इटहरीमा बाढीले बगाएको अर्को शव फेला

इटहरीमा बाढीले बगाएको अर्को शव फेला

इटहरी : इटहरीमा बाढीले बेपत्ता बनाएको अर्को शव फेला परेको छ। मंगलबार दिउँसोदेखि बेपत्ता भएका इटहरी- २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेको इटहरी प्रहरीले जनाएको छ।

इटहरी १ आँपगाछि नजिकै नालामा उनी मृत फेला परेका हुन्। शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। यसअघि बुधबार इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव भेटिएको थियो। 

इटहरीमा मंगलबार राती गएको अहिलेसम्मकै ठूलो बाढीका कारण कति जना बेपत्ता भए भन्ने यकिन तथ्यांक नभएपनि अझै केही मानिस हराइरहेको हुनसक्ने अनुमान गरिएको छ। मुख्य सडकमै पनि ठूलो बाढी बगेकोले बटुवाहरु पनि बगेर हराएको हुनसक्ने बताइएको छ।  टेंग्रा, खेती, बुढी लगायतका खोलामा बाढी आउँदा वर्षेनी डुबान हुने गरेको छ। ढल निकासको उचित प्रबन्ध नहुँदा, खोला नाला अतिक्रमणमा पर्नु र नियमित सफाइ नहुँदा इटहरी बारम्बार बाढीको चपेटमा पर्ने गरेको छ। 

इटहरीको वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीकाअनुसार यो पटक लगातार पानी पर्नु, महेन्द्र राजमार्गका पुराना कल्भर्ट तथा सुनसरी मोरंग सिँचाइ आयोजनाको कल्भर्टहरु ब्लक हुनुजस्ता कारणले बाढी आएको हो। चार वर्षअघि पनि बुढी खोलामा आएको बाढीले वस्ती डुबाउँदा स्थानीय ६ जनाको ज्यान गएको थियो। तीन जनाको शव अहिलेसम्म भेटिएको छैन।

मृत्यु भएकाको परिवारलाई उपमहानगरपालिकाको २५ हजार

इटहरीको कार्यपालिका बैठकले बाढीबाट मृत्यु हुनेको परिवारलाई तत्काल २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। यस्तै शिक्षक, कर्मचारी र जनप्रतिनिधिले ७ दिनको तलब विपत राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। पीडितको लागि लत्ताकपडा र खानाको मेस चलाउने गरी सबै वडालाई १–१ लाख रुपैया पेस्की दिने निर्णय गरेको छ। यस्तै भत्केका बाटोघाटो तत्काल मर्मत गर्नेसमेत निर्णय गरिएको छ।

छैन तथ्यांक
यता इटहरीमा बाढीबाट कति जनाको मृत्यु भयो र बेपत्ता भए भन्ने तथ्यांक उपमहानगरपालिकाले दिन सकेको छैन। वातावरण शाखा प्रमुख चौधरीका अनुसार प्रहरीबाट यस्तो तथ्यांक आउनुपर्ने भएपनि आइनसकेको बताए। उनले कति घर परिवार प्रभावित भए भन्ने तथ्यांक पनि संकलन भइरहेको बताए।

बाढीले इटहरीका लगभग सबै वडा डुबाएको थियो। दर्जनौं घरहरु भत्केका छन् भने दर्जन बढी ठाउँको सडक बगाएको छ। यस्तै पुल र कल्भर्टसमेत गाडी नै गुड्न नसक्ने गरी भत्काएको छ। तर उपमहानगरपालिकाले राहतको घोषणा गर्दासम्म अनुमानित विवरणसमेत दिन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.