तीन गुणा बढ्यो चिराइतोको बजार भाऊ

तीन गुणा बढ्यो चिराइतोको बजार भाऊ

ताप्लेजुङ: ताप्लेजुङको सिदिंवा गाउँपालिका–७ सुरुम्खिमका कृष्णकुमार तामाङले गत वर्ष चिराइतो बेच्‍न सकेका थिएनन् । केही वर्षअघि प्रतिमन (४० केजी) ३५ हजार रुपैयाँमा विक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाऊ समेत ८ देखि १० हजार रुपैयाँमा झरेपछि विक्री गर्न नसकेका हुन् ।

अहिले भने थन्काएर राखेको चिराइतो विक्री गर्न थालेका छन् । ‘गतवर्ष भाउ घटेर ८ हजारसम्म झरेपछि विक्री गर्न पाइएन,’ तामाङले भने ‘अहिले झापामा २५ देखि ३० हजार प्रतिमन विक्री भइरहेको रहेछ । हिजो मात्रै १५ मन पठाएँ ।’ उनले करिब ५० रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेका छन् । सिरिजंगा गाउँपालिका–८ याफुदिनका कृषक खड्ग गुरुङले पनि विक्रीका लागि तयार गरेर राखेको चिराइतोको मुल्यमा गिरावट आएपछि घरमै राखेका थिए । पछिल्लो समय भारततर्फ चिराइतोका मुल्यमा सुधार आएसँगै कृषक खुसी छन् ।

व्यावसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा २५ देखि ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो गत वर्षको भन्दा करिब ३ गुणाले बढी हो । ‘केही वर्षअघि ३२ हजार रुपैयाँ प्रतिमन पनि तिब्बत लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मुल्य अहिले फेरि सुधार भएको छ,’ व्यवसायी बानियाँले भने ‘चीनतर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ ।’ अलैंची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो । सुरुम्खिम, याम्फुदिनका मात्रै नभएर जिल्लाभरिका कृषक चिराइतोको मूल्यमा सुधार भएपछि हर्षित छन् ।

पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए । पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण डेढ वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतो लगायत सामानको निकासी पनि ठप्प बनेको छ । विक्रीका लागि ओलाङ्चुङगोलासम्म पुर्याएका चिराइतो व्यापारीले फर्काएको ओलाङ्चुङगोलाका स्थानीय तथा फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले जानकारी दिए । अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकोप्टरबाट समेत तिब्बत लगिएको थियो । व्यापारीका अनुसार चार वर्षअघि एक लाख प्रतिक्विन्टल रहेको मूल्य तीन वर्षअघि ३० हजार थियो । गत वर्ष भने आठ हजारमा झरेको थियो ।

मूल्य बढाउनेका घटाउन भन्ने ठूला अन्तर्राष्ट्रिय व्यापारीहरूको हातमा हुने बानियाँ बताउँछन् । ‘अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीहरुले चिराइतोको मुल्य निर्धारण गर्छन्, कृषकले पाउने भनेको थोरै मात्र हो,’ उनले भने ‘सस्तोमा खरिद गरेर स्टक गर्छन् अनि भाऊ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाऊ घटाउँछन ।,’ राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ । ताप्लेजुङका सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङ लगायतका स्थानमा चिराइतो उत्पादन हुने गर्दछ ।

पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दैआएका हुन् । प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भनेजस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन । अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । कहिले भाउ बढ्ने कहिले ह्वात्तै घट्ने भएकाले ठूलो लगानीका साथ खेती गर्ने वातावरण बन्न नसकेको उनीहरूको भनाइ छ ।

वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा गत आर्थिक वर्षमा १६ हजार ३ सय ३४.१० केजी चिराईतो संकलन भएको छ । जसबाट २ लाख ४४ हजार पाँच सय बढी राजश्व संकलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङकी सीता योगीले जानकारी दिइन् । उनका अनुसार जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गर्दछ ।

समुद्री सतहबाट करिब १५ सयदेखि चार हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवर्द्धक टनिक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ । ‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनासक मानिन्छ । चिराइतो खेती यसको बीउबाट गरिन्छ । यसलाई समशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र उपयुक्त हुन्छ । जमिनमा पानीको राम्रो निकास हुनुपर्छ । कात्तिक, मंसिरतिर बीउ छरिन्छ । बीउ सानो हुने भएकाले पहिले नर्सरीमा बेर्ना बनाएर सार्दा अझ राम्रो हुन्छ ।

असार, साउनदेखि असोजसम्म यसको फूल फुल्छ । फूल परिपक्व भएपछि चैत महिनाअघि नै बोट उलेल्नुपर्छ । एक हजार पाँच सयभन्दा माथिको उचाइमा सप्रिने चिराइतोबाट आम्दानी लिन रोपिएको अढाई वर्ष पर्खनुपर्छ । चिराइतो जंगली जनावरले नखाने र रोगकीरा समेत नलाग्ने बिरुवा हो ।
०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.