भीर मौरीको मह सिकार
गोरखा : अहिले गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरूमा भीरमौरीको मह सिकार गर्ने सिजन सुरु भएको छ। विशेषगरी यतिबेला धार्चे गाउँपालिका वडा नं. ३ खोर्ला, वडा नं. ४ को लाप्राक, वडा नं. १ को हुल्चुकमा भीरमौरीको महसिकार गरिँदैछ।
यी सबै समुद्री सतहबाट २२०० मिटरभन्दा अग्ला ठाउँ हुन्। समुदायको हिसाबले यी सबै गाउँबस्तीमा गुरुङ र घले समुदायको बसोबास छ। परापूर्व कालदेखि सुरु भएको भीरमौरीको सिकार गर्ने परम्परा यी क्षेत्रमा आज पनि जारी छ। यस वर्ष खोर्लाको निमु्रुङ खोलामा एकै ठाउँमा २१ वटा भीरमौरीका गोला छन्।
त्यसको सिकार मंगलबारबाट सुरु गरिएको छ। मह सिकारका लागि गाउँभरिका बासिन्दा घरलौरो गर्दै जंगल जाने चलन छ। गाउँका कतिपय सिकारी जंगलमै बास बसेका छन्। कतिपय साँझमा घर जाने र बिहान झिस्मिसेमै सिकारमा जाने गर्छन्।
भीरमौरीको सिकार गर्ने साइत गाउँका धामी, जैसीले जुराउँछन्। उनकै निर्देशनमा कटुवालले मह काढ्न जानेबारे स्थानीय भाषामा गाउँ घुमीघुमी सूचना सञ्चार गर्छन्।
मह सिकार गर्ने अघिल्लो दिनमा गाउँका मर्द, जवानहरू महको गोला आसपास सरसफाइ गर्न भेला हुन्छन्। झाडी फाँड्ने, खोलामा फड्के हाल्ने, भीर चढ्नका लागि डोरीको भर्याङ बनाउने, मौरी धपाउन धुवाँ लगाउने भाँडा बनाउने, मह काढ्ने घोचा बनाउने, चाका काट्ने र भुइँमा झार्ने उपकरणहरू बनाउँछन्।
साँझमा भाले काटेर स्थानीय सिमेभुमे पूजा गर्छन्। मह काढ्दा अप्रिय घटना नहोओस् भनेर पुकारापात गर्छन्। त्यसरात कतिपय मौरीको गोलो कुरेर जंगलमै बास बस्छन्, कतिपय घर फर्कन्छन्। भोलिपल्ट बिहान झिस्मिसेमै खाना खाईवरी दिउसोलाई झोलाभरि खाजा लिएर मह सिकार गर्न जान्छन्।
सामुहिक रूपमा मह काढ्ने कार्यक्रम वर्ष दिनमा उत्सवको रूपमा मनाउने चलन रहेको स्थानीय जोन गुरुङ बताउँछन्। ‘निम्रुङ खोलाको एक ठाउँमा धेरै गोलोहरू छन्। त्यहाँ चाहिँ गाउँले सबै मिलेर सामुहिक सिकार गर्ने चलन छ।
त्यहाँको सकेपछि त्यहाँभन्दा माथिको मौरीको सिकार गर्न अलगअलग जाने चलन हुन्छ’, उनी भन्छन्, ‘सामुहिक रूपमा मह काढ्दा चाहिँ पुरुष आलोपालो गरी मह काढ्ने, कोही डोरी समात्ने, कोही डोकोहरू पुग्न दिने, कोही मह भरेर पठाएको डोको समात्ने, कोही ओसार्ने गर्छन्।
महिला चाहिँ मौरी भगाउन सुकेको र हरियो स्याउला पोलेर धुवाँ उँडाउने, चाका निचोरेर मह बनाउने, मह काढ्न भेला भएका सिकारी दललाई घरबाट लगेको खाजा खुवाउने काम गर्छन्। उत्सबमा भेला भएकाहरूलाई दामासाहीले मह बाँड्ने काम पनि उनीहरूले नै गर्छन्।’ महिला पुरुष श्रम विभाजन गरेर मह मेला सञ्चालन गर्ने उनले बताए।
भीरमौरी के हो ?
भीरमौरी मान्छेको चहलपहल कम हुने ठाउँ, खोला, झरनासहितको जटिल शान्त र पहरोको अक्करमा बस्छ। घरमा पालिने मौरीभन्दा केही ठूलो साइजको हुन्छ। यसले बनाउने मह ज्यादै तेज र कडा हुन्छ। एक चम्चा मात्र खाँदा पनि लाग्ने गर्छ।
लाग्ने भए पनि भीरमौरीको महले शरीरलाई धेरै फाइदा गर्ने स्थानीय जानकारहरू बताउँछन्। विशेषगरी हाडजोर्नी बलियो बनाउने, शरीर भित्रको बिकार फाल्ने, तागत दिने भएकाले यसलाई जोखिम मलेर पनि सिकार गर्ने परम्परा रहेको मह सिकारीमध्येका एक प्रितिमान गुरुङ बताउँछन्। ‘एक चम्चा मात्र खायो भने पनि २४ घण्टासम्म लाग्छ। झाडा बान्ता पनि हुन्छ तर २४ घण्टापछि ज्यानको सबै रोगव्याध फाल्छ र ज्यादै मजबुद बताउँछ’, उनी भन्छन्, ‘त्यसैले ज्यानको बाजी थापेर सयौँ मिटर अग्लो भीरमा डोरीमा चढेर यसको सिकार गरिन्छ।’ धेरै फाइदाजनक भएकाले यसको मूल्य धेरै महंगो पर्ने पनि उनले बताए।
भीरमौरीको मह सिकार गर्ने परम्परा सयौं बर्ष पुरानो रहेको यहाँका बासिन्दाको कथन छ। ‘उहिल्यै आबा गर्बु क्ले बुढाका नौ भाइ छोरा थिए। गरिबीले गर्दा परिबार पाल्न नसकेपछि नवै भाइलाई जंगलमा सिकार गर्न पठाए। उनीहरूले भीरमा मौरी देखे तर कुनै भाइले पनि मह सिकार गर्न सकेनन्’, बूढापुरानाको आहान सुनाउँदै उनले भने, ‘त्यसपछि आबागर्बु क्ले बूढा आफै मह सिकार गर्न भीरमा चढे।
त्यसबेला कान्छो छोराले मात्र बुबालाई सघाए। तर सिकार गरिसकेपछि भाग खोज्न सबै छोराहरू भेला भए। त्यही बेलादेखि कान्छा छोरा बुबाआमाको प्यारो भएको हो।’ मह सिकार गर्न पनि नौ जना सहभागी हुनुको कारण त्यही भएको उनले बताए।
मौरीलाई धुवाँ लगाएर लखेटी गोलोबाट मह निकाल्न थालेपछि यिनीहरू आक्रामक हुन्छन्। हेर्न भेला भएका रमितेलाई टोकेर लखेट्न थाल्छन्। यसबाट बच्न गाउँलेहरू अनुहारमा जालीले छोप्छन्। मह सिकार गरेपछि गोलाको सबै मौरी भागेर जान्छ। अर्को वर्ष पनि फेरि फर्काउनका लागि गोलो रहेको ठाउँमा अण्डा दलेर छोड्ने चलन छ।
यसको विक्रीबाट स्थानीयबासीले आर्थिक लाभ लिने गर्छन्। सिजनमा झण्डै पाँच– छ सय लिटर मह उत्पादन गरेर बिक्री गर्ने गरेको मह व्यवसायी जोन गुरुङको भनाइ छ। ‘गत वर्ष छ सय लिटर उत्पादन भएको थियो। घरघरबाटै प्रति लिटर कम्तिमा तीन हजार रुपैयाँमा बिक्री हुन्छ’, उनी भन्छन्, ‘भीरमौरीको मह लाग्ने र नलाग्ने गरी दुई प्रकारको हुन्छ। लाग्नेलाई अलि महंगो पर्छ। नलाग्नेलाई अलि सस्तो पर्छ।’ सामुहिक रूपमा सिकार गरेको मह बेचिँदैन। काम गर्ने र रमिता हेर्न आउने सबैलाई दामासाहीका दरले बाँड्ने चलन छ। सामुहिक सिकार गरिसकेपछि गाउँबाट अझै धेरै टाढा–टाढा रहेको मह भने व्यक्ति व्यक्ति मिलेर सिकार गर्ने चलन छ। जसलाई उनीहरूले बेचेर आर्थिक लाभ लिन्छन्।
यहाँबाट देशका ठूला सहरमा र विदेशमा समेत बिक्री हुने गर्छ। ‘भीरमौरीको मह मान्छेले यति मन पराउँछन् र माग यति धेरै आउँछ कि भाग पुर्याएर साध्यै लाग्दैन’, जोन गुरुङ भन्छन्। गोरखाका अन्य स्थानमा भन्दा खोर्लामा विशेष महमेला लाग्छ। यहाँको मह सिकारलाई उत्सवको रूपमा मनाउन प्रयास गरिएको धार्चे ३ का वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले बताए। ‘वडा कार्यालयले यहाँको महमेलालाई व्यवस्थित गर्न वडा कार्यालयले बजेट छुट्याउँने गर्छ’, उनले भने, ‘महमेला लाग्ने ठाउँसम्म आउन गाउँपालिका कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरेको थियो।
वडा कार्यालयले पनि बजेट छुट्याउँने गर्छ।’ यहाँको मह सिकार अवलोकन गरेर मनोरञ्जन गर्न खोर्ला, खोर्लाबेशी, तातोपानी, उहिया, माछाखोला, लप्सीबोटलगायतका आसपासका क्षेत्रबाट अवलोकनकर्ताहरू आउने गर्छन्। यसको प्रसस्त प्रचार गर्न सके देशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
गाउँपालिका कार्यालयले यहाँको पर्यटन विकास गर्न विभिन्न प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन्। ‘यो ठाउँ जिल्लाकै मह सिकारको लागि महत्वपूर्ण छ’, गुरुङ भन्छन्, ‘त्यसका साथैै निम्रुङखोला छहरा धेरै मनमोहक छ। यहाँ भन्दा माथि ठूलो तातोपानीको मुहान छ। त्यसलाई खोर्लाबेशीसम्म पुर्याउन सकियो भने अझै पर्यटकको आकर्षण बढ्न सक्छ।’ यी सबै कुरालाई समेटेर पर्यटन विकास गर्न आगामि बर्ष विस्तृत आयोजना प्रतिवेदन बनाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस !