बारपाकमा मृत्यु दर बढ्यो, जेठ लागेदेखि १२ जनाले गुमाए ज्यान, परीक्षण छैन

बारपाकमा मृत्यु दर बढ्यो, जेठ लागेदेखि १२ जनाले गुमाए ज्यान, परीक्षण छैन

गोरखा : गोरखाको बारपाक गाउँमा कोरोनासँग मिल्दोजुल्दो रोगबाट मर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । बुधबार राति मात्रै तीनजनाको मृत्यु भएको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । एकै रातमा मृत्यु हुनेमा एक महिला र दुई पुरुष हुन् । उनीहरु सबैमा रुघाखोकी, ज्वारो तथा स्वासप्रश्वासको समस्या रहेको उनको भनाइ छ ।

यसअघि बुधबार तीन जनाको मृत्यु भएको थियो । उनीहरुमध्ये एकजना उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको हो । दुईजनाको गाउँमै मृत्यु भएको घलेले जानकारी दिए । लगालग दुई दिनमा मर्ने छजनामै रुघाखोकी, ज्वारो र स्वाशप्रश्वासको समस्या रहेको उनले बताए ।

‘वैशाखको मसान्तिमा एकजनाको मृत्यु भएको थियो । जेठ लागेपछि मात्रै १२ जना मरिसके’, घलेले भने, ‘दिनदिनै तीनचार जनाको मलामी जानु परेको छ । अवस्था डरलाग्दो भयो ।’ मृतकहरु सबैको स्थानीय परम्पराअनुसार आफन्तहरुले अन्त्यष्टि गर्ने गरेका छन् । ‘आफन्त खलक गर्दा एकजनाकै एक डेढसयभन्दा धेरै मलामी हुन्छन् । आजै तीनजनाको मलामी चार सय भन्दा धेरै छौँ’, घलेले भने, ‘दिनदिनै यस्तै भइरह्यो भने त चिहानडाँडा भरिने भयो ।’ सुविधासम्पन्न आइसोलेसनको अत्यन्तै खाँचो परेको उनले बताए ।

बारपाकमा अहिलेसम्म ४४ जनाको एण्टिजेन पोजिटिभ र पीसीआर १९ जनाको पोजिटिभ रिपोर्ट आएको छ । दुई पटकसम्म परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली जाँदा बिरामीहरु परीक्षण गर्न नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट बताउँछन् ।

रोग फैलिएपनि बारपाकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छैन । मलामीमा सय, डेढसयजना भन्दा धेरै जाने गरेका छन् । मेलापात, घाँसदाउरा गरिरहेका छन् । ‘गाउँघर यस्तै हो, काम नगरी हुँदैन । धमाधम मकै गोड्ने बेला छ । कोदो रोप्ने बेला भएको छ । काम गर्नै पर्‍यो’, घले भन्छन्, ‘यहाँ सरकारले विशेष पहल गरे मात्र समस्या समाधान हुनुपर्छ ।’ 

बारपाकको अवस्था नियन्त्रणभन्दा बाहिर पुगिसकेको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको भनाइ छ । आफ्नो क्षमताले भेटेजति काम गरिरहेको उनले बताए । 'बारपाकको स्थिति हाम्रो नियन्त्रणभित्र छैन । डाक्टरसहितको स्वास्थ्य टोली र सुरक्षाकर्मीको टोली यहाँ नभै भएन भनेर मैले एकहप्ताअघिदेखि नै सिडियोसाबलाई भन्दै आएको छु । प्रदेश, संघ जहाँ सक्छु पहुँच भएजति ठाउँमा भनिरहेको छु । तर सुनुवाइ नै भएको छैन ।’ पालिकाबाट दुई पटकसम्म स्वास्थ्य कर्मीको टोली पठाउँदा स्थानीयबासी परीक्षण गर्नै नमान्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी शालिकग्राम पौडेलले भने परीक्षणका लागि स्थानीयबासीलाई बाहिर निकाल्न स्थानीय सरकार खटिनुपर्नेमा जोड दिन्छन् । ‘संघीयता आइसकेको अवस्थामा पालिकाको भूमिका ठूलो हुन्छ । 

सकेको व्यवस्थापन त्यहीँ गर्नू, नसके जिल्लामा पठाउनू भनिरहेको छु’, प्रजिअ पौडेलले भने, ‘जनप्रतिनिधि, राजनीतिक दलले स्थानीयबासीलाई रोग परीक्षण गर्न बाहिर निकाल्न त सक्नु भएको छैन ।’ बारपाकको समस्या समाधानका लागि आज विशेष छलफल गरेर अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.