छठको 'नहाय खाय' विधि सम्पन्न
महोत्तरी : छठ पर्वको दोस्रो दिन आज नहाय खाय विधि सम्पन्न भएकाे छ। आज व्रतालुहरु चोखो भई नुहाएर भोजन गर्ने गर्छन्। जसलाई स्थानीय भाषामा नहाय खाय विधि भन्ने गरिन्छ।
५ दिनसम्म मनाईने यो पर्व मिथिलान्चलकै सबैभन्दा कठोर पर्वको रुपमा परिचित छ। व्रतालुहरुले आइतबार पर्वको पहिलो दिन माछ मरुवा (माछा र कोदोको परिकार) भोजन बारेका थिए। त्यसपछि माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी र राजसी भोजन परित्याग गरेका छन्। जसलाई स्थानीय भाषामा माछमरुवा बार्ने दिन तथा ‘अरबा-अरबाइन’ खाने दिन भन्ने गरिन्छ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तेश्रो दिन भोलि तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना विधी मनाउने गर्छन्।
त्यस्तै पर्वको पाँचौ दिन बिहीबार विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा परिचित रहेको छठ पर्वको अन्तिम तयारीमा व्रतालुहरु जुटेका छन्। पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला स्थानीय बजारमा घुइँचो लागेका छन्।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा सरसफाई गरि घाटलाई झकिझकाउने काम भइरहेको छ।