सल्लेरीका बाढीपिडित उद्धारको पर्खाइमा
गोरखा : बूढीगण्डकीको बाढीले घरबास उठेका चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा उद्धारको पर्खाइमा छन् । बाढीले घर बगाएको र जोखिमका कारण विस्थापित भएकाहरु त्रिपालको पर्खाइमा रहेका स्थानीय वीरवल घलेले जानकारी दिए ।
‘बूढीगण्डकीले चार वटा घर त पूरै लगिसक्यो । अरु पनि लाने क्रममा छ’, घलेले भने, ‘पानी परिरहेको छ । विस्थापितहरु बिचल्लीमा छन् ।’
त्रिपाल लगायतका राहत सामग्री पठाउनका लागि आरुघाट-आर्खेत सडकखण्ड डुबानमा परेपछि अबरुद्ध भएको उनले बताए ।
उनका अनुसार सडक निर्माण कार्यदल रहेका सल्लेरीको नेपाली सेनाको शिविर पनि जोखिममा छ । त्यहाँ रहेका सेनाको टोली पनि विस्थापित भएका छन् । ‘सडक निर्माणमा प्रयोग भइरहेको बिस्फोटक पदार्थ पनि सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने छ’, उनले भने, ‘सल्लेरीका बासिन्दालाई पनि अस्थायी बास बनाउनका लागि त्रिपाल पठाउनु पर्ने छ । सरकारले हेलिकोप्टरबाट उद्धारको काम गर्न सके उपयुक्त हुनेथियो ।’
घटनास्थलमा त्रिपाल लगायतका राहत सामग्री पठाउने प्रयास भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए ।
‘सेनाको टोलीलाई कतै खाली ठाउँमा स्थानान्तरण गर्नुपर्ने छ । घर गुमाएकालाई चाहिँ नजिकैको विद्यालयमा बसाउने तयारी गरेका छौँ’, प्रजिअ पौडेलले भने ।
तीन दिनदेखिको अबिरल वर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराति बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँले भागेर भीरपाखामा रात बिताएका छन् ।
२७ घर रहेको सल्लेरीको चार घर बगाइसकेको छ भने अरु घर पनि जोखिममा रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए । जोखिममा रहेकाले मान्छे त्यहाँबाट भागेर रातभर पाखापखेरामा बसेर बिताएका उनले बताए ।

प्रतिक्रिया दिनुहोस !