सिके राउतका कार्यक्रताद्वारा आगजनी र तोडफोड
राजविराज : सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा शुक्रबार सप्तरीको दुई स्थानमा आगजनी र तोडफोड भएको छ । प्रर्दशनकारीहरुले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६स्थित महुली पुलमा ना ६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको छ । आगजनीले क्लिंकर बोकेको ट्रकको चालक बस्ने भाग जलेर क्षति पुगेको छ ।
प्रहरीले आगो नियन्त्रणमा लिएपनि ट्रकमा निकै क्षति पुगेको डिएसपी माधवप्रसाद काफ्लेले बताए । सवारी साधन तोडफोड र आगजनीमा संलग्नको पहिचान र खोजी भैरहेको उनले बताए ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा प्रदर्शनकारीहरुले को १ ख ६९८३ नम्बरको टिपर र बा १९च ५२९२ नम्बरको कार तोडफोड गरी क्षति पुर्याएएका छन् । मोटरसाइकलमा आएका कार्यकर्ताहरुले तोडफोड तथा आगजनी गरेर फरार भएको सप्तरी प्रहरीले जनाएको छ ।
सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बिउ लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको विरोधमा सुरु भएको विरोध प्रदर्शन अन्य जिल्लामा समेत फैलिएको छ ।
शुक्रबार हात–हातमा लाठी लिएर बजार तथा यातायात बन्द गर्न उत्रिएका जनमत पार्टीका कार्यकर्ताहरुलाई सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गको भारदहमा नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको राजमार्गमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर बाटो संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अबिनारायण काफ्लेले बताए ।
जनमत पार्टीका जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह, कोषाध्यक्ष शम्भुकुमार साह, हनुमाननगर कंकालिनी–१ का संयोजक सुरेन्द्र मण्डल, पंकजकुमार सिन्हा, रामकृष्ण मण्डल, प्रदिपकुमार मण्डल, चन्देश्वर मण्डल, सुशिलाकुमारी यादव, रुपेशकुमार यादव, योगेन्द्र साहसहित १४ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ ।
बन्द सफल पार्न जनमत पार्टीका कार्यकर्ताहरु विष्णुपुर गाउँपालिका, कञ्चनरुप र डाक्नेश्वरी नगरपालिकालगायत विभिन्न स्थानबाट भारदहमा भेला भएका थिए । जनमत पार्टीले किसानहरुको समस्यालाई समाधान गर्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने, मलखाद, बिउ र सिंचाईको ब्यवस्था हुनुपर्ने, निशुल्क बिजुली दिनुपर्ने, हावाहुरी र वर्षाले क्षति भएको बालिनालीको क्षतिपुर्ति दिनुपर्ने, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी दिनुपर्ने माग गरेको छ ।
त्यसैगरी पार्टीले किसानका लागि कार्डको व्यवस्था, बालिनालीको बिमा, पेन्सनको व्यवस्था तथा किसानहरुमाथिको मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरुको रिहाईको माग राखेका छन् ।
अर्कोतिर जनमत पार्टी राजनीतिको आडमा हिंसा र तोडफोडमा उत्रिएको भन्दै विरोध समेत सुरु भएको छ । जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले हनुमाननगरमा खबरदारी जुलुस गर्दै सिके राउत र जनमत पार्टीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाका वडा कार्यालयहरु बन्द छ । वडाध्यक्ष मोही यादवमाथि अभद्र व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारबाहीको माग गर्दै १३ वटा वडा कार्यालय बुधबारदेखि नै बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !