विकासका नाममा चौतारा भत्काउँदै स्थानीय सरकार !
गोरखा : परोपकारको पर्याय हो चौतारा। चौतारा लगाउनेलाई अपार पुण्य मिल्ने जनविश्वास छ। कसलै परोपकारी काम गरे भने ‘चौतारा लगाए जत्तिकै पुण्य भयो’ भन्ने आहान समाजमा प्रचलित छ।
तर अहिलेका प्रदेश तथा स्थानीय सरकारले विकासका नाममा धमाधम प्राचिन चौतारा तथा बगैँचा फाँड्दैछन्। भीमसेन थापा गाउँपालिका–४ मा हालसालै दुईवटा चौतारो डोजर लगाएर फाँलिएको छ।
सडक निर्माण गर्न चौतारा फालिएको वडाअध्यक्ष मदन शाक्य तर्क गर्छन्। ‘धावा देउराली भञ्ज्याङको र बड्डाँडाको चौतारामा डोजर लगाएर फालेको हो’, शाक्य भन्छन्, ‘विकास गर्न विनाश गर्नै पर्ने रहेछ। कि विकास नगर्नु पर्यो।’
प्रदेश सरकारको बजेटबाट आठ मिटर सडक निर्माण गर्न दायाँबायाँका संरचना हटाउनै पर्ने भएकाले चौतारा मासेको उनको दाबी छ।
यता, स्थानीय राम लामिछाने भने चौतारा नफाले पनि हुने विकल्प हुँदाहुँदै दाउरा बेच्न र सार्वजनिक जग्गा हडप्न चौतारा मासिएको दाबी गर्छन्। ‘छलेर लाने विकल्प हुँदाहुँदै चौतारा मासेका हुन्’, उनी भन्छन्, ‘जहाँ चौतारो छ, त्यहीँ बाटो भएर सडक बनाउनु पर्ने, फेरि चौतारा भएको ठाउँमा आठ मिटर बनाउनु पर्ने, अन्यत्र छ मिटर भए पनि हुने, कस्तो नीति हो ?’ स्थानीय सरकाले धार्मिक, सांस्कृतिक सम्पदामा नियतवश आक्रमण गरेको उनको तर्क छ।
जुन बगैँचाको नामबाट ‘झगरेको बगैँचा’ भनेर ठाउँकै नाम राखियो, त्यही बगैँचा पालुङ्टार नगरपालिका–९ ले हालसालै समूल नष्ट गरेको छ। करिब दुईसय वर्ष पुरानो मानिने सो बगैँचामा लगाइएका दर्जनौँ आँपका रुख वडा कार्यालयले ढालेर इँटा भट्टालाई काठ बेचेको छ। साथै बगैँचामा रहेको मन्दिर पनि भत्काएको छ।

प्राचीन बगैँचा मासेर बहुउद्देश्यीय सभाहल निर्माण गर्न लागिएको वडाअध्यक्ष भेजराज पाण्डे बताउँछन्। ‘बहुउद्देश्यीय सभाहल निर्माणका लागि ३५ लाखको टेण्डर आह्वान भइसकेको छ’, पाण्डे भन्छन्, ‘जीर्ण रुख राखेर पनि काम छैन। बरु हामी त्यहाँ कम्पाउण्डिङ गरेर वृक्षारोपण पनि गर्छौँ।’ विभिन्न जातको रुख रोप्नका लागि वन कार्यालयसँग समन्वय पनि भइरहेको उनले बताए। भत्काइएको मन्दिरको संरक्षण पनि गर्ने उनले बताए।
विकास गर्न विनाश नगरे पनि हुन्छ भन्ने ‘डिस्कोर्श’ चलाउनु पर्ने संरक्षणकर्मीको तर्क छ। ‘विकास गर्न विनाशै गर्नुपर्छ भन्ने छैन’, पुरातत्वका जानकार, गोरखा संग्रहालय प्रमुख नवराज अधिकारी भन्छन्, ‘दोहन गर्ने विषयमा उपभोक्तावादीको भाका प्राय मिल्ने गर्छ, किनभने उनीहरुले अगाडि मुनाफा मात्र देखेका हुन्छन्। प्राचीन सम्पदाको महत्व बुझेका हुदैनन्, वा बुझ्न चाहदैनन्। त्यसैले अब विनाश नगरेर पनि विकास गर्न सकिन्छ भन्ने डिस्कोर्श संरक्षणकर्मीले चलाउनु पर्ने जरुरी छ।’
चौतारो तथा बगैँचाको महत्व धार्मिक, सांस्कृतिक महत्वसँग जोडिने अधिकारीको भनाइ छ। ‘चौतारो, मानव निर्मित बगैँचा आदि बहुउपयोगी हुन्छन्’, उनी भन्छन्, ‘यिनीहरुको धार्मिक, सांस्कृतिक, पर्यावरणीय, सामाजिक महत्व हुन्छ।’ बर, पिपल, समी अक्सिजनको साह्रै राम्रो स्रोत भएको बारे विज्ञानले पुष्टि गरेको भन्दै उनले यी रुख भएको ठाउँको वातावरण स्वच्छ हुने, भूक्षय रोक्ने, चराचुरुङ्गीको वासस्थान, मान्छे, जीवजन्तु तथा चराचुरुङ्कीका लागि वर, पिपल, समीका फल पौष्टिक हुने बताए।
‘पूर्वीय धर्मशास्त्रमा पिपललाई विष्णुको अवतार मानेर पूजा गर्ने परम्परा छ। गौतम वुद्धले पनि पिपलकै फेदमा वुद्धत्व प्राप्त गरेको जनविश्वास छ’, उनले भने, ‘जीवन र जगतलाई संरक्षण प्रदान गर्ने भनेर विज्ञानले सिद्ध गरेको, धार्मिक, सांस्कृतिक आस्थाका धरोहर, चौतारा, बगैँचा, पाटी, पौवाका विशिष्ट पक्षहरुलाई नजरअन्दाज गरेर काट्न थालिनु दुखद कुरा हो।’
मेलापात जाँदा आउँदा, उकाली, ओराली हिँड्दा थकाइ मार्ने, जमघट हुने, भेला, बैठक हुने ठाउँ चौतारा नष्ट हुनु सर्वथा दुखद रहेको उनको भनाइ छ।


बहुउद्देश्यीय सभाहल बनाउन फाँडिएको पालुङटार ९ को झगरेको बगैँचा। तस्बिर : शिव उप्रेती
प्रतिक्रिया दिनुहोस !