न्यायपूर्ण गणतन्त्रको पक्षपाती पुष्पलाल
पुष्पलालले जीवनको अन्तिम क्षणमा भनेका थिए, जनता चेतनशील हुनैपर्छ, परिवर्तन अवश्यंभावी भएकाले रोकेर रोकिँदैन
भारतमा अंग्रेज साम्राज्यवादविरुद्ध आचार्य तिलक र मोहनदास कर्मचन्द गान्धी लगायतले भारतीय राष्ट्रिय कांग्रेस पार्टी खोलेर भारत छोडो आन्दोलन चलाए। त्यतिबेला भारतमा रहेर शिक्षा हाँसिल गरेका युवाहरू पुष्पलाल, बीपीकोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, केशरजंग रायमाझी, महेन्द्रविक्रम शाह आदिमा पनि यसको असर पर्यो। यता यसको जबरजस्त प्रभाव नेपालभित्र पनि परी निरंकुश पारिवारिक राणाशासनविरुद्ध प्रचण्ड गोरखा र प्रजापरिषद् नामक संगठन खुले।तिनले राणाशासन विरोधी आन्दोलन सुरु गरे।
१९९७ सालमा राणाशासनको अन्त्यका लागि आह्वान गरेको पर्चा काठमाडौंमा छरियो। यस काण्डमा प्रजापरिषद्का अध्यक्ष र टंकप्रसाद आचार्य, प्रचण्ड गोरखाका अध्यक्ष खड्कमान सिंहलगायत प्रजा परिषद्कै नेताहरू रामहरि शर्मा, चूडाप्रसाद शर्मा, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री,गंगालाल, गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठलगायत पक्राउ परे। राणाहरूले यीमध्ये चार दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई फाँसीको सजाय दिए र अन्यलाई आजीवन कारावासको सजाय। शास्त्रीलाई टेकुमा र धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मारियो भने दशरथचन्द र गंगालाललाई शोभाभगवती नजिक विष्णुमतीको किनारमा गोली हानी हत्या गरियो। गंगालाल पुष्पलालका जेठा दाजु थिए। गंगालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र शाह शासनको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए।
प्रख्यात साहित्यकार हृदयचन्द्रसिंह प्रधानले ‘गंगालालको चीता’ नामक नाटक लेखे। प्रमुख पात्रमा राणा प्रधानमन्त्री, उनका जल्लाद प्रशासक एकातिर र पुष्पलाल अर्कातर्फ भएका पात्रका आधारमा प्रख्यात नाटक लेखे। जसमा पुष्पलालले पारिवारिक शासनको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक र लिंगीय शोषणको अन्त्य गरी समाजवादी गणतन्त्रवादी समाज स्थापना गर्ने कल्पना गरिएको छ। यसरी नेपाली प्रगतिशील तथा लोकतान्त्रिक आन्दोलनका दार्शनिक नेता पुष्पलालको राजनीतिक तथा सामाजिक–सांस्कृतिक जीवनको आमूल रूपान्तरण र कायापलट गर्ने दैनिक जीवनचर्या होमिएको पाइन्छ। यिनले दाजुलगायतको हत्यापछि पुष्पलाल, प्रेमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ भएको एक प्रजातान्त्रिक सभा नामक राजनीतिक दलको गठन गरे। गुप्त रूपमा उपत्यका र आसपासका जिल्लामा व्यापक संगठन विस्तारमा लागे।राणाहरूले वारेन्ट गरेपछिपढ्न जाने निहुँमा पुष्पलाल भागेर भारतको कलकत्ता गए। कलकत्तामा यिनले भारतीय स्वतन्त्रा सेनानीहरू नृपेन्द्र चक्रवर्ती र रत्नलाल ब्राह्मणलाई भेटे। सहिदको भाइ भएकाले त्यतिबेला यिनलाई भारतीय नेताहरू सबैले आदर गर्थे। उनीसँग गान्धी र राममनोहर लोहियाको पनि भेट भयो। नेपाली नेताहरू बीपी कोइराला, गणेशमान सिंह, डा. डिल्लीरमण रेग्मीसँग पनि भेट भयो। उनले नेपाली राष्ट्रिय कांग्रेस खोल्ने कुरामा डिल्लीरमण रेग्मी र बीपीलाई साथ दिए। २००३ सालमै कलकत्तामा राणाशासन पल्टाउने उद्देश्यले जेलमा रहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति, डा. रेग्मी सभापति र बीपी कार्यवाहक सभापति भएको नेपाली राष्ट्रिय कांग्रेस नामक अर्को दल खुल्यो।
पुष्पलाल यो दलको स्थायी समितिमा रहे र दिनहुँ दलको कार्यसञ्चालनको काम गर्ने गरी कार्यालय मन्त्री रहे। उनले कांग्रेसको घोषणापत्र ड्राफ्ट गर्ने कार्यमा डा. रेग्मीलाई सहयोग गरेका थिए भनिन्छ। बनारसमा रहेको राष्ट्रिय कांग्रेसको केन्द्रिय कार्यालयमा बीपीपुगेपछि रेग्मीसँग शक्ति संघर्ष चल्यो। त्यसलाई निमिट्यान्न पार्न र दुवै नेतालाई मिलाउन पुष्पलालले भरमग्दुर प्रयास गरे। अनसनसमेत बसे तर मिलेनन्। पुष्पलाल वाक्क भएर माक्र्सवादको अध्ययन गर्न लागे। माक्र्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र नेपाली भाषामा उल्था गरी २००५ सालमा प्रकाशित गरे। भारतीय कम्युनिष्ट पार्टीका नेताहरू रतनलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीले यो थाहा पाएर पुष्पलाललाई बोलाए। उनीहरूले माक्र्सवादी कक्षा दिए र कम्युनिष्ट पार्टी स्थापना गर्ने सुझाव दिए। सुझावपछि उनले कम्युनिष्ट पार्टीको पहिलो पर्चा लेखे। २२ अप्रिल, १९४९मा लेनिनको जन्मजयन्ती पारेर आपूmसहित नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसमेत राखेर नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रिय संगठन समिति बनाए।
यसबीच उनले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेखेर १५ सेप्टेम्बर १९४९ मा प्रकाशित गरे। भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका मनमोहन अधिकारी र नेपाली कांग्रेसको जनवर्गीय संगठन बैंकर्स एसोसियसनका अध्यक्ष तुलसीलाल अमात्य, प्रजातान्त्रिक महासभाका सदस्य शम्भुराम श्रेष्ठ, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजंग रायमाझीलगायत कम्युनिष्ट पार्टीमा जोडिन आए। २००८ सालमा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो। नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो। जसले नेपालको आर्थिक,राजनीतिक तथा सामाजिक अवस्था अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भएको ठहर गर्यो। कार्यक्रमले नेपालमा नयाँ किसिमको पुँजीवादी जनवादी क्रान्ति गर्ने निर्णय गर्यो। यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइयो। क्रान्तिपछि राज्यको स्वरूप नयाँजनवादी गणतन्त्र हुने घोषणा गर्यो। उक्त नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दललाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने र निजी र सरकारी दुवैक्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता र बोल्ने लेख्ने, सम्पत्ति आर्जन गर्ने, सबै प्रकारका मौलिक हक हुने कार्यक्रम ल्यायो। जसमा न्यायपालिका स्वतन्त्र हुने उल्लेख छ।
यो कार्यक्रम स्वयं पुष्पलालले लेखेका थिए। विश्वका कम्युनिष्ट पार्टीको एकदलीय स्वरूपलाई नेपालको सन्दर्भमा राखिएको छैन र नेपालको कम्युनिष्ट आन्दोलन र पार्टीले जसको जोत उसको पोतका आधारमा क्रान्तिकारी भूमिसुधार गर्दै सम्पत्तिको पुनर्वितरण गर्ने ऐलान र शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क, प्रत्येक नागरिकलाई रोजगारको ग्यारेन्टी, गाँस, बास र कपासको अनिवार्य व्यवस्था राज्यद्वारा गर्नुपर्ने कार्यक्रम ल्यायो। नेपाल आज त्यही सेरोफेरोमाघस्रिने कोसिसमा छ। रणनीति र कार्यनीति सही भएपछि कम्युनिष्ट पार्टीको प्रभाव उपत्यका, पूर्वी तराई, पश्चिम तराई, गण्डक र कर्णाली क्षेत्रमा पनि पर्न थाल्यो। तर त्यसपछि कमरेड पुष्पलाललाई महामन्त्री पदबाट हटाइयो। किसान आन्दोलनले जोर पक्डन थालेपछि कम्युनिष्ट पार्टीमाथि पनि प्रतिबन्ध पनि लगाइयो। कम्युनिष्ट पार्टीले प्रजापरिषद्लगायत दलसँग मिलेर जातीय जनतान्त्रिक मोर्चा नामक संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडि बढायो। महामन्त्रीपदबाट हटाए पनि कमरेड पुष्पलाल जबरजस्त रूपमा आन्दोलन निर्माण र संगठन विस्तारमा लागे। तत्कालीन नेतृत्वले त्यत्ति साथ दिएन। २०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि संवैधानिक राजतन्त्र मान्ने शर्तमा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो।
२०१२ सालमा कम्युनिष्ट पार्टीको दोस्रो सम्मेलन भयो। पुष्पलालले तत्कालीन नेतृत्वले संवैधानिक राजतन्त्र मान्ने गरेको शर्त मानेनन्। सम्मेलनले पुनः गणतन्त्रका लागि संघर्ष गर्ने निर्णय गर्यो। यसबीच तत्कालीन महामन्त्री मनमोहन अधिकारीलाई संक्रमक रोगले छोयो। उपचारका लागि चीन जानु पर्यो। त्यसबेला कार्यवाहक महासचिव पुष्पलाललाई दिन खोजियो तर उनले मानेनन्।२०१४ सालमा कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन काठमाडौंमा भयो। कार्यवाहक महासचिव बनेका केशरजंग रायमाझीले संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्थाको कार्यक्रम पेश गरे। कमरेड पुष्पलाल र शम्भुरामले नयाँ जनवादी गणतन्त्र र संविधानसभाको निर्वाचनजस्ता रणनीतिक र कार्यनीतिक कार्यक्रम पेश गरेजुन पास भयो। तर नेतृत्व निर्माणमा त्यसबेलाका कार्यकर्तामा माक्र्सवादी चेतना देखिएन। जसको राजनीतिक कार्यक्रम पास हुन्छ त्यो पार्टीको मूलनेता हुनुपर्ने तर महासचिवमा रायमाझीलाई छाने।
गंगालाल पुष्पलालका जेठा दाजु थिए। गंगालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र शाह शासनको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए।
२०१५ सालमा संसद्को चुनाव भयो। कमरेड पुष्पलाल काठमाडौंबाट चुनाव लडे र कांग्रेसका गणेशमान सिंहसँग झिनो मतले पराजित भए। कांग्रेसले संसद्का १०९मध्ये ७४ सिट जितेर दुईतिहाई मत प्राप्त गर्यो। कम्युनिष्ट पार्टीले जम्मा ४७ सिटमाउम्मेद्वार उठायो भने बाँकी प्रजापरिषद् र संयुक्त प्रजातन्त्र पार्टीलाई समर्थन गर्यो। कम्युनिष्ट पार्टी चार सिटमा विजय भयो। बीपीको नेतृत्वमा सरकार बन्यो। राजा महेन्द्रले १८ महिनामै बीपीको सरकार भंग गरेरराजनीतिक पार्टीमाथि प्रतिबन्ध मात्र लगाएनन्, सारा नेताकार्यकर्तालाई जेल हाले। यसअघि पुष्पलालले बीपीलाई राजाले कु गर्दैछन् भनीसतर्क हुन भनिसकेका थिए। तर बीपीले शक्तिको उन्मादले पुष्पलालका कुरा सुनेनन्। पुष्पलाल भने तुरुन्तै भूमिगत भए। भूमिगत रूपमैदेशभर पार्टीपंक्तिसँग सम्पर्क राखेर कामलाई चुस्तदुरुस्त बनाउँदै भारतको दरभंगामा कम्युनिष्ट पार्टीको प्लेनम बोलाउन खटे।
२०१७ सालमा दरभंगामा कम्युनिष्ट पार्टीको प्लेनम भयो।पुष्पलालले ‘उही संसद् फिर्ता गर’ भन्ने कार्यनीतिक नारा निर्माण गर्न अपिल गरे।संसद् (कम अधिकारको) लाई त नसहने सामन्तवाद र राजाले संविधानसभा दिन तयार हुँदैनन्, त्यो नारा भौतिक परिस्थितिअनुसार हुँदैन बरु उही संसद् स्थापनाको नारा दिँदा कांग्रेस पनि आन्दोलित हुन्छ र कांग्रेस–कम्युनिष्टको संयुक्त आन्दोलनले राजालाई झुक्याउन सकिन्छ भन्ने उनको विचार त्यसबेलाको चेतना र समयसापेक्ष थियो। पुष्पलालकै अगुवाइमा ‘अन्तरजोनल सामन्जस्य समिति’ बनाएर तेस्रो महाधिवेशन बोलाइयो र केशरजंगलाई नेतृत्वबाट हटाइयो। यसरी २०१८ सालमा भारतको बनारसमा तेस्रो महाधिवेशन भयो। तुलसीलालले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पेश गरे भने पुष्पलालले २००६ सालकै नयाँजनवादी कार्यक्रमलाई अझ परिस्कृत गर्दै नयाँ जनवादी गणतन्त्रका लागिसंघर्ष गर्ने कार्यक्रम।
देशभरका क्रान्तिकारीको दबाबमा तेस्रो महाधिवेशनले चुनेका पुष्पलाललगायत एकदेव आले, हिक्मतसिंह भण्डारी, बलराम उपाध्याय, प्रेमप्रकाश र देवेन्द्रलाल श्रेष्ठसमेतको अगुवाईमा कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन सम्पन्न भयो।राजाको व्यवस्थाविरुद्ध नेपालका ७५ जिल्ला र भारत प्रवासमा कम्युनिष्ट पार्टीको सशक्त संगठन निर्माण हुँदै गयो। पुष्पलालकै नेतृत्वको कम्युनिष्ट पार्टीले लुम्बिनीका छवटै जिल्लामा राजाको नेतृत्वको व्यवस्थाविरुद्ध दसौं हजारको किसान मार्च गर्यो। सगरमाथा अञ्चलको सशक्त किसान संघर्ष, राप्ती, भेरी र गण्डकी अञ्चलको किसान, युवा विद्यार्थी आन्दोलन, २०२८÷२९ को देशव्यापी युवा विद्यार्थी आन्दोलन, २०३२ सालको विशाल देशव्यापी युवा विद्यार्थी आन्दोलन, चुवा संघर्ष, जुगेडी संघर्ष, हर्रेबर्रे र अनेक प्रकारका सशस्त्र तथा निशस्त्र आन्दोलनको निर्माण भयो।
यस अवस्थामा राजा र राज्यव्यवस्थाले धेरै कार्यकर्तालाई जेल सजाय दियो र वारेन्टसमेत गर्यो। पंक्तिकारले पनि यही पार्टीको आन्दोलनको सिलसिलामा पटक पटक राजा र व्यवस्थाले गरेका नेल, हत्कडी र गोलघरसहित कठोर कारावासको सजाय भोग्नु पर्यो। पुष्पलालले राजा र व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था र जनअधिकार बहालीका लागि कम्युनिष्ट पार्टीका सबै समूह, नेपाली कांग्रेस, प्रजापरिषद्, जनवर्गीय संगठनसमेतको संयुक्त तथा सशक्त आन्दोलन सृजना गर्ने कार्यनीति २०१८ सालमै ल्याएका थिए। त्यसैलाई कार्यान्वयन गर्न प्रयास गर्दै रहे उनी। उनको नेतृत्वको कम्युनिष्ट पार्टीले २०२९÷३० सालमा कम्युनिष्ट पार्टीको चतुर्थ सम्मेलन बनारसमा गर्यो। ३२ सालपछि पुष्पलालको विरोधमा उच्च मध्यम वर्गका व्यक्तिहरूले विभिन्न कम्युनिष्ट पार्टी पनि खोले। तिनलाई पनि उनले ट्रयाकमा ल्याएर राजा र व्यवस्थाविरुद्धआन्दोलन गर्ने वातावरण बनाए।
मनमोहन अधिकारी नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीमा रहेर मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, सिपी मैनाली र खड्गप्रसाद ओलीलगायतले वर्गशत्रु सफाया अभियान झापा जिल्ला समिति गठन गरेर सूत्रपात गरे। पुष्पलालले समर्थन यसको गरे।संघर्षरत झापा जिल्ला समितिलाई केन्द्रिय कम्युनिष्ट पार्टीमा सामेल हुन आह्वान गरे। यसैबेला जेलबाट छुटेका मनमोहन र मोहनविक्रमलाई पुष्पलालले केन्द्रिय नेतृत्वमा बस्न आह्वान गरे।दुवैले नमानेर केन्द्रिय न्यूकल्स खोले रपुष्पलालविरोधी अर्को कम्युनिष्ट केन्द्र निर्माण गरे।
केही समयपछि बीपी र गणेशमान स्वदेश फर्कने मनसुवा राखेर पुष्पलाललाई भेट्न वनारस आए। तर पुष्पलाल भारतमा इन्दिरा गान्धीको संकटकाल नटिक्ने र त्यहीँ बसेर राजाविरुद्धसंघर्ष गर्ने विचारमा दृढ बने। उल्टै उनले बीपीलाई नफर्कन सल्लाह दिए तरबीपीले मानेनन्। राजाले बीपी र गणेशमानलाई थुने र मुद्दा चलाए। पुष्पलाल दरभंगामा कार्यकर्ता प्रशिक्षण गर्न आएको बेला उनलाई तेस्रो हृदयघात भयो। यो थाहा पाएर बलराम उपाध्याय, गिरिजाप्रसाद कोइराला बनारसबाट दरभंगा आए। रिहापछि गणेशमान पनि पुष्पलाललाई हेर्न पुगे। अवस्था नाजुक देखेर पुष्पलाललाई उपचारार्थ दिल्ली लगियो। मोरारजी सरकारका रक्षामन्त्री जर्ज फन्नाडिजसहित आएर पुष्पलाललाई अमेरिका वा बेलायतको सुविधा सम्पन्न अस्पतालमा भारत सरकारको खर्चमा उपचार गराउने प्रस्ताव राखे तर पुष्पलाल मानेनन्। उनले चन्द्रशेखरलाई भने, ‘मलाई बचाउँछन् भने नेपाली जनताले बचाउँछन्। बचाउँदैनन् भने बचाउँदैनन्। सहयोगको प्रस्तावका लागि धन्यवाद।’
यता काठमाडौंमा हिक्मतसिंह र निर्मल लामाको पहलमा पुष्पलाल बचाउ आर्थिक अभियान थालियो। केही पैसा लिएर उनीहरू दिल्ली पुग्दापुष्पलालको निधन भइसकेको थियो। २२ अप्रिल १९७८ अर्थात् २०३५ साउन७ गते उनको निधन भइसकेको थियो। मर्नुअघि पुष्पलालले कार्यकर्ताद्वय तिलक पराजुली र केशव खड्कासँग अन्तिम वाक्य यस्तो बोलेका थिए– ‘कमरेड म त जाने भएँ तर मेरो सन्देश नेपाली किसानसम्म पुर्याइदिनू।’त्यो सन्देश हो– ‘जनता चेतनशील हुनैपर्छ। कार्यकर्ता संगठित हुनैपर्छ। क्रान्ति वा परिवर्तन अवश्यंभावी छ। यसलाई कसैले रोकेर रोक्न सक्दैन।’