एक वर्षको अवधिमा सप्तरीमा आठ हत्यासहित ९४ घटना
राजविराज : सप्तरीमा एक वर्षको अवधिमा आठ हत्यासहित ९४ वटा मानव अधिकार उल्लंघनका घटनाहरु सार्वजनिक भएको छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२का लागि संकलित घटनाहरू शुक्रबार इन्सेकले राजविराजमा सार्वजनिक गरेको हो ।
इन्सेक सप्तरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२१ को अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भएको छ ।
अति ज्येष्ठ नागरिक र महिलाको हत्याका आरोपितको पहिचान समेत हुन सकेको छैन् । बालिका हत्या आरोपित १ जना थुनामा छन् । बालक हत्याका आरोपितमध्ये १ जना थुनामा, १ जना बालसुधार गृहमा र १ जना फरार रहेका छन् । अन्य आरोपितमध्ये थुनामा ६, धरौटीमा चार, हालै पक्राउ परेका तीन र पक्राउ पुर्जी जारी भएका दुई जना छन् ।
यो वर्ष आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरुमा पति, सासू, ससुरा र देवर छन् । जसमध्ये एक जना पुर्पक्षका लागि धरौटी राखी तारेखमा रिहा भए भने पाँच जना फरार छन् । बालिका बलात्कारको १६ घटनामा पाँच र ६ देखि १८ वर्षभित्रका १७ जना पीडित भएकी छिन । पीडितमध्ये एक जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना छन् । जसमा दुई जना आरोपित पीडितका बुवा नै छन् । आरोपितमध्ये चार जना पुर्पक्षका लागि थुनामा, एक बालक अभिभावकको जिम्माजमानीमा, दुई जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १४ जना पक्राउ भएका छैनन् भने तीन जना हालै पक्राउ भएका छन् ।
यो वर्ष बाल यौन दुव्र्यवहारमा नौ घटनामा नौ देखि १७ वर्षीया १० बालिका पीडित भएकी छिन् । आरोपितमा १७ देखि ४८ वर्षीय ११ जना रहेका छन् । जसमा शिक्षकविरुद्धको एउटा उजुरी दर्ता भएको छैन् । आरोपितमध्ये एक जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, एक जना बालसुधार गृहमा, तीन जना फरार र दुई जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना हालै पक्राउ भएका छन् । यो वर्षको अवधिमा ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् ।
महिला बलात्कारका नौ घटनामा १८ माथि ३० वर्षीयासम्मका नौ महिला पीडित भएकी छिन । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय नौ जना आरोपितहरु छन् । जसमा एक जना थुनामा, दुई जना जमानीमा र तीन जना पूर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने तीन जना फरार रहेका छन् ।
गत वर्ष गर्भपतनको १ घटना अभिलेख थियो भने यो वर्ष २ घटना अभिलेख भएको छ । जसमा पाँच जना आरोपित पूर्पक्षका लागि धरौटीमा रिहा भए भने एक जनाविरुद्ध म्यादी पूर्जी जारी भएको छ । बालविवाहका एक घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने दुई बालविवाहका आरोपित १० मध्ये एक जना पूर्पक्षका लागि धरौटीमा रिहा भए, एक जनाविरुद्ध पक्राउ पूर्जी, पाँच जनाविरुद्ध म्यादी पूर्जी र तीन जना फरार छन् । १४ वर्षीया एक बालिका अपहरणको आरोपमा एक जना आरोपित पूर्पक्षका लागि थुनामा छन् ।
महिला बलात्कार प्रयासका नौ, यौन दुव्यर्वहारका दुई, बहुविवाहको नौ, मानव वेचविखनको १, अपहरणको ३, गैरकाूुनी थुनाको १, अमानविय व्यवहारको १, घरेलु हिंसाको ६ घटना अभिलेख गरिएको छ । कुटपिट÷दुव्र्यवहारको ६ घटनामा घाइते हुनेमा ४ कर्मचारी, १ शिक्षक, १ डाक्टर, १ सर्वसाधारण रहेका छन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष झै यो वर्ष पनि ४ ओटा घटना अभिलेख भएको छ । वडा कार्यालय, डिहबार थान, विद्यालय तोडफोड भएको छ भने नाप नक्शा बनाउने समान फ्याँकिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित गोष्ठिमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, श्रेस्तेदार कुमार मास्के, एसपी अबिनारायण काफ्ले, सशस्त्र एसपी राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाह, जिल्ला न्याधिवक्ता मोहम्मद मुन्ना, सेनानी कर्मेन्द्रसिंह भाट, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राजविराज उच्च अदालत बार एशोसिएसन अध्यक्ष भरत यादव, सप्तरी जिल्ला बार एशोसिएसन अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण देव, मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह, प्याब्सन सचिव संजय शर्मा, अधिवक्ता, सञ्चाकर्मी, अधिकारकर्मीहरुले धारणा राखे ।
प्रतिक्रिया दिनुहोस !