शिरमायाको सूचना
गोरखा : खोर्ला गाउँका हरेक युवा मोबाइल चलाउँछन्। फोरजीको इन्टरनेट चल्छ। देश– विदेशका खबरबारे छिनमै अपडेट हुन्छन्। तर, गाउँको खबर न मोबाइलबाट सुनेर पत्याउँछन् न त इन्टरनेटमा भर गर्छन्। जब शिरमाया गुरुङले गाउँको शिरबाट सूचना दिन्छिन् तब मात्र गाउँले जाग्छन्।
लेकमा जडीबुटी खोल्दा, वृद्धभत्ता बाँड्दा, मेला पर्व, कसैको घरमा मर्दा–पर्दा, गाउँको बैठक बस्नुपर्दा, जनश्रम गर्नुपर्दा, वस्तुभाउ लेक लैजाने, बेसी झार्ने, घाँटु, मारुनी नाच्ने, मेला जात्रा सबैको तिथिमिति, समयबारे शिरमायाले खबर गरेपछि मात्र गाउँलेले पत्याउँछन्। ‘फोनबाट भनेर पनि हुन्न। सूचना टाँसेर पनि हुन्न। फेसबुकमा राखेर त झन् हुँदै हुन्न’, वडाध्यक्ष इन्द्रप्रसाद गुरुङ भन्छन्, ‘हामीले भनेर पनि गाउँलेले पत्याउँदैनन्। उहाँ (शिरमाया)ले भनेपछि मात्र औपचारिक हुन्छ।’ गाउँमा कटुवालको धेरै महत्वपूर्ण ‘भाउ’ रहेको वडाध्यक्ष गुरुङ बताउँछन्।
रातो टिसर्ट र लुंगी लगाएकी, त्यसमाथि टाटनको पछ्यौरी घुर्लुम्म ओढेकी उमेरले तीनबीसे नाघेकी शिरमाया हरेक घटनासँग जोडिएर गाउँघरमा दौडिरहेकी देखिन्छिन्। उनको दौडाइसँग गाउँको सूचना र सन्देश जोडिएको हुन्छ। धार्चे गाउँपालिका–३ खोर्लाकी शिरमायाले ३० वर्षदेखि सूचना, सन्देश बोकेर गाउँघर चहार्दै आएकी हुन्।
‘बाजेले गरे, बाउको पालामा पनि गरे। अब हाम्रो पालामा आएर किन छोड्ने भनेर मात्र गरिरहेको हो’, उनी भन्छिन्, ‘लागेको बानी हो, घरको काम छोडेर पनि कराउनु हिँड्छु। तलब त के छ र ? पहिला त महिनाको ३ हजारका दरले दिने रे भन्ने हल्ला सुनेको थिएँ। तर, पछि १५ सय रुपैयाँका दरले दिन थाले।’
महिला भएर कटुवालको काम गर्नुपर्दा सुरुमा उनलाई असजिलो नलागेको होइन। खासमा उनका ससुराले कटुवालको काम गरेका रहेछन्। ससुराको सेखपछि त्यो काम श्रीमान्ले गरे। तर, श्रीमान् बिरामी भइरहने भएकाले सो काममा आफूले काँध हालेको उनी बताउँछिन्। ‘सुरु ताका एक–दुई फेरचाहिँ लाज लागेको थियो’, उनी भन्छिन्, ‘पछि त बानी प¥यो। अहिले केही असजिलो लाग्दैन। सजिलो लाग्छ।’
गाउँपालिकाले ३ हजार रुपैयाँ दिने भनेर जम्मा १५ सय रुपैयाँ मात्र दिने गरेकोमा भने उनको चित्त दुखाइ रहेछ। दुई जना कटुवाल भएकाले पारिश्रमिक बाँडिएको वडाध्यक्ष गुरुङ बताउँछन्। ‘गाउँपालिकाले कटुवाल प्रथालाई संरक्षण गर्न र प्रोत्साहन गर्न भनेर मासिक पारिश्रमिक ३ हजारका दरले दिने निर्णय गरेको थियो’, वडाध्यक्ष गुरुङ भन्छन्, ‘तर एउटा वडामा एक जनालाई मात्र दिने निर्णय भएकाले यहाँ दुई–जना कटुवाल भएकाले पारिश्रमिक बाँडिएको हो।’
प्रतिक्रिया दिनुहोस !