काठमाडौं-आमायाङ्ग्री यात्रा (फोटो फिचर)
ह्याल्मो जातिको पवित्र धार्मिकस्थल आमा याङ्ग्री। हेलम्बुबासीलाई रक्षा गर्ने देवी। हरेक वर्षको फागु पूर्णिमामा मेला लाग्छ। मासुको प्रयोजनका लागि स्थानीयले कुखुरा र अन्य जीवजन्तु पाल्दैनन्।
जीवजन्तु काटमार गर्न निषेधित क्षेत्र। आगन्तुकले जतिसुकै हत्ते गरे पनि पाइँदैन माछामासु। अन्यत्र बध गरेर लगिएको माछामासु भने पकाएर खान पाइन्छ। अण्डा भने निधक्क खान पाइने।
हालै यस्तै पृथक गन्तव्य पुग्ने मौका मिल्यो। काठमाडौंको जोरपाटीबाट बिहान ७ बजे सार्वजनिक बसमा अघि बढेको टोली साँखु, जहरसिंह पौवा, तिम्बुहुँदै दिउँसोको साँढे २ बजे तार्के घ्याङ पुग्यो। सिन्धुपाल्चोकको ह्ल्मो बस्तीको सानो गाउँ हो तार्के घ्याङ।
पहिलो दिनको बास तार्के घ्याङमै बसियो। साँझ पर्नु अघि नजिकैको चेरी गुम्बा र आसपासका डाँडाकाँडा र त्यही एक्लो बस्ती तार्के घ्याङ घुमियो। चैत महिनामा अन्यत्र तापक्रम सुधार भइरहँदा त्यहाँ भने मध्य हिउँदको झै चिसो। स्थानीयले बाह्रैमास ज्याकेट, स्विटर जस्ता बाक्ला कपडा छोड्दैनन्।
सिन्धुपाल्चोकको ह्ल्मो बस्तीको सानो गाउँ हो तार्के घ्याङ। आमायाङ्ग्री डाँडा पुग्दा यात्राको थकाइ मेटिन्छ। जति फोटो खिचे पनि धित मर्दैन।
र्केघ्याङमै साँझपख थपिए मुस्ताङका दुई थकाली दाई। भोलिपल्ट विहान सबेरै ४ बजे आमा याङग्री डाँडातर्फको यात्रा सुरु भयो। प्रष्टै खुलेको आकास, टिलपिलाएका अनगिन्ती तारा अनि हिमाली सिरेटो छिचोल्दै साथीहरु धिरेज, योगेस र थकाली दाईहरुसहितको टोली अघि बढ्यो।
हाम्रो गन्तव्य थियो ३ हजार ७ सय ७१ मिटर उचाईमा अवस्थित आमायाङ्ग्री डाँडा। करिब साढे ४ घण्टा ठाडो उकालो छिचोले पछि पुगियो सो डाँडा। बाटोमा धेरै पटक आमनेसामने भइरहन्छन् मुनाल र अन्य धेरै थरी पन्छी। आमायाङ्ग्रीबाट आँखै अगाडि नियाल्न सकिन्छ लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर लगायत अनेक हिमाल।
त्यहाँको मनमोहक दृश्य र आनन्द शब्दमा वर्णन गर्न सकिन्न। जति फोटो खिचे पनि धित मर्दैन। करिब डेढ घण्टा आमायाङ्ग्री डाँडा बसेपछि टोली लाग्यो शेर्माथाङतर्फ। शेर्माथाङ त्यहाँबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्छ। स्थानीय भने सहजै ३ घन्टामा शेर्माथाङ झर्छन्।
यात्राको तेस्रो दिन शेर्माथाङबाट विहान ८ बजे हिडेको बस दिउँसो ३ बजे आसपास काठमाडौं आइपुग्यो। आमायाङ्ग्री डाँडा, तार्के घ्याङ, शेर्माथाङको झल्को अझै आइरहेछ। तस्बिर : संजीव दाहाल