टंकप्रसाद आचार्य : व्यक्ति र व्यक्तित्व

टंकप्रसाद आचार्य : व्यक्ति र व्यक्तित्व

हा..., हा..., हा..., हा...। अहो ! त्यो हाँसो ! हो त नि त्यो बिन्दासको हाँसो। यो बनावटी संसारमा बुबाको त्यो हाँसोले मात्र पनि उहाँको अन्तरमनको स्वच्छतालाई झल्काउँथ्यो। त्यो हाँसो नै उहाँले जीवनमा आर्जेको धन थियो। उहाँको सरलता, देशप्रतिको बफादारी र आत्माप्रतिको इमान्दारिता नै धर्म थियो न कि तीर्थव्रत।

कलेज र युनिभर्सिटी पढ्न जाँदाका दिनमा आमाले दैनिक यातायातका लागि दिनु हुने पाँच रुपैयाँले टंकप्रसाद आचार्यको परिवारको आर्थिक वैभवको आँकलन हुन्थ्यो। हुन त हजुरबुबाको जनकपुरको सिर्सिया भन्ने गाउँमा सय बिघा जमिन थियो रे ! काठमाडौंको सिफलमा आठ रोपनी जग्गामा बनेको तीन तले पाको इँटको झिँगटीको छानोको घर थियो रे। तर हामी हुर्किँदा त्यो पारिवारिक कथामा सीमित थियो।

बुबालाई चाँडो रिस उठ्थ्यो। बादल लागे सूर्यलाई गाली गर्नु हुन्थ्यो। आफूले पूजा गर्ने भगवान्सँग पनि रिस उठ्थ्यो र भगवान्ले गाली खान्थे। कहिले कहिले बादल लागे भने ‘वीरेन्द्र राजाको राजमा देशमा अन्धकार नभए के हुन्छ त !’ भनेर गाली गर्न बाँकी राख्न हुन्न थियो।

सिफलको घर त राणाजीले सर्वश्वहरण गरेर लिलाममा चढाए, प्रजातन्त्रपछि बुबाले फिर्ता लिने कोशिस नै गर्नु भएन। हुन त १८ महिना यो देशको प्रधानमन्त्री भएर सरकार चलाउनु भयो तर बुबामा पैसा र धनप्रति लोभ रत्तिभर भएन। सिर्सियाको जमिन हजुरबुबाको ल्याइते पत्नीले पाउनुभयो। आमाले छोराछोरी छन्, पिताले आर्जेको सम्पत्ति अलिकति त लिनुपर्छ भन्दा छोराछोरीले कर्मले खाने हो, त्यो जग्गा उनै (ल्याइते)ले खाउन् भने। मासिक १५०० सरकारी भत्ता आउँथ्यो, त्योमध्ये जुजुभाइ दाइलाई दुई सय रुपैयाँ, खरेल काकालाई सय, चुरोट सुपारी र जिल्लाबाट आउनेजानेलाई बेलाबेलामा यातायात खर्च गरेर पाँच सय बुबाको खर्च र बाँकीबाट आमा घरखर्च चलाउनु हुन्थ्यो।

यद्यपि बुबा आध्यात्मिक नै हुनुहुन्थ्यो। त्यसैले बुबाको झुकाव कर्मयोगमा बढी थियो तर पनि आधुनिकताबाट टाढा भने हुनुहुन्नथ्यो। बुबालाई राम, कृष्णको बाल्यकथा र रामायण महाभारतको कथाको जानकारी थियो तर पनि त्यतिविधि धार्मिक पुस्तक पढ्ने सोख थिएन। आमाले जाडो दिनमा सँगै घाम ताप्दा भागवत् पढेर सुनाउनु हुन्थ्यो। 

बुबालाई चाँडो रिस उठ्थ्यो। बादल लागे सूर्यलाई गाली गर्नु हुन्थ्यो। आफूले पूजा गर्ने भगवान्सँग पनि रिस उठ्थ्यो र भगवान्ले गाली खान्थे। कहिले कहिले बादल लागे भने ‘वीरेन्द्र राजाको राजमा देशमा अन्धकार नभए के हुन्छ त !’ भनेर गाली गर्न बाँकी राख्न हुन्न थियो।

बुबाले प्रभातकालीन ध्यानपछि पूजा कोठामा शालिग्रामको पूजा गर्न उक्लिनु हुन्थ्यो। एउटा शालिग्राम गोलो थियो र बेलाबेलामा बुबाको हातबाट खसेर गुड्दै पूजा कोठाको अर्को कुनामा पुग्थ्यो। बुबालाई कम्पारा तात्थ्यो र शालिग्रामलाई ‘आफैंलाई सम्हाल्न नसक्ने देवताले हामीलाई के सम्हाल्छन् ?’ भनेर हप्काउनु हुन्थ्यो। कहिलेकाँही हामी छोराछोरीलाई बोलाउँदा कसैले सुनेनन् र जवाफ दिएनन् भने रिसले ए भित्ता ! भनेर भित्तालाई बोलाउनु हुन्थ्यो। रिस एकछिनमै साम्य हुन्थ्यो र हाँसोमा परिणत हुन्थ्यो। बुबामा भएको यो सहजता र निडरपन आत्मशुद्धि, इमान्दारी र निष्कपटको परिणाम थियो।

१९९३ सालमा नेपालीलाई रैतीबाट जनता बनाउँछु भनेर उनले राजनीतिक कदम उठाउनुभयो र सफल पनि। २००७–२०१७ राजनीतिक खिचातानीमै बित्यो। २०१७ पुस १ गते महेन्द्र राजाले जनताको प्रजातान्त्रिक अधिकार खोसिदिए र निर्दलीय शासन व्यवस्था स्थापित गरे। बुबाले पञ्चायती व्यवस्थालाई कहिले पनि समर्थन गर्नुभएन र देशभित्रै बसेर बुताले भ्याएसम्म विरोध गर्नुभयो। बुबाको सबैभन्दा ठुलो दुस्मन भनेको पञ्चायतकालका भ्रष्टाचारी र भ्रष्टाचारीका पृष्ठपोषकहरू थिए। जसमा राजपरिवारका सदस्य पनि पर्दथे। हाम्रो घर तत्कालीन समयका मन्त्रीहरूदेखि  पञ्चायत इतरपक्षका नेताकार्यकर्ता सबैको गुनासो पोख्ने ठाउँ। बामपन्थी र नेपाली कांग्रेसका मित्रहरूको राजनीतिक छलफल र रणनीति तय गर्ने अखडा पनि।

बुबामा धन कमाउन सोच्ने फुर्सदै भएन। एकपटकको कुरो, काठमाडौंका केही सम्भ्रान्त व्यक्तिहरूले राजालाई भनेर वियर फैक्ट्रीको स्वीकृत दिलाई दिनुप¥यो सान्दाइ ! लगानीको २० प्रतिशत छोराको नाममा राखिदिन्छौं भनेर भन्न आए। बुबाले ठाडो इन्कार गरिदिनुभयो। यस्ता घटना दोहोरिन्थे। उठेदेखि नसुतेसम्म एउटै चिन्ताले सताएको हुन्थ्यो, देशलाई कसरी समृद्ध बनाउने ? दिनको धेरैजस्तो समय त घरमा आउने आगन्तुकसँगको कुराकानीमै बित्थ्यो। अन्य समय अध्ययनमा। उहाँको ओछ्यानभरी समसामयिक राजनीतिका किताब हुन्थे।

केही नेताहरूलाई हेर्दा आफूलाई आकाशबाट झरेर कतै रसातलमा खसेजस्तो लाग्छ। जुन देशमा होनाहार युवाहरूको बाकसमा लास फर्केर आउँछ। नेपाली युवाहरूले विदेशमा रगत पसिना गरेर कमाएको धनमा होली खेलिन्छ। नेपालीले देशको प्राकृतिक स्रोतको सही उपयोग गर्न नपाउँदा फेन्सी कपडा, जुत्ता, मोबाइल, पेट्रोलियम पदार्थ आदिमा कमाएको धनको उपयोग गर्न बाध्य हुनुपरेको छ। जसले गर्दा विदेशमा रगत पसिना गरेर कमाएको धन नेपालबाट फेरि बाहिरिरहेको छ। यो क्रम जारी रहने हो भने नेपालीले आर्थिक उन्नति कहिले पनि गर्न सक्ने छैनन्।

टंकप्रसाद आचार्यको मूल सन्देश ‘आफ्नो खुट्टामा आफैं उब्जिनु सक्नुपर्छ। अर्काको बुई चढेर ल्याएको न त प्रजातन्त्र नै टिक्छ न त समृद्धि नै टिक्छ’ जुन हाल टड्कारो रूपमा नेपालीले भोग्नु परेको छ, राजनीतिक खेमामा र आर्थिक खेमामा पनि। ४० वर्षको विदेशी अनुदान केही नेताको पेटमा बाहेक कहाँ गयो र ? नेपाली युवाले पनि नेपालमा आयआर्जनको स्रोत नखोजीकन विदेशमा नै गएर धन कमाउने हो भने तिनका छोराछोरीले पनि सोही कदम चाल्न बाध्य हुनुपर्छ।

आज एक लाखको काम सुरु गरिए भने भोलि १० लाख हुन्छ। उदाहरणका लागि यदि विनोद चौधरीजीको पिताले नेपालमा काम सुरु नगरेको भए र छोराछोरीलाई टेक्ने खुड्किलो नबनाएको भए आज त्यो परिवार नेपालको। संसारको धनाढ्य मध्येमा पर्दैन थियो होला र उनको परिवार पनि छोराछोरीजस्तै विदेशमा गएर धन कमाउन बाध्य हुन्थे होला। पिताको पुरुषार्थले छोराछोरीले गर्व गर्ने वातावरण बनोस्। तसर्थ यो देशमै नेपालको प्राकृतिक स्रोतमा आधारित कुनै उद्यम सुरु गर्ने र कसैको भर नपरेर आफ्नो खुट्टामा आफैं उभिन हरेक युवालाई आह्वान गर्छु। यही नै हो, ‘टंकप्रसाद आचार्य : व्यक्ति र व्यक्तित्व।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.