुसन्धान धेरै साँघुरिएको दाबी गरे। ‘फराकिलो घेराबाट हामी साँघुरो घेरामा आएका छौं। यो अनुसन्धान हो। हेर्नुस्, यसमा कति दिन भनेर त म भन्न सक्दिनँ तर भागरथीका हत्यारा पत्ता लाग्छन्’, उनले भने, ‘हामीलाई अहिलेसम्म केही सकारात्मक संकेत पनि आएका छन्।’

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा छ। ‘निर्मला घटनामा धेरै त्रुटि थिए, त्यो हाम्रा लागि सिकाइ पनि रह्यो, त्यही सिकाइबाट हामीले भागरथीको घटनामा अब्बल अनुसन्धान गरेका छौं। प्रदेशभरिका अनुसन्धानविज्ञ यस घटनामा खटिएका छन्, सीआईबीको प्राविधिक टोली पनि यतै छ। त्यसैले दोषी पत्ता लाग्छ’, डीआईजी सुवेदीले भने।
 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.