भारतमा कोरोनाका कारण सिंहको मृत्यु !
चेन्नई : भारतको चेन्नईस्थित एक चिडियाखानामा राखिएको सिंहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चिडियाखानामा राखिएको एक पोथी सिंहको बिहीबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनु अघिल्लो दिनदेखि सो पोथी सिंहको नाकबाट तरल पदार्थ निस्किएपछि उपचार थालिएको थियो । तर बिहीबार साँझ उनको मृत्यु भएको हो ।
एकै स्थानमा राखिएका अन्य ११ सिंहको कोरोना परीक्षण गरिएको थियो । सोमध्ये ९ वटामा सार्स–कोभ–२ पोजेटिभ आएको बताइएको छ । तर त्यसको यकिन गर्न हैदरावादस्थित भारतीय पशु स्वास्थ्य अनुसन्धान संस्थान तथा केन्द्रमा नमुना पठाइएको चिडियाखानाका अधिकारीहरूले बताएका छन् । पोजेटिभ देखिएको ९ वटामध्ये एउटा पोथी सिंहको मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएका अन्य सिंहलाई विशेष निगरानीसहित छुट्टै राखेर उपचार भइरहेको छ ।
सिंहमा संक्रमण देखिएसँगै हाल जनावरको भेटेनरी चिकित्सक, रेखदेख गर्ने कर्मचारी तथा चिडियाखानाका कर्मचारी सबैलाई पीपीई अनिवार्य गरिएको छ ।