पालुङ्टारमा चार घर बाढीले बगायो, १० घर विस्थापित
गोरखा : पालुङटार नगरपालिका- ९ बिर्दीका चार घरपरिबार बाढीले बगाएको छ। अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको घर बगाएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए।
रातको समयमा घर बगाए पनि मानिस भने भागेर सुरक्षितस्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए। खारखोलामा आएको बाढीमा बिर्दी बजारका एक परिवार स्थानीय फसेका छन्। बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहीबार बिहानैदेखि बाढीको बीचमा फसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए।
खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दी बजारतिर आएर घरलाई बीचमा पारेको उनले बताए। झलकबहादुर अधिकारीको ७० वर्षकी आमा र तीन जना नातिनातिनी भेलको बीचमा फसेको श्रेष्ठले बताए। उनका अनुसार दुई जना भने डोरीको सहायताले उद्धार गरिएको छ भने वृद्धा र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए।

उनीहरुलाई बिहीबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए।उद्धारका लागि रातामाटे चौकीका प्रहरी, सदरमुकामबाट थप प्रहरी र सेनाको टोली आइरहेको जानकारी पाएको श्रेष्ठले बताए।
बाढी प्रभावित पालुङ्टार नगरपालिका ९ को बिर्दी र ढुङ्गेटारी। तस्बिर : सञ्जय गुरुङ
प्रतिक्रिया दिनुहोस !